काठमाडौं- विश्वलाई अहिले अत्यधिक मात्रामा मेमोरी चिप र हार्ड ड्राइभ चाहिएको छ। तर ती उत्पादन गर्ने कम्पनीहरू उत्पादन तीव्र रूपमा बढाउन हतारिएका छैनन्। यसको कारण उनीहरूकै विगतका तीतो अनुभव र बजारको अस्थिर प्रकृति हो।
एआईको लागि बनाइँदै गरेको विशाल कम्प्युटिङ पूर्वाधारले अहिले एनएएनडी फ्ल्यास मेमोरी, डीआरएएम र हार्ड ड्राइभको ठूलो हिस्सा खपत गरिरहेको छ। यसका कारण पीसी, स्मार्टफोन र अन्य उपभोक्ता इलेक्ट्रोनिक्सका लागि मेमोरीको अभाव उत्पन्न भएको छ।
मोर्गन स्ट्यान्लीका चिप विश्लेषक जो मूरले उद्धृत गर्दै दि वाल स्ट्रिट जर्नलले लेखेको छ, 'मेमोरीको आपूर्ति र मागबीच गम्भीर असन्तुलनमा छ।'
मेमोरी अभावले यसको मूल्य आकाशिएको छ, जसले उत्पादक कम्पनीहरूको आम्दानी र नाफामा वृद्धि गराएको छ। माइक्रोनले हालै आफ्नो इतिहासकै सबैभन्दा बढी त्रैमासिक आम्दानी र सञ्चालन नाफा सार्वजनिक गरेको छ। सामसङले भने आफ्नो चौथो त्रैमासिक सञ्चालन नाफा गत वर्षको तुलनामा तीन गुणा पुग्ने अनुमान गरेको छ।
सामान्य अवस्थामा यस्तो अभाव र उच्च मूल्य देखिएपछि कम्पनीहरूले उत्पादन क्षमता ठूलो मात्रामा बढाउँछन्। तर अघिल्ला दशकहरूमा मूल्य ध्वस्त भएर ठूलो घाटा बेहोरेको इतिहास मेमोरी उद्योगले बोकेको छ। त्यसैले यसपटक उनीहरू अत्यन्तै सावधानी अपनाइरहेका छन्।
मेमोरी चिप र हार्ड ड्राइभको मूल्य यो वर्ष पनि उच्च नै रहने अनुमानहरू सार्वजनिक भइरहेका छन्। जसले यी कम्पनीहरूको बजार मूल्यलाई टिकाइराख्नेछ। २०२३ मा मात्र माइक्रोन, वेस्टर्न डिजिटल, सिगेट र एसके हाइनिक्स सबैले वार्षिक सञ्चालन घाटा बेहोरेका थिए। अहिले उनीहरुको राम्रो नाफामा गइरहेका छन्।
एनभिडिया र एएमडीका एआई कम्प्युटिङ सिस्टमहरूलाई ठूलो मात्रामा विशेष डीआरएएम चाहिन्छ। त्यस्ता प्रणालीहरूले विशाल मात्रामा नयाँ डाटा पनि उत्पादन गर्छन्, जसलाई हार्ड ड्राइभ र एसएसडी जस्ता स्टोरेजमा राख्नुपर्छ।
एनभिडिया र एएमडीले पनि आफ्ना उत्पादन चक्र छोट्याएका छन्। एनभिडियाले हालै सार्वजनिक गरेको रुबिन जीपीयूले अघिल्लो पुस्ताको ब्ल्याकवेल भन्दा झन्डै तीन गुणा बढी मेमोरी ब्यान्डविड्थ दिने बताएको छ।
सम्पूर्ण मागमा मुख्यत: अमेजन, गुगल, माइक्रोसफ्ट र मेटाजस्ता विश्वका ठूला प्रविधि कम्पनीहरूको पुँजीगत खर्च जोडिएको देखिएको छ। २०२५ मा मात्र यी चार कम्पनीको ठूलो खर्च गरेका छन्। यदि माग यस्तै बलियो रह्यो भने यो उछाल धेरै वर्षसम्म चल्न सक्छ।
दि वाल स्ट्रिट जर्नलका अनुसार ब्रेन्सटाइनका विश्लेषक मार्क न्यूम्यानले यसलाई 'डाटा विस्फोट' भनेका छन्। उनका अनुसार एनएएनडी फ्ल्यास र हार्ड ड्राइभमार्फत हुने डाटा भण्डारण ढुवानी आगामी चार वर्षमा औसत १९ प्रतिशतले बढ्नेछ, जुन विगत १० वर्षको औसत १४ प्रतिशतभन्दा धेरै हो।