शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सुजुकीले गुजरातमा नयाँ प्लान्ट बनाउन ३ खर्ब ५० अर्ब भारु लगानी गर्ने

शनिबार, माघ ३ २०८२
सुजुकीले गुजरातमा नयाँ प्लान्ट बनाउन ३ खर्ब ५० अर्ब भारु लगानी गर्ने

वार्षिक १० लाख कार उत्पादन गर्ने योजनासहित गुजरातको खोरजमा उक्त लगानी गर्ने मारुती सुजुकीले बताएको छ। उक्त प्लान्ट बन्दा करिब १२ हजार मानिसले प्रत्यक्ष रोजगारी पाउने छन्।

काठमाडौं- मारुती सुजुकी इन्डियाले भारतको गुजरातमा नयाँ कार उत्पादन प्लान्ट खोल्ने भएको छ। यसका लागि कम्पनीले ३ खर्ब ५० अर्ब भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गरेको हो। 

वार्षिक १० लाख कार उत्पादन गर्ने योजनासहित गुजरातको खोरजमा उक्त लगानी गर्ने मारुती सुजुकीले बताएको छ। उक्त प्लान्ट बन्दा करिब १२ हजार मानिसले प्रत्यक्ष रोजगारी पाउने छन्। 

मारुती सुजुकीको नयाँ गुजरात प्लान्ट १७ सय ५० एकड जमिनमा फैलिने छ भने उक्त जग्गा गुजरात औद्योगिक विकास निगमले उपलब्ध गराउने छ। गान्धी नगरमा भएको एक कार्यक्रममा मारुती सुजुकीका एमडी शरियु हिटाची टाकुचीले गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेललाई लगानीसम्बन्धी पत्र हस्तान्तरण गरेको द इकोनोमिक टाइम्सले लेखेको छ। 

मारुती सुजुकीबाट लगानीको पत्र पाएपछि गुजरातका मुख्यमन्त्री पटेलले भनेका छन्, ‘गुजरातमा मेघा कार उत्पादन प्लान्ट स्थापना गर्ने सुजुकीको प्रस्ताव पाउँदा निक्कै खुसी लागेको छ। ३ खर्ब ५० अर्ब भारु लगानीले गुजरातको विकासमा ठूलो सहयोग पुग्नेछ।’ 

भारत-जापानको साझेदारीबाट मारुती सुजुकीले जुन आत्मविश्वासका साथ गुजरातमा लगानी बढाइरहेको छ यसले गुजराती नीति निर्देशित सरकारप्रति विश्व समुदायमै सकारात्मक सन्देश पुगेको मुख्यमन्त्री पटेलले बताएका छन्। 

भारतको सबैभन्दा ठूलो कार उत्पादक मारुती सुजुकीले १९८३ मा हरियाणाको गुरुग्राममा प्लान्ट स्थापना गरेर कार उत्पादन सुरु गरेको थियो। त्यसयता सुजुकीले भारतभर आफ्नो उत्पादन प्लान्ट विस्तार गरेको छ। हरियाणामै सुजुकीका तीनवटा प्लान्ट छन्। 

मारुती सुजुकीले भारतमा वार्षिक ४० लाखवटा कार उत्पादन गर्ने लक्ष्य लिएको छ। आन्तरिक बजारमा बढ्दो माग र अन्तर्राष्ट्रिय बजारमा सुजुकीका कार बिक्री गर्न यो लक्ष्य लिएको हो। सुजुकी मोटर कर्पोरेसन जापानले अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने कार भारतमै उत्पादन गर्दै आएको छ। 

नेपालसहित जापान, अन्य एसियाली बजार, युरोप तथा दक्षिण-उत्तर अमेरिकी बजारमा निर्यात हुने सुजुकीका कार भारतमै उत्पादन हुँदै आएको छ। हालै सुजुकीले युरोपेली बजारमा बिक्री सुरु गरेको सुजुकीको पहिलो विद्युतीय कार ई भिटारा पनि भारतमै उत्पादन भएको हो। उक्त कार नेपाली बजारमा पनि बिक्रीका लागि आउने तयारीमा छ। 

मारुती सुजुकीले हाल भारतमा १७ मोडल र ६ सय ५० भेरियन्टका कार भारतभर रहेका प्लान्टहरूबाट उत्पादन गर्दै आएको छ। मारुती सुजुकीले भारतमा २०२५ मा २२ लाख ५५ हजारवटा कार उत्पादन गरेको हो। यो संख्या हालसम्म सुजुकीले उत्पादन गरेको सबैभन्दा धेरै हो। 


प्रकाशित : शनिबार, माघ ३ २०८२१६:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend