काठमाडौं- नेपाली सडकमा पहिलो पटक विद्युतीय ट्याक्सीका रुपमा आएको टाटा एक्सप्रेस-टी अब ठूलो ब्याट्री अप्सनमा उपलब्ध भएको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय ट्याक्सी एक्सप्रेस-टीलाई ठूलो ब्याट्री अप्सनमा उपलब्ध गराएको हो।
सरकारले ट्याक्सी पनि विद्युतीय चलाउन पाइने नियम बनाएसँगै सिप्रदीले टाटा मोटर्सले उत्पादन गरेको एक्सप्रेस-टी विद्युतीय सेडान कारलाई ट्याक्सीमा रुपमा बिक्री सुरु गरेको थियो। सुरुमा २६ किलोवाट आवरमा आएको एक्सप्रेस-टी अब भने ३२ किलोवाट आवरको ब्याट्री अप्सनमा नेपाल भित्रिएको छ।
एक्सप्रेस-टीमा अन्य विशेषताहरु भने यथावत रहेका छन्। २६ किलोवाट आरव ब्याट्री क्षमता भएको एक्सप्रेस-टीले पटकका फुल चार्जमा २ सय किलोमिटर रेन्ज दिँदै आएकोमा अब ३२ किलोवाट आवरको क्षमतामा आएको एक्सप्रेस-टीले २ सय ५० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीले जनाएको छ।
सिप्रदीले ३२ किलोवाट आवर ब्याट्री क्षमतामा आएको एक्सप्रेस-टी ट्याक्सीको हस्तारन्तरण सुरु गरिसकेको छ। कम्पनीले मंगलबार नेपालगञ्जमा ३२ किलोवाट आवर ब्याट्री भएको ८ वटा एक्सप्रेस-टी हस्तारन्तरण गरेको जनाएको छ।
२०७९ चैतदेखि सिप्रदीले विद्युतीय ट्याक्सी टाटा एक्सप्रेस-टी बिक्री सुरु गरेको थियो। बागमती प्रदेश सरकारले २०७९ मा विद्युतीय ट्याक्सी सम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएको थियो। उक्त मापदण्डअनुसार नयाँ दर्ता हुने तथा सट्टा दर्ता हुने ट्याक्सी अनिवार्य विद्युतीय हुनुपर्ने कानूनी व्यवस्था बागमती प्रदेश सरकारले गरेको थियो।
सरकारले सन् २०३० सम्ममा देशभर दर्ता हुने सवारीमध्ये ५० प्रतिशत विद्युतीय पुर्याउने लक्ष्य सार्वजनिक गरिसकेको छ। त्यही अनुरुप सरकारले विद्युतीय सवारीमा कर सहुलियत दिएको छ भने चार्जिङ पूर्वाधार निर्माणमा सहयोग गरिरहेको छ।
त्यस्तै बागमती प्रदेश सरकारले २०८५ भित्र प्रदेशमा चल्ने पेट्रोलियम सार्वजनिक सवारीसाधनलाई विद्युतीयले विस्थापित गर्ने नीति तय गरिसकेको छ। सोही नीतिलाई कार्यान्वयन गर्दै २० वर्ष पुरा भएका ट्याक्सी स्क्राप गर्नुपर्ने र त्यसको साटो विद्युतीय बनाउनु पर्ने व्यवस्था गरिएको हो।
ट्याक्सीलाई विद्युतीय बनाउँदा आयत गरेर खपत हुने पेट्रोलको प्रदूषण न्यून हुन्छ भने पेट्रोल आयातमा बाहिरिने अर्बौँ डलरमा ठूलो बचत हुन्छ।
सिप्रदीले टाटाले उत्पादन गरेको एक्सप्रेस-टी विद्युतीय सेडान कारलाई ट्याक्सीका रुपमा ल्याएको र त्यसले दिने आर्थिक तथा वातावरणीय लाभबारेसमेत ट्याक्सी चालकहरुलाई जानकारी गराइसकेको छ। सुरुवाती चरणमा उपत्यकामा विद्युतीय ट्याक्सी चल्ने भएकाले केही मात्रामा भएपनि स्वदेशी विद्युत खपत हुनेछ। यसले पनि धेरै मानिसलाई उत्साहित बनाएको छ।
टाटाको विद्युतीय एक्सप्रेस-टीको विशेषता र रेन्ज
लेन्थ : ३९९३ एमएम
वाइड : १६७७ एमएम
हाइट : १५३२ एमएम
ह्वीलवेस : २४५० एमएम
टर्निङ रेडियस : ५.१ मिटर
ग्राउन्ड क्लियरेन्स : १७० एमएम
सिट क्षमता : ५
बुट स्पेस : २९३ लिटर
फ्युल टाइम : विद्युतीय
ब्याट्री क्षमता : ३२ केडब्लूएच लिथियम आयन
रेन्ज : २६० किलोमिटर (रियल वर्ल्ड)
एक्सप्रेस-टी विद्युतीय ट्याक्सी मल्टी ड्राइभ मोड (ड्राइभ र स्पोर्टस)मा उपलब्ध छ। त्यस्तै यो कारमा अगाडि डिस र पछाडि ड्रम ब्रेक छ भने हिल असिस्ट सिस्टम पनि दिइएको छ।
सिप्रदीले एक्सप्रेस-टी ट्याक्सीमा रहेको ब्याट्री प्याक र मोटरमा ५ वर्ष वा १ लाख ६० हजार किमि, सवारीमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरसम्म वारेन्टी उपलब्ध गराउनेछ।
त्यसैगरी विद्युतीय ट्याक्सीमा आउने मर्मतलगायत सर्भिसको जिम्मासमेत कम्पनीले नै लिएको छ। सिप्रदीले ३ वर्षको एमएमसी उपलब्ध गराएको छ। त्यस्तै १ वर्षको बीमा, एक्सेसरिज, जीपीएस, होम चार्जिङ बक्सलगायत सिप्रदीले नि:शुल्क उपलब्ध गराउँदै आएको छ।