शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

जनवरीमा कुन ब्रान्डका विद्युतीय कमर्सियल सवारी कति आए?

आइतबार, माघ २५ २०८२
जनवरीमा कुन ब्रान्डका विद्युतीय कमर्सियल सवारी कति आए?

२०२६ को जनवरीमा ३ सय ९६ वटा विद्युतीय कमर्सियल सवारी आयात भएका छन्। यसमध्ये सबैभन्दा धेरै नियोसी ब्रान्डको विद्युतीय भ्यान आयात भएको हो।

काठमाडौं- सञ्चालन खर्च कम भएको र चीनबाट सहजै आयात गर्न सकिने भएसँगै विद्युतीय कारसँगै नेपाली बजारमा विद्युतीय माइक्रोबस तथा भ्यान र विद्युतीय मिनिबसको आयात बढ्दो छ। संख्यासँगै पछिल्ला वर्षहरुमा चीनबाट आयात हुने कमर्सियल विद्युतीय सवारीका ब्रान्ड पनि थपिँदै गएका छन्। 

२०२५ मा नेपाली बजारमा ३७ सय ६१ वटा विद्युतीय कमर्सियल सवारी आयात भएका थिए। यसरी आयात विद्युतीय कमर्सियल सवारीमा भ्यान, माइक्रोबस, मिनिबस, विद्युतीय पिकअप तथा ट्रकसम्म रहेका छन्। 

विद्युतीय कमर्सियल सवारी धेरै चीनबाट आएका हुन्। उक्त संख्यामा आयात भएको कमर्सियल विद्युतीय सवारीमा ठूलो हिस्सा भने ११ सिट क्षमताको भ्यान तथा १४ सिटसम्मका माइक्रोबसको रहेको छ। पछिल्लो पटक भने १५ सिटदेखि २५ सिट क्षमताका विद्युतीय मिनिबसको आयात संख्या बढ्दै गइरहेको छ। 

२०२६ को जनवरीमा ३ सय ९६ वटा विद्युतीय कमर्सियल सवारी आयात भएका छन्। यसमध्ये सबैभन्दा धेरै नियोसी ब्रान्डको विद्युतीय भ्यान आयात भएको हो। भन्सारको तथ्यांकअनुसार एम्बर मोटर्सले आयात गरेको नियोसी ब्रान्डको विद्युतीय भ्यान जनवरीमा १ सय ५५ वटा आयात भएको छ। 

नियोसी ब्रान्ड यसअघि केवाईसी ब्रान्ड नेममा आयात भएको थियो। केवाईसी ब्रान्डमा जुन विद्युतीय भ्यान आयात भइरहेको थियो सोही भ्यान नाम र लोगो परिवर्तन गरेर नियोसीमा आयात भएको हो। 

२०२६ को जनवरीमा १७ वटा ब्रान्डका विद्युतीय कमर्सियल सवारी नेपाल भित्रिएका हुन्। जनवरीमा नाभिको २० वटा, जोयलङ २५ वटा, कावे २६ वटा, डोङफेङ २७ वटा, कामा ३४ वटा, किङलङ ३४ वटा र गोल्डेन ड्रागनका ३६ वटा विद्युतीय कमर्सियल सवारी आयात भएको तथ्यांक छ। 

छोटो तथा मध्यम रुटमा र व्यावसायिक प्रयोजनमा ११ सिट क्षमता र १४ सिट क्षमताका विद्युतीय माइक्रोबसको माग बढेकाले आयात बढेको हो। नेपाली बजारमा हाल ३५ भन्दा बढी विद्युतीय माइक्रो बस तथा भ्यानका ब्रान्ड र तीनका दर्जनौँ मोडल उपलब्ध छन्। 

माइक्रोबस तथा भ्यानका आयातमा ठूला व्यावसायिक घरानादेखि स्टार्टप व्यवसायीहरुसम्म लागिपरेका छन्। यसरी आयात भइरहेका ब्रान्डहरुमध्ये केही ब्रान्डेड छन् भने कयौँ ननब्रान्डेड छन्। कुनै चीनका स्टार्टप कम्पनी छन् त कुनै संकटोन्मुख ब्रान्ड छन्। उपभोक्ताले नियमित स्पेयर पाट्र्स र सर्भिस उपलब्ध हुनेर चीनमा चलेका र नेपालबाहेक अन्य देशमा निर्यात हुने ब्रान्डका सवारी खरिद गर्नु उपयुक्त हुन्छ।

सञ्चालन खर्च न्युन भएकाले व्यवसायिक प्रयोजनमा विद्युतीय माइक्रोबस तथा भ्यान प्रति यातायात व्यवसायीहरु आकर्षित भएका हुन्। डिजेल माइक्रोबस सरह नै भाडामा सञ्चालन गर्न पाइने भएकाले व्यवसायीहरु विद्युतीय माइक्रोबसतर्फ मोडिएका हुन्। 

तर विद्युतीय माइक्रोबस तथा भ्यानको आयात बढ्दै जाँदा उपभोक्ताले समयमै र उचित मूल्यमा सर्भिस र स्पेयर पार्टस पाउन नसकिरहेको गुनासो आउन थालिसकेको छ। जसका कारण विद्युतीय माइक्रोबस तथा भ्यान प्रति उपभोक्तामा नैरास्यता आउन सक्छ। ऋायातकर्ताहरुले यसबारेमा बेलैमा सोच्नु पर्ने व्यवसायीहरुको भनाइ छ।

२०२६ जनवरीमा आयात भएका विद्युतीय कमर्सियल सवारी : 

फोटोन- १

सनलङ- १

जोनसन- १

आईमो- २

पर्पल इलाफेन्ट- २

वान्डा- २

अक्वेल- ३

विलिङ- ७

हाइगर- २०

नाभिको- २०

जोयलङ- २५

कावे- २६

डोङफेङ- २७

कामा- ३४

किङलङ- ३४

गोल्डेन ड्रागन- ३६

नियोसी- १५५


प्रकाशित : आइतबार, माघ २५ २०८२१६:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend