काठमाडौं- भूगर्भ सिमेन्ट लिमिटेडले चुक्ता पुँजी वृद्धि गर्दै एक अर्ब रुपैयाँ पुर्याउने भएको छ। सोही पुँजीमार्फत आधुनिक रोटरी क्लिंकर प्लान्ट स्थापना गर्ने योजना अघि बढाएको छ।
दीर्घकालीन औद्योगिक विस्तार, उत्पादन लागत न्यूनीकरण र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिलाई लक्ष्य गर्दै कम्पनीले पुँजी संरचना प्रक्रिया अगाडि बढाएको हो।
कम्पनीको सातौँ वार्षिक साधारणसभाले हाल कायम ५० करोड ५० लाख रुपैयाँ चुक्ता पुँजीको ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेसँगै पुँजी वृद्धिको औपचारिक प्रक्रिया सुरु भएको हो।
हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ८० करोड ८० लाख रुपैयाँ पुग्नेछ। त्यसपछि कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत साधारण सेयर (आईपीओ) जारी गरी चुक्ता पुँजी एक अर्ब एक करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ।
कम्पनीले सर्वसाधारण सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवश्यक प्रक्रिया पूरा गरिसकेको जनाएको छ। व्यवस्थापनका अनुसार चुक्ता पुँजी वृद्धिको मुख्य उद्देश्य उत्पादन क्षमतामा गुणात्मक र परिमाणात्मक फड्को मार्नु भएको कम्पनीको दाबी छ।
रोटरी प्लान्टमार्फत उत्पादन संरचनामा रूपान्तरण
पुँजी वृद्धिसँगै भूगर्भ सिमेन्टले हालको उत्पादन संरचनालाई रूपान्तरण गर्दै प्रतिदिन ८०० देखि १,००० मेट्रिक टन क्षमताको आधुनिक क्लिंकर उत्पादन गर्ने रोटरी प्लान्ट स्थापना गर्ने तयारी गरेको छ। हाल कम्पनीको क्लिंकर उत्पादन क्षमता ३०० मेट्रिक टन र सिमेन्ट उत्पादन क्षमता ५०० मेट्रिक टन प्रतिदिन रहेको छ।
रोटरी प्लान्ट सञ्चालनमा आएपछि कम्पनी आत्मनिर्भर क्लिंकर उत्पादनतर्फ अग्रसर हुने, आयातमा निर्भरता घट्ने र सिमेन्ट उत्पादन लागत उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ। यसले बजारमा मूल्य प्रतिस्पर्धा र गुणस्तर दुवै पक्षमा कम्पनीलाई थप बलियो बनाउने कम्पनीको दाबी छ।
भूगर्भ सिमेन्टले आवश्यक चुनढुंगा अर्घाखाँचीको नरपानी-रखाचीकोट क्षेत्रमा रहेको आफ्नै खानीबाट उत्खनन गर्दै आएको छ। उक्त क्षेत्रमा करिब १७८.९८ मिलियन मेट्रिक टन चुनढुंगा भण्डार रहेको छ। जसमा १६१.०८ मिलियन मेट्रिक टन खानीयोग्य रहेको कम्पनीको विवरण छ। दीर्घकालीन उत्पादन विस्तारका लागि पर्याप्त कच्चा पदार्थ सुनिश्चित भइसकेको कम्पनीको भनाइ छ।
कम्पनीको आधुनिक उत्पादन फ्याक्ट्री कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका-६ मा अवस्थित छ भने केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका-११ स्थित सिटिसी मलमा रहेको छ।
उत्पादन विस्तारअघि नै भूगर्भ सिमेन्टको वित्तीय अवस्था क्रमशः सुदृढ बन्दै गएको देखिन्छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कारोबार १ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशतले बढी हो। सोही वर्ष कम्पनीले ३ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्म तिर्नुपर्ने सम्पूर्ण ब्याज तथा बक्यौता रकम समयमै चुक्ता गरिसकेको जनाएको छ, जसलाई व्यवस्थापनले पुँजी वृद्धिका लागि सकारात्मक आधारका रूपमा लिएको छ।
रोटरी प्लान्टसहितको विस्तार योजनाले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीमा उल्लेखनीय वृद्धि गर्ने अपेक्षा गरिएको छ। हाल कम्पनीले फ्याक्ट्री, कार्यालय र खानी क्षेत्रमा सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ भने ढुवानी, वितरण र डिलर नेटवर्कमार्फत हजारौँ रोजगारी सिर्जना भएको छ।
भूगर्भ सिमेन्टले प्रत्यक्ष रूपमा फ्याक्ट्री, कार्यालय र खानी क्षेत्रमा एक सयभन्दा बढी नेपालीलाई रोजगारी प्रदान गर्दै आएको छ। ढुवानी, वितरण र डिलर नेटवर्कमार्फत अप्रत्यक्ष रूपमा हजारौँ रोजगारी सिर्जना भएको कम्पनीको दाबी छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले खानी क्षेत्रका विद्यालयमा शिक्षकको वार्षिक तलब व्यवस्थापन, विद्यार्थीलाई न्यानो कपडा वितरण, वृक्षरोपण कार्यक्रम, स्थानीय कर भुक्तानी तथा सामाजिक सुरक्षा कोषमा योगदान गर्दै आएको अध्यक्ष पौड्यालले जानकारी दिए।
उत्पादन वृद्धि, पुँजी सुदृढीकरण, कर्जा व्यवस्थापन र दीगो औद्योगिक विकासको स्पष्ट योजनासहित भूगर्भ सिमेन्टले पश्चिम नेपालको निर्माण बजारमा बलियो, भरपर्दो र गुणस्तरीय सिमेन्ट आपूर्ति गर्ने समेत अध्यक्ष पौड्यालले बताए।