काठमाडौं- विश्वकै मूल्यवान कम्पनी बनिसकेको एनभीडीया पछिल्लो एआई क्रान्तिको केन्द्रमा छ। जब प्रविधिको दुनियाँमा एआई मूलधार बनेर आयो त्यहीबेलादेखि एनभिडियाको सेयर मूल्यमा उछाल आइरहेको छ।
एनभीडीया यस्तो कम्पनी बनेको छ कि यसले साझेदारी नगर्ने अब सायदै कुनै क्षेत्रका टप कम्पनी बाँकी होलान्। हार्डवेयरदेखि सफ्टवेयर, रिटेलदेखि अन्तरिक्षसम्म काम गर्ने उद्योगले साझेदारीको हात अघि बढाएका छन्। यसैबीच पछिल्लो समय एनभीडीयाले एक औषधि निर्माता कम्पनीसँग साझेदारी गरेको खबर आएको थियो।
औषधि विकास तथा उत्पादन कम्पनी एली लिली र एनभीडीयाबीच विश्वकै शक्तिशाली फार्मा सुपरकम्प्युटर बनाउने सम्झौता भएको थियो। यही जनवरीदेखि यो सुपर कम्प्युटर सञ्चालनमा आउने भनिएको छ। यो यस्तो सुपर कम्प्युटर हो जसले औषधिको खोज र विकासमा काम गर्नेछ।
रसायन र जीव विज्ञानका अनुको घुलनकै बीचबाट विकास हुने औषधिलाई अब कम्प्युटर मोड्युलमा आधारित खोजपछिको परीक्षण गर्ने मोडलमा विश्वका अग्रणि औषधि कम्पनीले काम गरिरहेका छन्। सबैतिर एआईको प्रयोग बढिरहेको र क्वान्टम कम्प्युटरको प्रयोगपछि यसमा क्रान्ति हुने भनेर भनिरहेको समयमा एआईले नै एउटा सानोतिनो क्रान्ति हुने विश्वास बढ्दै गएको छ।
रसायन र जैविक तथ्यांकलाई एकै ठाउँमा राखेर त्यसको विश्लेषण गर्दै औषधिको खोजमा एआईको प्रयोग बढिरहेको छ। यसका लागि कतिपय कम्पनीले यसअघि नै काम सुरू गरिसकेका छन्। अहिलेसम्मका केही परिणामले औषधिको खोजको समय छोट्याउने र लागत घटाउने सम्भावनामात्र होइन यसले असीमिति सम्भावनाको ढोका खोल्ने सम्भावना बढेर गएको छ।
अमेरिकाकै अर्को कम्पनी इन्सिलीको मेडिसिनले त सन् २०१९ देखि नै यसको प्रयोगमात्र होइन अहिलेसम्म ४० वटा औषधि एआईकै सहयोगमा विकास गरिरहेको छ। यसको प्रयोगबाट के पाइएको छ भने ५ वर्षसम्म लाग्ने प्री ट्रायलको काम अहिले १८ महिनामै सकिएको छ।
आजका दिनमा विश्वमा कुनै पनि औषधिको ट्रायलसम्म पुगेर परीक्षण पास हुने दर न्यून छ। ९० प्रतिशतको असफलता दर रहेको छ। यही कारणले गर्दा एउटा सफल औषधि विकासको लागत करिब ३ अर्ब डलरसम्म हुने गरेको छ। तर यही असफलता दर घटाउनमा एआईको सहयोग पुग्ने अहिलेसम्मका केही अनुसन्धानले देखाएका छन्।
'प्रिक्निनिकल' (मानव परीक्षण सुरु हुनु अघिको चरण) चरणलाई लाई ३-५ वर्षबाट घटाएर १२-१८ महिनामा झारिदिएको छ। त्यस्तै सफलता दर पनि बढाएको छ। यसबाट लागत घट्ने अनुमान गरिएको छ। यही कारणले औषधि उद्योगमा एआईको प्रयोग बढ्दै गएर अर्बौंको लगानी थपिने प्रक्षेपण छ।
नयाँ औषधिको डिजाइन सामान्यतया साना जैविक अणुहरूको परीक्षणबाट सुरु हुन्छ। एआईले अरबौं अणुहरूको भण्डारणलाई एकसाथ विश्लेषण गर्नसक्छ। सफ्टवेयरमार्फत अणुको क्षमता, घुलनशीलता र विषाक्तता जस्ता गुणहरू परीक्षण गर्न सक्छ। एआईले परीक्षणमा पनि सुधार गरिरहेको पाइएको छ।
औषधि विकासमा अहिलेको एआई प्रयोग परीक्षणका क्रममा छ। एआई कम्पनी र औषधि कम्पनीबीचको यो बाध्यात्मक सम्बन्ध पनि हो। किन भने उनीहरूलाई जैविक डेटा चाहिएको छ यी नयाँ तरिकाहरूले औषधि कम्पनीलाई प्रविधि। केही वर्षमै यसको औद्योगिक उपयोग सम्भव हुनेछ।
वर्षौंदेखि नसुल्झिएका खोज छोटै समयमै हुने आशामात्र एआईले देखाएको छैन। अहिलेको समयमा गरिब मुलुकका लागि जेनेरिक नहुँदासम्म पहुँच बाहिर हुने कतिपय औषधि पनि सर्वसुलभ हुनेछ।