काठमाडौं- सप्तरीको राजविराज नगरपालिकामा ३ सय बेडको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल निर्माण हुने भएको छ।
अस्पताल निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट वन तथा वातावरण मन्त्रालयले रायसुझावका लागि सार्वजनिक गरेको हो। रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयमा पेस भएको थियो।
अस्पताल निर्माणको प्रस्तावकमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति रहेको छ। स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल निर्माणको कुल लागत २५ अर्ब रुपैयाँ अनुमान गरिएको छ।
उक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल निर्माण गर्ने निर्णय २०७५ पुसमै मन्त्रिपरिषदबाट भएको थियो। सोहीअनुसार राष्ट्रिय स्वास्थ्य नीति तथा आर्थिक वर्ष २०७५/०७६ को सरकारको नीति तथा कार्यक्रमअनुरूप यो निर्णय भएको थियो।
प्रतिष्ठानअन्तर्गत मधेश प्रदेशको सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नम्बर १० मा ३ सय बेडको शिक्षण अस्पताल निर्माण हुन लागेको हो।
प्रतिष्ठानमा स्वास्थ्य सेवासम्बन्धी चिकित्सा विज्ञान, दन्त चिकित्सा, नर्सिङ, जनस्वास्थ्य, चिकित्सा प्रविधि, फार्मेसी तथा प्रयोगशाला विज्ञान जस्ता विषयहरू अध्यापन गरिने रिपोर्टमा उल्लेख छ।
प्रस्तावित आयोजनको लागि नेपाल सरकारबाट ६१ बिघा ६ कठ्ठा जग्गा ३० वर्षका लागि लिजमा उपलब्ध गराउने निर्णयसमेत भइसकेको छ।