शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सीईएस २०२६ : विद्युतीय सवारीको चर्चा कम, ‘चालकविहीन प्रविधि’मा बढी

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस २६ २०८२
सीईएस २०२६ : विद्युतीय सवारीको चर्चा कम, ‘चालकविहीन प्रविधि’मा बढी

लसभेगासमा भएको सीईएस २०२६ को प्रदर्शनीले अटोमोबाइल उद्योगलाई एउटा नयाँ मोडमा पुर्‍याएको छ जहाँ स्टेयरिङ ह्विल बिस्तारै इतिहास बन्दै जाने देखिन्छ।

काठमाडौं- विश्वको सबैभन्दा ठूलो प्रविधि प्रदर्शनी सीईएस (कन्जुमर इलेक्ट्रोनिक्स शो) २०२६ गत साता सुरु भएको हो। यो वर्षको सीईएसमा अटोमोबाइल उद्योगका सम्बन्धमा एउटा ठूलो बदलाव देखिएको छ। 

विगतका वर्षहरूमा नयाँ-नयाँ विद्युतीय सवारी (ईभी) तथा यसका कन्सेप्टहरू सार्वजनिक गर्ने होडबाजी चल्ने गरेको थियो। तर यस वर्ष भने विद्युतीय गाडीको चर्चा ओझेलमा परेको छ। उद्योगका विज्ञहरू र ठूला कम्पनीहरूले अब आफ्नो पूर्ण ध्यान ‘अटोनोमस ड्राइभिङ’ अर्थात् चालकविहीन सवारी प्रविधिमा केन्द्रित गरेका छन्। 

संसारभरका ठूला सवारी उत्पादकहरूले विद्युतीय सवारी उत्पादन र त्यसको प्रविधि विकासमा ठूलो लगानी गरिरहेका छन्। ब्याट्रीको विकासमा केन्द्रित भएका कम्पनीहरू कम लागत र धेरै रेन्ज तथा टिकाउ ब्याट्री बजारमा ल्याउन केन्द्रित छन्। तर यो वर्षको सीईएसमा विद्युतीय सवारीका नयाँ मोडल कम आउनु र यसबारेमा चर्चा कम हुनु आश्चर्यजनक छ। 

अमेरिका विद्युतीय सवारीप्रति अझै पनि नरम हुन सकेको छैन। अमेरिकाले मूलत: विद्युतीय सवारीलाई चिनियाँ नजरले हेर्दै आएको छ। उसले चीनमा उत्पान भएका विद्युतीय सवारीको आयातमा उल्लेख्य कर लगाउँदै आएको छ।

अमेरिकी कम्पनी टेस्लाबाहेक अन्य फोर्ड तथा जनरल मोटरले ईभीमा सीमित मात्र लगानी गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ईभी विरोधीका रूपमा चित्रण गरिँदै आइएको छ र उनको कार्यशैली पनि ईभीमैत्री देखिँदैन। 

सीईएसमा विद्युतीय गाडीको ‘हाइप’ किन कम भयो?

फोर्ब्सका अनुसार पछिल्लो एक वर्षमा विश्व बजारमा विद्युतीय गाडीको मागमा आएको गिरावट र चार्जिङ पूर्वाधारको सुस्त विकासले गर्दा कम्पनीहरू केही सचेत देखिएका हुन्।

उपभोक्ताहरूले अब गाडी विद्युतीय हुनुलाई मात्र ठूलो उपलब्धि मान्न तयार हुन छाडिसके किनकि यो अहिले सामान्य भइसकेको छ। २०२६ को बजारमा अब गाडीको इन्जिन वा पावरट्रेनभन्दा पनि त्यसको ‘बौद्धिक क्षमता’ खोजी हुन थालेको छ।

विश्व बजारमा विद्युतीय कारको उपलब्धता उल्लेख्य रूपमा बढिसकेको छ। अब आईसी इन्जिन कारसरहकै मूल्यमा विद्युतीय कार आउने अवस्था आइसकेकाले विद्युतीय कार ‘मास मार्केट’ सवारी बनिसकेको छ। त्यसैले पनि अब उपभोक्ताको ध्यान गाडी केले चल्छ भन्दा पनि गाडीमा के-के उपलब्ध छ भन्नेमा केन्द्रित हुन थालेको छ। 

‘सफ्टवेयर’ नै नयाँ इन्जिन

यस वर्षको प्रदर्शनीमा ‘सफ्टवेयर डिफाइन्ड भेहिकल’ (एसडीभी) को अवधारणाले प्राथमिकता पाएको छ। गाडी निर्माताहरूले अब गाडीको डिजाइन वा ब्याट्री क्षमताभन्दा पनि गाडीभित्रको सफ्टवेयर र एआई प्रणाली कति शक्तिशाली छ भन्ने कुरालाई जोड दिएका छन्।

ठूला कार उत्पादकहरूले पनि भविष्यमुखी प्रविधियुक्त कारको विकासमा आफ्नो रिसर्च एन्ड डेभलपमेन्टलाई विस्तार गरिरहेका छन्। सोही कारण आगामी दिनमा आउने कारको मुख्य इन्जिन सफ्टवेयर हुने अनुमान धेरैको छ। 

लेभल ४ अटोनोमस प्रविधि : यो वर्षको सीईएसमा धेरै कम्पनीहरूले पूर्ण रूपमा चालकबिना नै सहरका व्यस्त सडकमा गुड्न सक्ने गाडीहरूको सफल नमुना प्रदर्शन गरेका छन्। 

एआई चिप्सको दबदबा : एनभिडिया र क्वालकम जस्ता चिप निर्माताहरूले यस्ता प्रोसेसरहरू ल्याएका छन् जसले गाडीलाई मानिसको आँखाभन्दा छिटो सोच्न र निर्णय लिन मद्दत गर्छन्।

रोबोट्याक्सीको भविष्य : फोर्ड, टेस्ला र अन्य स्टार्टअपहरूले अब व्यक्तिगत गाडी बिक्री गर्नुभन्दा पनि ‘सवारी सेवा’का रूपमा चालकविहीन ट्याक्सीहरू सञ्चालन गर्ने योजनालाई अघि सारेका छन्।

अटोमोबाइल विश्लेषकहरूका अनुसार २०२६ को यो ट्रेन्डले के संकेत गर्छ भने अबको व्यापार युद्ध ब्याट्रीको रेन्ज बढाउनमा मात्र सीमित छैन। अबको प्रतिस्पर्धा ‘कसको गाडीले सडकमा सुरक्षित र स्मार्ट तरिकाले आफैलाई चलाउन सक्छ’ भन्नेमा हुनेछ।

विद्युतीय सवारी अब एक अनिवार्य आवश्यकता बनिसक्यो। तर भविष्यको वास्तविक सवारी भनेको चालकविहीन प्रविधियुक्त सवारी नै हो। लासभेगासमा भएको सीईएस २०२६ को प्रदर्शनीले अटोमोबाइल उद्योगलाई एउटा नयाँ मोडमा पुर्‍याएको छ जहाँ स्टेयरिङ ह्विल बिस्तारै इतिहास बन्दै जाने देखिन्छ।


प्रकाशित : शनिबार, पुस २६ २०८२१४:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend