काठमाडौं- पछिल्लो समय युवालाई रोजगारी र मर्यादित जीवनका साथै राष्ट्रलाई आम्दानी हुने आकर्षक क्षेत्रका रुपमा सूचना प्रविधिलाई बुझ्न थालिएको छ।
गैरसरकारी पहलबाटै विश्वव्यापी लाभ लिएर देखाएपछि सरकारले पनि यसलाई स्वीकार गरेको छ। विशेषगरी आउटसोर्सिङका लाभ नेपाली युवाले लिइरहेका छन्। तर आजभन्दा साढे दुई दशक पहिले नै नेपालमा यस्तो कम्पनी थियो जसले आउटसोर्सिङ होइन प्रविधिको विकास नै गरेको थियो।
कतिपय सन्दर्भमा भारतको जत्तिकै आविष्कार गर्न सफल भएको थियो यो कम्पनी। अहिलेका तिलष्मी आम्दानीका कथाभन्दा सयौँ गुणा गौरव गर्नलायक काम गरेको थियो मर्कन्टायल कम्युनिकेसनले।
नेपालको सूचना प्रविधिमा 'मर्कन्टायल' एउटा कम्पनीमात्र नभएर आधुनिकताको पर्याय थियो तर यही कम्पनी पछिल्लो समय प्राय सबै क्षेत्रबाट विमुख हुँदै गएको छ।
नेपालमै पहिलोपटक इमेल तथा इन्टरनेट सेवाको सुरुवातमात्र होइन कुनै समयको नेपाली प्रविधि क्षेत्रको आयकनिक कम्पनी मर्कन्टायल अहिले आफ्नो दूरसञ्चारको लाइसेन्स नवीकरणका लागि संघर्ष गरिरहेको छ।
मर्कन्टायल कम्युनिकेसन नेपाली प्रविधि क्षेत्रको वा समयअगावै नेपाली भूमिमा क्रान्ति गरेको कम्पनीका रुपमा परिचित छ। इन्टरनेटबाहेक प्रविधिको विकासमै छलाङ मारेर नेपालकै गौरव बढाएको यो कम्पनी अहिले दूरसञ्चारको लाइसेन्स नवीकरणका लागि संघर्ष गरिरहेको छ।
मर्कन्टायल कम्युनिकेसन नेपालको सञ्चार क्षेत्रको अग्रणिमात्र होइन। यसले नेपाली बजारमा पहिलोपटक इन्टरनेट सेवा ल्याएको थियो जुन भारतभन्दा पहिले थियो। त्यस्तै नेपालमै पहिलोपटक इन्टरनेट सेवा पनि यसैले ल्याएको थियो। सञ्चारमात्र सीमित नभएर यो कम्पनी नेपालमै प्रविधिका उत्पादन विकास ग गर्ने कम्पनी हो।
नेपालमै पहिलोपटक कोर बैंकिङ सफ्टवेयर पुमरी बनाएको थियो। कुनै समय नेपाली बैंकहरूमा यही सफ्टवेयर प्रयोग हुन्थ्यो। तर अहिले यो हराएर केही बैंकमा मात्र सीमित छ।
त्यस्तै यसले अफिस सिस्टम पनि नेपालमै पहिलोपटक विकास गरेको थियो। टेलिफोन सेट, कम्प्युटरजस्ता उपकरणको पनि यसले वितरण गर्दै आएको थियो। यति धेरै यसको सेवा व्यापक थियो कि आजभन्दा १५ वर्ष पहिले नेपालको प्रविधि क्षेत्रको आइकन बनेको थियो।
मर्कन्टायलको इन्टरनेट तथा नेटवर्क लाइसेन्सको २५ वर्ष अवधि पुगेको छ। अब नयाँ लाइसेन्स जारी हुनुपर्ने भएपनि भएको छैन। बक्यौता क्लियर नभइ नवीकरण नगर्ने प्राधिकरणको अडानले गर्दा यसको लाइसेन्स नवीकरण भएको छैन। रिटेलभन्दा कर्पोरेट ग्राहकलक्षित इन्टरनेट सेवामा अघि बढेको यसको बजार पनि पछिल्लो दशकदेखि खासै आक्रामक थिएन। इन्टरनेटबाहेक अरु क्षेत्रमा पनि यसको प्रगति धिमा बनेको छ।
विस २०५६ साल जेठ ६ गते नेटवर्क सेवाप्रदायकको लाइसेन्स लिएको मर्कन्टायलको लाइसेन्स २०८१ मा सकिएको हो। २५ वर्ष पुगेपछि नयाँ लाइसेन्स जारी हुनुपर्ने भएपनि यसको अझैसम्म भएको छैन।
त्यस्तै इमेल इन्टरनेट सेवाको लाइसेन्स भने यसले २०५५ साल चैतमै लिएको थियो। जसको लाइसेन्स २०८० मै सकिएको हो। दुबै लाइसेन्स नवीकरण हुन सकेको छैन। नवीकरणभन्दा पनि मर्कन्टायलको नयाँ लाइसेन्स जारी हुनुपर्नेछ।