बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

कांग्रेस महामन्त्री थापाले अर्थतन्त्रबारे निजी क्षेत्रसँग छलफल गर्दै

सोमबार, फागुन ३० २०७८
कांग्रेस महामन्त्री थापाले अर्थतन्त्रबारे निजी क्षेत्रसँग छलफल गर्दै

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्थाबारे निजी क्षेत्रसँग छलफल गर्ने भएका छन्। देशको अर्थतन्त्रबारे उनले निजी क्षेत्रका संघसंस्थाका अध्यक्ष तथा उपाध्यक्षहरुसँग मंगलबार छलफल गर्न लागेका हुन्। 

महामन्त्री थापाले मंगलबार ३ बजे राजधानीको एक पाँचतारे होटेलमा निजी क्षेत्रका संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा उपाध्यक्षलाई छलफलमा बोलाएकाे उनको सचिवालयले जानकारी दियो।  

अर्थतन्त्रको अवस्था खस्कँदै गएपछि निजी क्षेत्रको मनोवल गिरेको अवस्थामा आफूले छलफल गर्न लागेको महामन्त्री थापाको सचिवालयले जानकारी दिएको छ। 

महामन्त्री थापाका अनुसार  छलफलमा महासंघका अध्यक्ष शेखर गोल्छा, परिसंघका अध्यक्ष विष्णु अग्रवाल र चेम्बर अध्यक्ष राजेन्द्र मल्ललाई बोलाइएको हो।

पछिल्लोपटक देशको अर्थतन्त्रले राम्रो संकेत नगरेको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गर्दै आएको थियो। योसँगै सरकारले समेत यसबारे चासो दिन थालेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले समेत यसबारे चासो राख्न थालेका छन्। 

विदेशी मुद्रा सञ्चितीमा चाप परेपछि सरकारले आयातमा कडाइ गरेको छ। त्यस्तै आन्तरिक रुपमा तरलता अभाव भएपछि बैंकहरुले कर्जा प्रवाहमा अंकुश लगाएका छन्। आइतबार देशको अर्थतन्त्रबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत व्यवसायीसँग छलफल गरेका थिए। 


प्रकाशित : सोमबार, फागुन ३० २०७८१३:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend