काठमाडौं- ग्लोबल आईएमई बैंक र प्रभु बैंक उस्तै प्रकृतिका वाणिज्य बैंक हुन्। नाफामा ग्लोबल आईएमई बैंक अगाडि रहेको छ भने अन्य सूचकहरू दुवै बैंकको उस्तै नै छन्। चुक्ता पुँजी र शाखाका हिसाबले ग्लोबल बैंक नै अगाडि रहेको छ।
कुन बैंक कस्तो ?
प्रभु बैंक
प्रभु बैंकले तत्कालीन किस्ट बैंक एकाकार गरेपछि ग्र्याण्ड बैंकसँग मर्ज गरेको थियो। खासगरी पहिले प्रभु फाइनान्सबाट प्रभुले आफ्नो सेवा दिएको थियो। प्रभु बैंकमा खासगरी ग्र्याण्ड बैंक, किस्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर विकास बैंक र जेनिथ फाइनान्स समेत मर्ज भएका छन्। बैंकका २ सय १२ शाखा रहेका छन् भने ५५ वटा एस्कटेन्डेड काउन्टर र २ सय ४ वटा एटिएम बुथ रहेका छन्।
बैंकबाट हाल १४ लाख मानिसले सेवा लिइरहेका छन्। जसको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ रहेको छ। बैंकको डिभेन्चर र बोन्ड ५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ। निक्षेप संकलन दोस्रो त्रैमाससम्म १ खर्ब ६३ करोड ५९ लाख रुपैयाँ रहेको छ। त्यस्तै ऋणलगानी १ खर्ब ४२ अर्ब ३३ लाख रुपैयाँ रहेको छ।
बैंकको ६ महिनामा खुद ब्याजदर २ अर्ब ८२ करोड रुपैयाँ रहेको छ। बैंकको दोस्रो बजारमा पछिल्लो ५२ हप्तामा ५२५ रुपैयाँसम्म अधिकतम कारोबार हुँदा न्यूनतम २८५ रुपैयाँमा कारोबार भएको थियो। बैंकले १२.६३ प्रतिशत लाभांश सेयरधनीलाई दिएको छ।
बैंकको ६ महिनामा खुद नाफा १ अर्ब २६ करोड रुपैयाँ रहेको छ। वितरणयोग्य नाफा ५३ करोड ६१ लाख रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी १९.८६ रुपैयाँ रहेको छ। प्रति सेयर नेटवर्थ १४३.५३ रुपैयाँ रहेको छ। बैंकको बजार पुँजीकरण ३७ अर्ब ४७ करोड रुपैयाँ रहेको छ।
ग्लोबल आईएमई बैंक
जनता बैंक मर्ज गरेपछि चुक्ता पुँजी र नाफाका हिसाबले ग्लोबल सबैभन्दा ठूलो बैंक हो। ग्लोबल आईएमई बैंकको २८७ शाखा ५० एक्सटेन्डेड कार्यलय र २७४ शाखारहित सेवा समेत रहेको छ।
नाफामा पहिलो बनेपछि ग्लोबल आईएमई बैंक दोस्रो बजारमा पनि पहिलो हुने दाउमा लागेको छ। बैंकको सबै सूचकको सुधारले लगानीकर्ता उत्साहित देखिएका छन्। एकपछि अर्को सफलता हात पार्दै गएको ग्लोबल आईएमई बैंक ६ महिनाको विवरण हेर्दा नाफा धेरै कमाउनेमा पहिलो बनेको छ।
यसअघि एनआईसी एसिया बैंकको नाफा बढी हुने गरेकोमा ग्लोबल आईएमई बैंकले नबिल र एनआईसी एसिया बैंकलाई पनि पछि पारेको हो। योसँगै ग्लोबल आईएमई बैंक दोस्रो बजारमा पनि आकर्षक बन्दै जाने देखिएको छ। बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई १३.५ प्रतिशत लाभांश दिएको छ। वितरणयोग्य नाफामा उत्साहजनक वृद्धि गरेकोले पनि आगामी वर्षहरूमा ग्लोबल आईएमई बैंकले सेयरधनीलाई आकर्षक लाभांश दिने निश्चित रहेको छ।
बैंकको पछिल्लो ५२ हप्तामा अधिकतम ५१० रुपैयाँमा प्रतिकित्ता कारोबार भएको थियो। भने न्यूनतम २७५ रुपैयाँमा कारोबार भएको थियो। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०४ प्रतिशत बढी हो। खुद फि तथा कमिसन आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको नाफा बढ्न पुगेको हो।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २१.४० रुपैयाँबाट बढेर २२.३९ रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.५६ गुणा रहेको छ। भने प्रतिसेयर नेटवर्थ १४४.९७ रुपैयाँ रहेको छ। बैंकको चुक्ता पुँजी पनि २३ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। बैकको बजार पुँजीकरण ७५ अर्ब ६७ करोड रुपैयाँ रहेको छ।