काठमाडौं- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सबै प्रक्रिया पूरा गर्दै अप्रिल २१ देखि उडानका लागि योग्य हुँदैछ।
विमानस्थलमा उडानअघि पूरा गर्नुपर्ने एआइपी समेत प्रकाशन भइसकेको छ। योसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई वेस बनाएर उडान गर्दै आएका स्वदेशी तथा विदेशी एयरलाइन्स कम्पनीले उडानका लागि चासो देखाउन थालेका छन्।
कुबेतको जजिरा एयरलाइन्सले जेठ २ गतेबाट नै अन्तर्राष्ट्रिय उडान गर्ने तयारी थालेको छ। साथै नेपाल एयरलाइन्स, कतार एयरवेज, थाई स्माइल र श्रीलंकन एयरले उडानको तयारी गरेका छन्।
एयरलाइन्स कम्पनीहरूले उडानको तयारी गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलबाट व्यवसायी उडानसँगै सुरुवाति चरणमा दिने सुविधा लगायतको विषय समावेश गरेर विमानस्थल सेवा शुल्क दस्तुरसम्बन्धि विनियमावलीसमेत संशोधनको तयारी गरेको छ। विनियमावलीमा अर्थ मन्त्रालयले समेत सहमति दिइसकेको र केही दिनभित्रै मन्त्रिपरिषदबाट स्वीकृत हुने मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि विमानस्थलमा नयाँ वर्षको दिन परीक्षण उडान गर्ने र बुद्धजयन्तीको दिनबाट व्यवसायिक उडान सुरु गर्ने उद्घोष गरिसकेको छ। सोहीअनुसार प्राधिकरणले सबै तयारी पूरा गरेको र बाँकी रहेको काम पनि गरिरहेको प्राधिकरण महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जनाकारी दिए।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जस्तै चल्ने उनको दाबी छ। यसरी विमानस्थल सञ्चालनको तयारी सुरु भएसँगै स्वदेशी अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले आफ्नो तयारी सुरु गरेको छ।
हिमालय एयरलाइन्स उच्च स्रोतका अनुसार तत्काल नै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने जनाएको छ। एयरलाइन्सले अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन सक्ने उडान गन्तव्यको बजार लगायतका विषयमा अध्ययन सुरु भएको छ।
‘सामान्य अध्ययनको भरमा उडान गर्नु व्यवसायिक रुपमा घाटा हुन्छ। उडानमा निरन्तरता दिनु पर्छ,’ हिमालय एयरलाइन्स उच्च स्रोतले भन्यो, ‘सामान्य अध्ययनकै भरमा म्यानमार र श्रीलंका उडान गर्दा त्यसलाई निरन्तरता दिन सकेनौँ। अहिले हतारमा उडान योजना बनाउँदैनौँ। पूर्ण अध्ययनको आधारमा हामी अगाडि बढ्ने हो।’
विमानस्थल निर्माण सम्पन्न भइ उडानका लागि तयार हुँदासम्म सरकारी पक्षले कुनै व्यवसायिक योजना सार्वजनिक नगरेको कारण पनि एयरलाइन्सले नै गम्भीर भएर अध्ययन गर्नुपर्ने अवस्था आएको एयरलाइन्सको भनाइ छ।
‘एभिएसनको बिजनेश आज गाडी खरिद गरेर भोलिदेखि नै सञ्चालन गर्न सकिने विषय पनि होइन,’ हिमालय स्रोतले भन्यो, ‘यसका लागि विस्तृत रुपमा अध्ययन आवश्यक हुन्छ र सरकारले सुरुवाती चरणमा दिने छुट लगायतको विषय पनि जोडिन्छ।’
तर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी र बागमती प्रदेशको केही जिल्लाबाट रोजगारीमा जाने र आउनेका लागि सहज हुने देखिएको छ। तर एक नम्बर प्रदेश र मधेश प्रदेशका हकमा भने काठमाडौं नै उचित हुने देखिएका कारण सोहीअनुसार बजारको अध्ययन गर्नु पर्ने हिमालय एयरलाइन्सको भनाइ छ।
हिमालयले अहिले चीन, कतार, युएई, साउदेअरेबी, बंगलादेशको विभिन्न गन्तव्यमा उडान गर्दै आएको छ।
हिमालयले पछिल्लो समय नेपाल एयरलाइन्सले भन्दा बढी यात्रुलाई अन्तर्राष्ट्रिय सेवा दिँदै आएको छ।
नेपाल-चीन संयुक्त लगानीमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्स अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो। एउटा विमान र एउटा गन्तव्यबाट सेवा सुरुगरको एयरलाइन्सले चारवटा जहाज मार्फत अहिले सातवटा गन्तव्यमा उडान गरिरहेको छ।
एयरलाइन्सले आफ्नो पहिलो उडान २०१६को मे ३१ बाट सुरु गरेको छ। कतारको दोहाबाट हिमालयले उडान सुरु गरेको थियो। अहिले हिमालयले युएई, मलेसिया, साउदी अरेबिया, बंगलादेश र चीनमा उडान गर्दै आएको छ। केही समय हिमालयले श्रीलंका र म्यानमारमा समेत उडान गरेको थियो। हिमालयले अबुधाबी, दमाम, ढाका, दोहा, दुबई, क्वालालम्पुर र रियादमा उडान सेवा भर्दै आएको छ।
हिमालय एयरलाइन्ससँग अहिले १८० इकोनोमी क्लास सीट भएका तीन एयरबस ३२०-२१४ सिरिज र एक वटा ३१९-११५को एयरबस मार्फत सेवा दिँदै आएको छ।
व्यावसायिक रुपमा संचालन सुरु गरेको एक बर्षमै हिमालय एयरलाइन्सले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू इन्टरनेशनल एअरलाइन्स् इन साउथ एशिया’ अन्तर्राष्ट्रिय अवार्ड समेत पाएको थियो।
अगष्ट २०२० मा हिमालय एयरलाइन्सले प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आईएसओ ९००१–२०१५ हासिल गरेको थियो।