काठमाडौं- एउटा यस्तो दान जसका कारण इतिहासकै ठूलो धनरासीको कानूनी लडानइमा परिणत हुँदैछ। अमेरिकाका दुई ठूला प्रभावशाली व्यवसायीबीचको व्यक्तिगत तथा संस्थागत टकराबले जन्माएको एउटा कानूनी लडाइ जसले स्टार्टप फन्डिङको अवधारणामै ठूलो परिवर्तन ल्याउनसक्ने देखिएको छ। वर्तमान विश्वकै सबैभन्दा शक्तिशाली कम्पनी ओपन एआई र त्यसको संस्थापकमध्येका एक संसारकै धनाढ्य एलन मस्कबीचको यो कानूनी लडान रोचक मोडमा पुगेको छ।
एआईको दुनियाँमा जति चर्चित र प्रभावशाली भूमिका ओपन एआईको छ अहिले आजभन्दा ११ वर्ष पहिले यसको स्थापनामा एलन मस्कको हात थियो। उनको मुख्य दानबाट यो संस्था अघि बढेको थियो। मानव जातिमाथि एआईको नकारात्मक असरलाई प्रतिरोध गर्दै यसलाई मानव सभ्यताको कल्याणमा उपयोग गर्ने उद्देश्य लिएर गैरनाफामूलक अवधारणामा काम गर्नेगरी ओपन एआई स्थापना भएको थियो। नाफामूलक हुँदा एआईको दुरुपयोग बढ्न सक्ने र त्यसले जे पनि गर्नसक्ने भएकाले यसलाई गैरनाफामूलक बनाउने सुरुवाति अवधारणा थियो।
सोही अनुसार यसले अनुसन्धान र विकास पनि गर्दै आयो। तर च्याटजीपीटी बजारमा नआउँदै मस्कले सन् २०१८ मै ओपन एआई छाडे। उनले छाडेपछि च्याटजीपीटी आयो र एआईको बजारमा यसले तहल्का नै मच्चायो। संसारका सबै प्रभावशाली क्षेत्रले यो कम्पनीसँग साझेदारीको हात अघि बढाए। आजका दिनमा जतिसुकै अरु मोडल विकास भएपनि ओपन एआईको प्रभाव भने उत्तिकै छ। विश्वव्यापी अमेरिकी प्रभावको आधुनिक माध्यम पनि हो ओपन एआई। यसले विकास गरेका एआई मोडेलमध्ये आम उपभोक्ताका लागि च्याटजीपीटी चर्चित छ। तर यसको प्रविधिको उपयोगिता उपभोक्ताभन्दा औद्योगिक क्षेत्रमा व्यापक छ।
अहिले आएर यति धेरै सफल भएको यही कम्पनीको स्थापनाकालको एउटा दान अहिले आएर इतिहासकै ठूलो रकमको मुद्दा बनेको छ। १ सय ३४ अर्ब अमेरिकी डलर माग गर्दै एलन मस्कले अदालतमा मुद्दा दायर गरिसकेका छन्। यो मुद्दाको सुनुवाई अमेरिकाको एक अदालतमा छिटै हुनेछ।
मस्कले ओपन एआई र माइक्रोसफ्टबाट यो रकम पाउनुपर्ने दाबीसहित मुद्दा दिएका हुन्। ओपन एआईका सहसंस्थापकसमेत रहेका मस्कले आफ्नो पुँजी र ख्याति लगाएर विकास गरेको कम्पनीले उद्देश्यविपरीत नाफा आर्जन र वितरणको मार्गमा हिडेपछि पुँजी र ख्यातिको हिसाब गरेर रकम दाबी गरेका छन्। परिभाषित करार, घोषित नीति र बाचा तोडेर गरिएको आम्दानी वा नाफा फिर्ताका लागि मस्कले मुद्दा दिएपछि यसले कर्पोरेट अझ प्रविधि क्षेत्रमा हलचल ल्याएको छ।
ओपन एआईको स्थापनामा मस्कको भूमिका रहेपनि त्यव कार्यकारी भने थिएन। मानव कल्याणका लागि एआई बनाउने र त्यसका लागि काम गर्नका लागि यो संस्था बनाइएको थियो। मस्कले यसको सुरुवातिकालमा ६० प्रतिशत अर्थात् ३ करोड ८० लाख डलर सिड क्यापिटल लगानी गरेका थिए। पुँजीमात्र नभएर कर्मचारी ल्याउने तथा खोज्ने कुरामा पनि आफ्नो व्यक्तिगत साखको उपयोग गरेको उनले दाबी गरेका छन्। तर यो सबै लगानी गैरनाफामूलक कल्याणकारी एआई कम्पनीका लागि भएको तर अहिले यसले अनुचित नाफा आर्जनको बाटोमा गएको बताएका छन्।
मस्क तर्क छ कि जसरी एउटा स्टार्टअपमा सुरुवाती लगानीकर्ताले पछि आफ्नो लगानीको तुलनामा हजारौं गुणा बढी प्रतिफल पाउँछ, त्यसरी नै उनले पनि ओपन एआई र माइक्रोसफ्टले आर्जन गरेको 'अनुचित नाफा’को हिस्सा पाउनुपर्छ।
आफूले परोपकारका लागि दिएको दानमा टेकेर विशाल नाफा आर्जनको बाटोमा गएको भन्दै मस्कले पछिल्लो समय सार्वजनिक आलोचना पनि गर्दै आएका छन्। औपन एआईमा माइक्रोसफ्टले लगानी गरेको छ। यसबाट यी दुई पक्षले नाफा आर्जन गरिरहेको उनले बताएका छन्।
ओपन एआईका सहसंस्थापक द्वय मस्क र सेमअल्टम्यान दुईबीचको पनि व्यक्तिगत टकराव रहेको छ। गुगलका सहसंस्थापक ल्यारीपेजसँगको टकरावले अल्टम्यानसँग मिलेर मस्कले यो संस्था अघि बढाएका थिए। तर यी दुईबीच पनि सम्बन्ध बिग्रियो। अहिले मस्कले आफ्नै ग्रोक एआई चलाइरहेका छन्। तर ओपन एआईले भने मस्कको दाबीलाई खण्डन गर्दै आएको छ।
पहिलो आरोप नाफामूलक र साझेदारीको विषयलाई लिएर मस्क आफैले ओपन एआईको प्रविधि टेस्लामा उपयोग गर्न चाहन्थे र त्यो नभएपछि बाहिरिएको अल्टम्यानले बताउँदै आएका छन्। त्यस्तै अहिलेको नाफा र मोडल परिवर्तन सुरुवात लक्ष्य र उद्देश्यभन्दा बाहिर गएर नभएको बताउँदै आएका छन्। ओपन एआईकै प्रतिस्पर्धी कम्पनी चलाइरहेका मस्कको यो प्रयास एउटा प्रतिस्पर्धीलाई कमजोर बनाउने रणनीतिमात्र भएको अल्टम्यान पक्षको भनाइ रहेको छ।