काठमाडौं- भारतीय अटोमोबाइल उद्योगका लागि २०२६ एउटा ऐतिहासिक वर्ष बन्ने अनुमान गरिएको छ। भारतीय सवारी उत्पादक कम्पनीहरूले यो वर्ष थुप्रै नयाँ मोडेलका कारहरू सार्वजनिक गर्ने कार्यतालिका ल्याइसकेका छन्। प्रतिस्पर्धी बन्दै भएको विश्वको ठूलोमध्येको एक अटोमोबाइल बजारमा भारतीयसहित चर्चित अन्तर्राष्ट्रिय ब्रान्डहरूले २०२६ मा नयाँ कार सार्वजनिक गर्दै छन्।
साना तथा ह्याचब्याक कारबाट क्रसओभर तथा एसयूभीमा लम्किएको भारतीय अटोमोबाइल बजारमा विश्वका सबैजसो सवारी उत्पादक कम्पनीको ध्यान आकर्षित भइरहेको छ। भारतीय अर्थमन्त्रको बढ्दो आकार र वृद्धि हुँदो मध्यवर्गीय जनसंख्यालाई ध्यानमा राखेर कार उत्पादकहरू आफ्नो उत्पादन बजारमा लयाउने तयारीमा लागेका हुन्। यो क्रम निरन्तर हुने देखिएको छ।
भारतीय सवारी उत्पादकहरू मारुती सुजुकी, टाटा मोटर्स र महिन्द्राजस्ता ठूला अटो उत्पादक तथा हुन्डाई मोटर्स इन्डियाले आगामी वर्ष ३० भन्दा बढी नयाँ मोडेलहरू बजारमा उतार्ने तयारी गरिरहेका छन्। यो लहरले विशेषगरी एसयूभी र विद्युतीय सवारी क्षेत्रमा ठूलो प्रतिस्पर्धा ल्याउने अनुमान गरिएको छ। यसले ग्राहकहरूलाई पर्याप्त विकल्पहरू प्रदान गर्ने देखिएको छ।
एसयूभी र विद्युतीय कारमा केन्द्रित
यसपटक भारतीय सवारी उत्पादक कम्पनीहरूको मुख्य ध्यान बढ्दो स्पोर्ट युटिलिटी भेइकल (एसयूभी) को मागलाई सम्बोधन गर्नमा केन्द्रित देखिएको छ। द इकोनोमिक टाइम्सका अनुसार यो वर्ष सार्वजनिक हुने गाडीहरूमा ठूलो हिस्सा एसयूभी र नयाँ प्रविधिको विद्युतीय कार हुनेछ।
इन्धनको मूल्य वृद्धि र वातावरणीय चासोका कारण कम्पनीहरूले आफ्नो पोर्टफोलियोमा पेट्रोल र डिजेलका साथै हाइब्रिड र पूर्णविद्युतीय सवारीलाई उच्च प्राथमिकतामा राखेका छन्। विद्युतीय सवारीको उत्पादन बढ्नुको अर्को मुख्य कारण सरकारले उत्पादनमा दिएको सहुलियत पनि हो।
मारुती सुजुकीको विद्युतीय आगमन र हाइब्रिड रणनीति
बजार हिस्साका आधारमा भारतको सबैभन्दा ठूलो कार उत्पादक मारुती सुजुकीले हालसम्म भारतमा बिक्रीका लागि विद्युतीय कार सार्वजनिक गरेको छैन। २०२६ मा मारुती सुजुकीले भारतमा आफ्नो पहिलो कार बिक्रीका लागि सार्वजनिक गरेर विद्युतीयतर्फको यात्रा अघि बढाउँदै छ।
कम्पनीले आफ्नो पहिलो पूर्णविद्युतीय एसयूभी ई भिटारा फेब्रुअरीमा औपचारिक रूपमा बिक्री सुरु गर्ने तयारी गरेको छ। यसका साथै मारुतीले मध्यम वर्गका ग्राहकलाई लक्षित गर्दै वागन आर इलेक्ट्रिक र फ्रंक्स ईभीजस्ता किफायती विद्युतीय गाडीहरू पनि पाइपलाइनमा राखेको छ।
हाइब्रिड प्रविधिमा पनि मारुती सुजुकीले ग्रान्ड भिटाराको ७ सिटे संस्करण र लोकप्रिय ब्रेजाको नयाँ मोडेल ल्याएर इन्धन खपत कम गर्न चाहने ग्राहकहरूलाई आकर्षित गर्ने योजना बनाएको छ। २०२५ मा मारुती सुजुकीले भारतमा आधा दर्जन नयाँ तथा फेसलिफ्ट सवारी सार्वजनिक गर्ने तयारी गरेको छ। भारतीय बजारमा बिक्रीका लागि सार्वजनिक भएसँगै सुजुकीको ई भिटारा तथा वेगन आर र फ्रंक्स ईभी नेपाली बजारमा पनि आउने छ। सुजुकीको ई भिटारा शोकेसका लागि भने गएको नाडा अटो शोमा नेपाल आएको थियो।
टाटा मोटर्स : ईभी पोर्टफोलियो विस्तार र सियराको पुनरागमन
भारतीय विद्युतीय सवारी बजारमा ५० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको टाटा मोटर्सले २०२६ मा आफ्नो पकड अझ बलियो बनाउँदै जाने रणनीति लिएको छ। टाटाको सबैभन्दा प्रतिक्षित गाडी सियरा ईभी २०२६ को दोस्रो त्रैमासमा सार्वजनिक हुने अनुमान गरिएको छ। यो ईभीले ५ सय किलोमिटरभन्दा बढीको रेन्ज दिने दाबी गरिएको छ। साथै टाटाले आफ्नो सर्वाधिक बिक्री हुने मोडेल पन्च ईभीको नयाँ फेसलिफ्ट संस्करण र लक्जरी सेगमेन्टमा अभेन्या ब्रान्डलाई पनि सार्वजनिक गर्ने तयारी गरेको छ।
टाटाको यो रणनीतिले प्रिमियम फिचर्स र उच्च सुरक्षा ५ स्टार सेफ्टी रेटिङलाई प्राथमिकता दिनेछ। २०२६ मा टाटा मोटर्सले भारतीय बजारमा ४/५ वटाभन्दा बडी नयाँ र फेसलिफ्ट कार सार्वजनिक गर्ने जनाएको छ। भारतमा सार्वजनिक भइसकेको सियरा पेट्रोल, पन्च फेसलिफ्ट छिट्टै नेपाल आउने छ। त्यस्तै सियरा ईभी र पन्च ईभीको फेसलिफ्ट भर्सन भारतमा सार्वजनिक भएलगत्तै नेपाल भित्रिनेछ।
महिन्द्राको ‘बोर्न इलेक्ट्रिक’ र एसयूभीको बहार
महिन्द्रा एन्ड महिन्द्राले २०२६ मा ५ वटा नयाँ विद्युतीय एसयूभीहरू सार्वजनिक गर्ने प्रतिबद्धता जनाइसकेको छ। कम्पनीले आफ्नो नयाँ आईएनजीएलओ’ प्लेटफर्ममा आधारित बीई ७ र एक्सयूभी ९ई जस्ता अत्याधुनिक गाडीहरू बजारमा ल्याउँदै छ। यी गाडीहरूमा १७५ किलोवाटको फास्ट चार्जिङ क्षमता हुनेछ, जसले मात्र ३० मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्न सक्नेछ।
विद्युतीयबाहेक महिन्द्राले आफ्नो लोकप्रिय स्कर्पियो एनको फेसलिफ्ट र अफरोडिङ प्रेमीहरूका लागि थारको विद्युतीय संस्करणको अवधारणालाई पनि मूर्त रुप दिएर बजारमा बिक्रीका लागि ल्याउने योजना बनाएको छ। महिन्द्राका विद्युतीय कार पनि भारतमा सार्वजनिक भएपछि नेपाली बजारमा आउने छन्। हाल नेपालमा महिन्द्राका बीई सिक्स र एक्सईभी नाइन बिक्रीमा छन्।
बजारको अवस्था र प्रतिस्पर्धात्मक चुनौती
विगतका वर्षहरूमा वार्षिक औसत १० देखि १२ वटा गाडी मात्र सार्वजनिक हुने गरेकोमा २०२६ मा यो संख्या ३० नाघ्नुले ठूलो प्रतिस्पर्धा रोचक बन्ने स्पष्ट संकेत गरेको छ। अटो विज्ञहरूका अनुसार अहिले बजारमा ५६ प्रतिशत हिस्सा एसयूभीले ओगटेको छ। टाटा र महिन्द्राले प्रिमियम र ईभी क्षेत्रमा प्रतिस्पर्धा गर्दा मारुतीले साना गाडी र किफायती हाइब्रिडमा ध्यान केन्द्रित गरेको छ।
त्यस्तै भारतीय सवारी बजारको अर्को महत्त्वपूर्ण प्रतिस्पर्धी हुन्डाई मोटर्स इन्डियाले पनि भारतीय बजारमा विद्युतीय कारसहित नयाँ आईसी इन्जिन कार बजारमा ल्याउने छ। हुन्डाई बजार हिस्साका आधारमा भारतको चौथो ठूलो कम्पनी हो।
गत वर्षसम्म दोस्रो स्थानमा रहेको हुन्डाई यो वर्ष चौथो स्थानमा पुगेको हो। त्यस्तै किया, भियतनामको भिनफास्ट र चीनको लिपमोटर, जर्मन ब्रान्डहरू स्कोडा र फक्सवागनलगायतले पनि भारतीय बजारलाई प्राथमिकतामा राखेका छन्। यी सबै कम्पनीहरूले भारतीय बजारमा यो वर्ष तीन दर्जनभन्दा बढी नयाँ कार सार्वजनिक गर्ने अनुमान गरिएको छ।
२०२६ मा नयाँ कम्पनी र मोडेलहरूको प्रवेशले बजारलाई प्रतिस्पर्धी त बनाउने नै छ। यसले स्वदेशी कम्पनीहरूलाई आफ्नो बजार हिस्सा जोगाउन थप चुनौती थपिएको छ।
लगानी र पूर्वाधारको विकास
यो बृहत् उत्पादन योजनालाई मूर्तरूप दिन अटोमोबाइल कम्पनीहरूले अर्बौँ रुपैयाँको लगानी गरिरहेका छन्। नयाँ उत्पादन प्लान्ट स्थापना, ब्याट्री उत्पादन केन्द्र र प्रविधि अनुसन्धानमा ठूलो खर्च भइरहेको छ। विज्ञहरूका अनुसार यति धेरै संख्यामा नयाँ गाडीहरू सार्वजनिक हुनुले भारतीय अटो बजारलाई विश्वको तेस्रो ठूलो बजारको रूपमा अझ मजबुत बनाउने छ र रोजगारीका नयाँ अवसरहरू समेत सिर्जना गर्ने छ।