बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

सेयर बजारमा देखियो उछाल, १०१ अंकको वृद्धि

बढ्नुका तीन कारण - बैंकको उही ब्याजदर, चुनावी प्रभाव र अन्यत्रको लगानी

आइतबार, फागुन २९ २०७८
सेयर बजारमा देखियो उछाल, १०१ अंकको वृद्धि

काठमाडौं- चैतमा ब्याजदर नबढाउने वाणिज्य बैंकहरूको भद्र सहमतिले सेयर बजारमा समेत उभार आएको छ। ब्याजदरसँगै चुनावले अर्थतन्त्र चलायमान गराउने संकेत तथा लगानी गर्ने क्षेत्र अन्यत्र कमजोर हुँदा सेयरमा पैसा आउन थालेकोले बजार बढेको विश्लेषकहरूले बताएका छन्।  

आइतबार बजार १०१.०७ अंकले बढेर २६६७.९७ बिन्दुमा पुगेको छ। लगातार घटिरहेको सेयर बजारको ओरालो लाग्ने गत साताको बिहीबारदेखि रोकिएको थियो। बिहीबार ५२ अंकले बढेको बजारमा यो साताको पहिलो दिन आइतबार झनै उछाल देखिएको हो। आइतबार ४ अर्ब ८७ करोड रूपैयाँ बराबरको कारोबार भएको छ। 

आइतबार सबै उपसूचकहरू उकालो लागेका छन्। फराकिलो छलाङ जीवन बीमा कम्पनीका सेयरले मारेका छन्। चैत महिनामा नेपाल बैंकर्स संघले ब्याजदर नबढाउने निर्णय गरेको छ। बैंकर्स संघको बैठकले चैत महिनामा ब्याज नबढाउने सहमति गरेका हुन्। संघको निर्णयसँगै चैतमा फागुनकै ब्याजदर लागु हुनेछ। यसको सेयर बजारमा सकारात्मक प्रभाव परेको छ।

यता अर्थमन्त्रीले समेत सेयर बजारमा आफू नकारात्मक नभएको भन्दै भाषण गरिरहनाले पनि सेयर बजारमा प्रभाव परेको छ। साथै  चुनावी माहोल बन्दै जाँदा पनि सेयर बजारमा प्रभाव परेको छ। 

बैंकहरूले ऋण नदिएपनि नगद भएका लगानीकर्ताले सेयर बजारमा लगानी गर्न थालेकाले सेयर बजार बढेको हो। नेपाल जस्तो देशमा सुनमा खासै लगानी नगर्ने परम्पराका कारण र लगानी गर्ने क्षेत्र अन्य नभेट्दा पनि सेयर बजारमा लगानी आएको विश्लेषकहरू बताउँछन्। घरजग्गामा समेत लगानी असुरक्षित हुन थालेपछि लगानीकर्ताले सस्तोमा आएको सेयर उठाउन थालेपछि बजार बढेको विश्लेषकहरूको बुझाइ छ। 

गएको साताको अन्तिम कारोबारमा बिहीबार ५२.२१ अंकले बढेर बजार २५६६.७९ बिन्दुमा पुगेको थियो। बिहीबार ५६ लाख १० हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड रूपैयाँको कारोबार भएको थियो। 


प्रकाशित : आइतबार, फागुन २९ २०७८०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend