काठमाडौं- 'भन्न मन लाग्छ, लामा बाउँठिएका बाटामा हिँड्दै सोध्न मन लाग्छ, खसेर प्वाट्ट फुटेका असंख्य थोपाहरू सोहोरेर केही बुझ्न खोजौँ झैँ लाग्छ। आवाज, बतास, शब्द, संकेत सबैमा म कहाँ छु। यतै कतै यही संसारमा के के खोजिबस्ने एक उत्सुक मान्छे।'
सायद अशोकले आफ्नाबारे भन्न प्रयोग गरेका यी भाव अरू धेरैका लागि पनि मिल्छ। विशेषत: कला साहित्य र पुस्तकसँग नजिक हुन चाहनेका लागि। किताबबाट संसार हेर्नेका लागि। किताबभित्र आफैलाई खोज्नेका लागि। किताबबाटै विगत देख्ने र किताबबाटै भविष्य सोच्नेका लागि।
रस बसेकालाई थाहा छ, आफ्नो हातमा रहरलाग्दोगरि लिएर किताबभित्र हराउनु कति मज्जा हुन्छ। आफ्नो चाहनाका किताबहरू पढ्ने रहर देशभित्र केही सहज भए पनि परदेशिएका नेपालीका लागि उति सहज छैन। परदेशमा रहँदा धेरैले सम्झने विषय हो-आफ्नो भाषाका किताब। आफू हुर्किबढेको समाजको किताब। आफूले पृष्ठभूमिमा छाडिहिँडेको गोरेटो देखाउने पृष्ठहरू।
यसैले त होला, पढ्न मन गर्नेहरू देशबाट परदेशमा कोही आउँदैछ भन्ने सुनेपछि किताबको नाम टिपाइहाल्छन्। तर किताबको रहरमा बेलाबखत कोही आउला र मगाऔँला भनि पर्खिबस्नु सहज छैन। यसैले सायद अशोक र समुना केसीले अमेरिकामा ‘कित्ली क्याफे एण्ड ग्यालरी’लाई ब्युँताएका छन्। जसमा अहिले सुरुवातमा जोडिएको छ नेपाली किताबको अमेरिकी बजार। जहाँ अनलाइनबाट मगाउन सकिन्छ पढ्न मन भएका नेपाली किताब।
000
दशकअघि नेपाली रंगमञ्चको नजिक रहेकाका लागि ‘कित्ली क्याफे एण्ड ग्यालरी’ परिचित नै हुनुपर्छ। एउटा सिर्जनशील ठाउँको खोजिमा जन्मिएको थियो ‘कित्ली क्याफे एण्ड ग्यालरी’।
'घरमा बसेर सिर्जनशील माहोल बनाउन सहज भइरहेको थिएन। त्यो समय अरू कुनै कार्यालयमा काम गरिरहेका पनि थिएनौँ, त्यही भएर एउटा कुनै ठाउँको खाँचो भइरहेको थियो। घर र कार्यालयबाहेकको विकल्प, जहाँ अलिकति स्वतन्त्र भएर आफ्नो सुविधाअनुसार धेरै कुरा गर्न सकौँ' कित्ली क्याफे एण्ड ग्यालरी स्थापना हुँदाको समय सम्झँदै अशोकले सुनाए।
काठमाडौंको सुन्धारास्थित काठमाडौं मलको सबैभन्दा माथिल्लो तलामा स्थापित तत्कालीन ‘थिएटर मल’को बार्दली। जहाँबाट प्रस्ट देखिन्थ्यो भूकम्पले ढल्नुअघिको धरहरा। भूकम्पले भीमसेनले बनाएको साच्चैको धरहरा नामेट भएसँगै कित्ली क्याफे एण्ड ग्यालरी पनि थोरैथोरै धुमिल हुँदै गयो। त्यसपछि भारतीय नाकाबन्दीले त उठ्नै अप्ठ्यारो हुनेगरि हरायो- कित्ली।
'पहिले पनि रंगकर्मसँग सम्बन्धित मान्छेहरू बाहिरका चिया पसलमा बसेर कुराकानी गर्ने, कामबारे छलफल गर्ने त गरिरहेका हुन्थ्यौँ। त्यसलाई किन व्यवस्थित नगर्ने त भनेर एउटा सोच आयो, तब कित्ली क्याफे एण्ड ग्यालरी बनायौँ,' सुरुवाती उद्देश्य सुनाउँदै अशोक भन्छन्, 'त्यसले एउटा ठाउँमा चिया पसल पनि भयो। जहाँ किताबहरू राख्ने र फिल्मका डिभीडीहरू राख्ने। त्यसले गर्दा रंगमञ्च र चलचित्रसँग सम्बन्धित मान्छेहरू त आइ नै हाल्नुहुन्छ अरू मानिसहरू पनि आउनुहुन्छ, त्यहाँ राम्रो खालका कुराकानी होस् विचारको आदानप्रदान होस् भन्ने थियो।'
उद्देश्य अनुसार नै थिएटर मलको बार्दलीमा रंगकर्म मन पराउने, पुस्तक मन पराउनेहरूको राम्रै जमघट हुन थालिसकेको थियो। त्यससँगै बत्तिसपुतलीमा रहेको शिल्पी थिएटर परिसरमा पनि कित्ली क्याफे एण्ड ग्यालरी सुरू भइसकेको थियो। तर भूकम्प र नाकाबन्दीको कहरले कित्ली क्याफे एण्ड ग्यालरी बन्द गर्नुपर्ने स्थितिमा पुर्याइदियो।
चिया घरको रुपमा सञ्चालित कित्लीले आफूलाई चलचित्र तथा किताब संग्रह गरेर पुस्तकालयका रुपमा स्थापना गराउने प्रयाससमेत गरेको थियो। जहाँ चिया पिउँदै किताब पढ्ने र चलचित्र हेर्ने अवसर मिल्थ्यो।
समय समयमा रंगमञ्च, चलचित्र तथा कलासाहित्यका विविध विषय तथा आयामबारे छलफलसमेत चलाउन सक्रिय संस्थाले छोटो चलचित्र ‘गाँठो’ समेत बनाएको थियो। नेपालसहित विदेशमा विभिन्न चलचित्र महोत्सवहरूमा सहभागी गाँठो अहिले दक्षिण एसियाली फिल्मको महोत्सव तथा प्रदर्शन गर्ने संस्था ‘तस्बिर'ले आफ्नो ‘ओटीटी’ माध्यममा प्रदर्शनमा राखेको छ।
000
कित्ली क्याफे एण्ड ग्यालरीमार्फत नेपालमा गरिरहेको काम नै अहिले अमेरिकामा रहेका अशोक र समुनाले ब्युँताएका हुन्। जसमा अहिले किताबको काममात्र भइरहेको भए पनि विस्तारै यसलाई वृहत बनाउँदै लैजाने समुना बताउँछिन्।
नेपालमा सञ्चालनमा रहँदा आफ्ना नियमित ग्राहकलाई सःशुल्क सदस्यतासमेत वितरण गर्ने संस्थाले क्याफे सञ्चालन तथा सदस्यता वितरणबाट संकलितमध्ये पाँच प्रतिशत रकम जम्मा गरी नाटक तथा अन्य कलात्मक गतिविधिका लागि आर्थिक खाँचोमा परेका व्यक्ति तथा समूहलाई सहयोगसमेत गर्ने गर्थ्यो।
त्यसैअनुरुप आकांक्षा कार्की निर्देशित ‘दयालु रुख’ र नम्रता केसी निर्देशित ‘स्वान लेक’को निर्माणका लागि आर्थिक सहयोग प्रदान गरिएको कित्ली क्याफे एण्ड ग्यालरीको सञ्चालक कम्पनीका रुपमा हालै अमेरिकामा दर्ता गरिएको ‘समुना इन्क’ की कार्यकारी निर्देशक समुनाले बताइन्। उनले आर्थिक सहयोगको काम आफूहरू अमेरिका आए पनि जारी रहेकोसमेत सुनाइन्।
उनी भन्छिन्- ‘किताब कारोबार एउटा पाटो भयो, हाम्रो अर्को मुख्य काम सहयोग कोषसमेत हो। जसलाई हामीले अलि फराकिलो तवरमा विस्तार गर्ने उद्देश्यले यसलाई फेरि सक्रिय बनाएका छौँ। अब भने कलात्मक गतिविधिका लागि मात्र नभइ सिर्जनात्मक व्यवसाय गर्न चाहने नेपाल या नेपालबाहिर बस्ने नेपालीका लागि सहयोग उपलब्ध गराउने छौँ।’ यसका लागि किताब बिक्रीबाट आएको पाँच प्रतिशत रकम कोषमा जम्मा गरिने उनले बताइन्।
अमेरिकामा बसोबास गर्ने नेपालीका लागि प्रौढ साहित्य मात्र नभइ बाल साहित्यका पुस्तकमा समेत जोड दिइएको संस्थाका सञ्चालक अशोकले जानकारी दिए। नेपालमा जस्तै फेरि पनि सदस्यता दिने र एउटा समूहका रुपमा सबैलाई जोड्दै लैजानेबारे आफूहरूले योजना बनाइरहेको उनले बताए।
नेपालमा हुँदा उनीहरूले एक हजार रुपैयाँ शुल्क तिरेर सदस्यता लिन पाउने व्यवस्था गरेका थिए। सदस्यता लिएपछि क्याफेमा ६० प्रतिशत छुट पनि पाइन्थ्यो। सदस्यहरूको जन्मदिन मनाउने, भेटघाट, गफगाफ र रमाइलो माहोल बढिरहेको थियो।
अशोक भन्छन्- 'सदस्यता लिनु भनेको यो समूहसँग म पनि छु भन्ने नजिकपन हुने रहेछ। कतिपयले हाम्रो काममा ऊर्जा थप्न पनि सदस्यता लिइदिनुभएको थियो। सदस्य बनाउँदा चलाउने दैनिक खर्च र मानिसको विश्वास जित्ने काम भइरहेको थियो। अब फेरि कुनै न कुनै रुपमा जोडिनका लागि सदस्यता दिनका लागि काम गर्नुपर्छ भन्ने लागिरहेको छ।'
अमेरिका नेपालमा गरेजस्तै गरी भौतिक रुपमा संरचनासहित काम गर्न व्यवहारिक रूपमा अहिले नै उति सहज नभएको अशोक बताउँछन्। त्यसैले अहिले 'डिजिटल' रूपमा किताबसँगको कामबाट पुरानो सोच जीवित बनाएको उनले बताए।
'डिजिटल माध्यममार्फत चिया बेच्न त सम्भव हुँदैन भन्ने लाग्यो। पहिले सुरू गर्दाको उद्देश्य किताब पढ्ने, रंगमञ्चको कुराकानी गर्ने विचारको आदानप्रदान गर्ने भन्ने नै थियो। त्यही भएर नेपाली किताब अमेरिकी बजारमा सहजै पाउन सकियोस् भनेर काम सुरु गर्यौँ' उनले भने।
यी सिर्जनशील दम्पतीले काम सुरु गरेको केही महिनामै नेपाली किताबको माग अमेरिकामा बढिरहेको छ। त्यसैले उनीहरू थप उत्साहित छन्।
'धेरैले नेपाली साहित्यका किताब दैलोमै आइपुग्नुलाई व्यावसायिकभन्दा बढी सामाजिक उत्तरदायित्वको रुपमा बुझिदिएकाले झनै बढी हौसला थपिएको छ', अशोकले भने, 'नेपाली साहित्यबाहेक नेपालबारे बुझ्न सघाउने नेपाली तथा अन्य भाषाका ऐतिहासिक, सामाजिक तथा मानवशास्त्रीय किताब पनि अब चाँडै नै उपलब्ध गराउने छौँ। साथै सहकार्य र एकल पहलमा चलचित्र निर्माणमा पनि काम गर्नेछौँ।'
000
नेपाली कला साहित्यसँग नजिक रहेका अशोक र समुनाले अमेरिकामा पनि देशसँग जोडिइरहन सक्ने गरी अरू कामहरू गरिरहेका छन्।
अमेरिकामा पढाइसँगै पढ्ने र सिक्ने क्रम विश्वविद्यालयको दायरामा मात्र सीमित राख्न उनीहरू चाहँदैनन्। केही सिर्जनशील काम गरौँ, केही सिकौँ भन्नेमा लागिरहेका छन्।
कुनै न कुनै हिसाबले कला क्षेत्रमा जोडिइरहौँ भनेर समुनाले दुईवटा छोटा चलचित्र बनाइन्। नियमित पडकास्टको काम पनि गरिरहिन्। 'एक्स्पर्ट फर्म नेपाल' नामक ग्लोबल इनिसिएटिभमा कम्युनिकेसन एण्ड मिडियामा काम सुरु गरिन्।
अशोकले पनि विश्व सिनेमाका उत्कृष्ट कामका बारेमा गन्यमान्य व्यक्तिहरूसँग भलाकुसारी गर्ने काम सुरु गरे। कुनै विशेष चलचित्रमा केन्द्रित रहेर उक्त चलचित्र मन पराइनुको साङ्गोपाङ्गो कुराकानी उनले गरे। त्यसमा उनीसँगै जोडिएका छन् नेपालमा नै रहेका फिल्ममेकर सन्देश अर्याल।
त्यसबाहेक पनि नेपाली सञ्चार माध्यममा अशोकले आफ्ना विचारहरू राखिरहे। विशेष गरी स्वच्छन्द लेखनको क्षेत्रमा आफ्ना भोगाइ, वरपर देखिएका विषयवस्तु र विगतलाई उनी निबन्ध शैलीमा मीठो गरी बुन्छन्। तीनै लेखनलाई उनले वाचन गरेर पडकास्ट पनि बनाए। यसरी नेपालमा हुँदा पछ्याइरहेको सिर्जनात्मक कामबाट उनी पर भएका छैनन्। अमेरिकामा सुरु गरिएको ‘कित्ली क्याफे एण्ड ग्यालरी’ त्यसैको रुप हो।
'कलाका विभिन्न विधामा जसरी कामहरू भइरहेको छ अहिले यो किताब बेच्ने पनि त्यसैलाई फैलाएको हो। किताबसँग आफू नजिक भएको हुनाले' उनले भने।
000
किताब पढ्नु अहिले खाएर अहिले नै च्वाट्ट भइहाल्ने विषय होइन। यो जीवनशैली हो। जीवन जिउने कला हो। अझ परदेशमा रहेर देशका बारे पढ्न सकिने किताबले त जीवनमा छुटिरहेका भिन्न आयामहरूलाई नजिक बनाइदिइरहन्छ।
अशोक पनि भन्छन्- देशमा रहेर भोग्दाको देश साह्रै नै नजिक भएर हेरिन्छ। देशभन्दा बाहिर रहेर देशलाई हेर्दा अलिकति पर बसेर हेरिन्छ। नजिक र पर बसेर हेरेको हेराइमा फरक हुन्छ नै। नजिक बसेर हेर्दा ड्याम्म सबैथोक आँखाअघि टासिन्छ। स्पष्ट नदेखिन सक्छ। तर अलिकति पर गएर हेर्दा त्यो भिजन स्पष्ट हुन्छ।
अहिले अशोकले परबाट देशलाई भिन्न रूपमा हेरिरहेका छन्। पहिले देशमा रहँदा दैनन्दिनका कुराहरूमा धेरै गुनासा थिए, अहिले उनीसँग ती गुनासा छैनन्। उनी प्रष्ट्याउँछन्, 'त्यसको मतलब केही कुराले छुँदैन भन्ने होइन। छोइरहेको हुन्छ।'
'नजिकबाट हेर्दा अलि बढी पूर्वाग्रही भइन सकिन्छ। मलाई राम्रो लाग्यो यसमा नराम्रो केही भन्नु हुँदैन भन्ने पनि हुन्छ। अर्को चाहिँ गनगन गरिरहने हुन्छ। दुवै नै 'वायसनेस' हो। यी दुवै अतिभन्दा अलिकति पर बसेर हेरेको अवस्था हो' उनले भने।
पर बसेर देश हेर्न सामाजिक सञ्जालका अतिरञ्जित उतारचढावले या जोडजाड पारेर बनाइएका खबरहरूले भन्दा रोजा किताबले नै राम्रो साथ दिइरहेको हुन्छ। यसैले त अमेरिकामा नेपाल जोड्न किताबहरूलाई सेतु बनाइरहेका छन् अशोक र समुनाले।
उनीहरूका लागि किताब हुनु भनेको एक्लो नहुनु हो। आँखिझ्याल हो। जहाँबाट चियाउन सकिन्छ हेर्न मन भएको विश्व। देख्न मन भएको देश। अब यस्तै हुनेछ परदेशमा रहेका अरू धेरैका लागि। आफैले चाहेको नेपाली किताबमार्फत।