काठमाडौं- भारतले युरोपेली युनियनबाट आयात हुने कारमा उल्लेख्य कर घटाउने तयारी गरेको छ। भारतले ईयूसँग मजबुत ट्रेड डिल गर्नका लागि नयाँ योजना अघि सारेको हो।
भारतले युरोपियन युनियनबाट आयात हुने तयारी कारमा लाग्दै आएको १ सय १० प्रतिशत करलाई घटाएर ४० प्रतिशतमा सीमित गर्ने योजना बनाएको रोयटर्सले उल्लेख गरेको छ। दुईपक्षीय कुराकानी सुरु भएको बताउँदै रोयटर्सले उक्त कर घटाउने प्रस्ताव आएको लेखेको छ।
मोदी सरकारले ईयूका २७ देशबाट भारत आउने तयारी कारमा लाग्दै आएको कर घटाउने भएको हो। १५ हजार युरोभन्दा बढी मूल्यका सीमित संख्यामा आयात हुने कारमा ४० प्रतिशतमात्र कर लगाउने तयारी भारतले गरेको छ।
भारतले यसरी आयातित कारमा कर घटाएमा युरोपेली कार कम्पनी फक्सवागन, मर्सिडिज बेन्ज, बीएमडब्लूलगायत कम्पनीलाई प्रत्यक्ष लाभ हुनेछ।
ईयू र भारतले संरक्षित व्यापारिक सम्झौताका लागि गहन छलफल गरिरहेका छन्। भारत ईयूसँग दीर्घकालीन व्यापार सम्झौता गरेर आफ्नो निर्यात व्यापार बढाउन चाहिरहेको छ। भारत ईयूमा मुख्यगरी टेक्सटाइल र गरगहनाको व्यापार बढाउने दाउमा रहेको छ।
अमेरिकाले गएको अगस्टबाट भारतीय वस्तुमा कर लगाएको थियो। अमेरिकाले भारतीय टेक्सटाइल र गरगहनामा गएको अगस्टदेखि ५० प्रतिशत थप कर लगाएको थियो।
भारत अमेरिका र चीनपछि विश्वको तेस्रो धेरै कार बिक्री हुने बजार हो। भारतका अन्तरिक कार उत्पादक कम्पनीहरु सरकारद्वारा संरक्षित रहेको बताइन्छ। यो अवस्थामा भारतले ईयूबाट आउने तयारी कारमा उल्लेख्य कर घटाउँदा यसको प्रभाव के पर्छ भन्ने धेरैको चासो रहेको छ।
हाल भारतले आयातित कारमा ७० र १ सय १० प्रतिशत आयात कर लगाउँदै आएको छ। भारतले लगाउँदै आएको यो करको दरमाथि टेस्लाका सीईओ एलन मस्कदेखि सयौँ विज्ञहरुले आलोचना गर्दै आएका छन्।
भारतमा हाल वार्षिक २ लाख वटाभन्दा बढी तयारी आईसीई कार आयात हुँदै आएको छ। यो संख्यामा आयात हुने कारमा कर घटाएर ४० प्रतिशतमात्र लगाउनु अटोमोबाइल क्षेत्रमा भारत सरकारले लिन लागेको हालसम्मकै ठूलो कदम हो।