शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

साइबर ठगी रोकथाम र डिजिटल वित्तीय सुरक्षाका लागि राष्ट्रिय सम्मेलन हुने

बिहीबार , माघ ८ २०८२
साइबर ठगी रोकथाम र डिजिटल वित्तीय सुरक्षाका लागि राष्ट्रिय सम्मेलन हुने

काठमाडौं- बैंक, वित्तीय संस्था तथा प्रविधिमा आधारित भुक्तानी सेवामा बढ्दो साइबर जोखिम र ठगी नियन्त्रणका विषयमा केन्द्रित दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ। अगामी माघ १४ आयोजना हुने काठमाडौं फिन्टेक र भुक्तानी कार्ड सुरक्षा मापदण्ड परिषद्को संयुक्त आयोजनामा हुने सम्मेलनमा स्वदेशी तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहनेछ। 

डिजिटल कारोबार विस्तारसँगै साइबर आक्रमण र ठगीका घटना तीव्र रूपमा बढिरहेका बेला सम्मेलनले साइबर सुरक्षा, ठगी नियन्त्रण, जोखिम व्यवस्थापन तथा ग्राहक सुरक्षाका व्यवहारिक उपायमाथि गहन छलफल गर्ने आयोजकले जनाएको छ।

सम्मेलनका मुख्य वक्ता भारतको केन्द्रीय बैंकको नेतृत्वमा स्थापना गरिएको बैंकिङ प्रविधि, साइबर सुरक्षा तथा अनुसन्धान तालिम केन्द्रका प्रमुख तथा पूर्व केन्द्रीय बैंकर दीपक कुमार रहनेछन्। उनले बैंकिङ क्षेत्रमा साइबर सुरक्षा, ग्राहक पहिचान प्रणाली र डिजिटल जोखिम व्यवस्थापनका विषयमा विशेष सम्बोधन गर्नेछन्।

कार्यक्रमको मुख्य आकर्षण साइबर ठगीबाट बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई कसरी सुरक्षित राख्ने भन्ने विषय रहनेछ। नेपालमा हालसम्म अरबौँ रुपैयाँ बराबरको साइबर ठगी भइसकेको र यस्ता अपराधको संख्या तथा जटिलता बढ्दै गएको सन्दर्भमा सम्मेलनलाई अत्यन्तै महत्वपूर्ण मानिएको छ। विभिन्न प्रलोभनमार्फत ग्राहकको खातामा अनधिकृत पहुँच पुर्‍याई रकम ठगी गरिएका हजारौँ घटना सार्वजनिक भइसकेका छन्।

यसै क्रममा भारतको एक अग्रणी निजी बैंकले साइबर ठगी विरुद्ध हासिल गरेको सफल अभ्यास र अनुभव प्रस्तुत गरिनेछ। सो अभियानको नेतृत्व गरेका बैंकर मनिश अग्रवालले बैंक तथा ग्राहकलाई साइबर ठगीबाट जोगाउन अपनाइएका प्रभावकारी रणनीति, व्यवहारिक उपाय तथा वास्तविक घटनाका अनुभव साझा गर्नेछन्। साथै बैंकिङ प्रणालीमा प्रयोग हुने ‘म्युल खाता’ निष्क्रिय पार्ने सफल अभ्यासबारे पनि उनले प्रस्तुति दिनेछन्।

त्यस्तै, भारतको केन्द्रीय बैंक अन्तर्गतको साइबर सुरक्षा स्थायी समितिका सदस्य, अन्तर्राष्ट्रिय प्रहरी संगठनका प्रशिक्षक तथा बहुराष्ट्रिय परामर्श संस्थाका साइबर सुरक्षा साझेदार कृष्ण शास्त्रीले साइबर जोखिम, अन्तर्राष्ट्रिय अभ्यास र नियामक दृष्टिकोणबारे आफ्नो धारणा राख्नेछन्।

सम्मेलनमा विश्वका अग्रणी कार्ड सञ्जाल सञ्चालन संस्थाका विज्ञहरूको प्रस्तुति रहनेछ भने नेपाली बैंकिङ क्षेत्रका वरिष्ठ बैंकर, साइबर सुरक्षा विज्ञ तथा सम्बन्धित क्षेत्रका विशेषज्ञहरूको सक्रिय सहभागिता रहनेछ।

कार्यक्रमलाई डिजिटल भुक्तानी सेवा प्रदायक, कार्ड सञ्जाल तथा प्रविधि कम्पनीहरूले सहयोग र समर्थन प्रदान गरेका छन्।भुक्तानी कार्ड सुरक्षा मापदण्ड परिषद् विश्वव्यापी रूपमा भुक्तानी सम्बन्धी डेटा सुरक्षाका मापदण्ड निर्धारण तथा प्रमाणिकरण गर्ने अन्तर्राष्ट्रिय संस्था हो। नेपाल राष्ट्र बैंकले कार्ड जारी गर्ने संस्थाहरूका लागि यस मापदण्डअनुसारको प्रमाणिकरण अनिवार्य गरेको छ।

काठमाडौं फिन्टेक बैंक, वित्तीय संस्था तथा प्रविधिमा आधारित वित्तीय सेवाको क्षमता अभिवृद्धि, अनुसन्धान, ज्ञान विकास तथा नीति संवादमा समर्पित संस्था हो।


प्रकाशित : बिहीबार , माघ ८ २०८२१०:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend