काठमाडौं- सूचना प्रविधिजन्य सेवाको निर्यातबाट ६ महिनामै ४५ अर्ब रुपैयाँभन्दा धेरै भित्रिएको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार सूचना प्रविधि तथा दूरसञ्चारबाट १२ अर्ब ४१ करोड रुपैयाँ र प्रविधिको प्रयोगबाट हुने अन्य बिजनेस प्रोसेसिङ सेवाबाट ३३ अर्ब ८१ करोड रुपैयाँ भित्रिएको छ।
यस्तै यो बीचमा नेपाली कन्टेन्ट क्रियटरलगायतका अन्य अडियो/भिडियो सेवाबाट पनि २ अर्ब ४ करोड रुपैयाँ भित्रिएको छ। यो विशेषगरी कन्टेन्ट क्रियटरले ल्याउने रकम हो। त्यस्तै सांस्कृतिक तथा अन्य सेवाबाट ७५ लाख रुपैयाँ भित्रिएको छ।
सूचना तथा कम्प्युटर सेवाको व्यापारबाट ९ अर्ब १४ करोड रुपैयाँ खुद आय गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा ८ अर्ब ३६ करोड रुपैयाँ खुद आय भएकामा चालु आवमा करिब १० प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनमा उल्लेख छ।
राष्ट्र बैंकका अनुसार आव २०८१/८२ मा नेपालले आईटी सेवा निर्यातबाट कुल १६ अर्ब १८ करोड रुपैयाँ खुद आम्दानी गरेको थियो। उक्त आम्दानीको ७७ प्रतिशत चालु आवको पहिलो ६ महिनामै भित्रिएको हो।
त्यस्तै सूचना प्रविधिजन्य सेवाको निर्यातबाट यो वर्षको ६ महिनामा २५ अर्ब खुद नाफा छ। ३३ अर्बको निर्यात हुँदा ८ अर्बको आयात भएको छ। गत वर्ष भने २१ अर्बको बचत थियो।
इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडी (आईआईडीएस) ले सन् २०२३ मा सार्वजनिक गरेको अध्ययनअनुसार नेपालबाट वार्षिक ६७ अर्ब रुपैयाँभन्दा बढीको आईटी सेवा निर्यात हुँदै आएको छ। यही आधारमा सरकारले आव २०८१/८२ को बजेटमा आगामी १० वर्षमा ३० खर्ब रुपैयाँ बराबरको आईटी सेवा निर्यात गर्ने लक्ष्यसहित विदेशमा लगानी सहजीकरण गर्ने घोषणा गरेको थियो।
उक्त घोषणापछि सरकारले ऐन संशोधन गरी नेपाली आईटी कम्पनीलाई विदेशमा शाखा खोल्न तथा विदेशी कम्पनीको सेयरमा लगानी गर्न अनुमति दिएको छ। कानून संशोधनपछि राष्ट्र बैंकले निर्देशन जारी गर्दै विदेशी मुद्रा सटही सुविधाको सीमा तोकेको छ।
राष्ट्र बैंकको निर्देशनअनुसार कम्तीमा पछिल्ला तीन आवमा आईटी सेवा निर्यातमार्फत विदेशी मुद्रा आर्जन गरेका कम्पनीले विदेशमा लगानीका लागि सटही सुविधा पाउने छन्।
कम्पनीले सेवा निर्यातबाट आर्जन गरेको औसत विदेशी मुद्राको ५० प्रतिशत वा अमेरिकी डलर १० लाख (दुईमध्ये जुन कम हुन्छ) सम्म सटही सुविधा पाउने व्यवस्था छ। साथै गत पुसमा निर्देशन संशोधन गर्दै २० हजार अमेरिकी डलरसम्म निःसर्त सटही सुविधा दिने व्यवस्था गरिएको छ।