काठमाडौं- सरकारको पुँजीगत खर्च कमजोर हुनु र निर्माण क्षेत्र सुस्त रहेको कारण उपभोग घट्दा उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालका उद्योगको औसत औद्योगिक क्षमता उपयोग ४४.५ प्रतिशतमा सीमित भएको छ। अघिल्लो वर्ष २०८०/८१ मा औसत क्षमता उपयोग ४८.३ प्रतिशत रहेको थियो।
क्षमता उपयोगको आधारमा टायर तथा ट्युब उत्पादन गर्ने उद्योगको क्षमता सबैभन्दा बढी ९०.७ प्रतिशतमा पुगेको छ। अर्कोतर्फ, वनस्पति घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग मात्र १.१ प्रतिशतमा सीमित रहेको छ।
प्रतिवेदनअनुसार वनस्पति घिउ, भटमासको तेल, बिस्कुट, चाउचाउ, बियर, चुरोट, सिन्थेटिक कपडा, लत्ता कपडा, कच्चा छाला, प्लाइउड, औषधि, साबुन, प्लास्टिकका सामान, फलाम तथा स्टिलजन्य उत्पादन, जिआई पाइप र ट्रान्सफर्मर उत्पादन गर्ने उद्योगको क्षमता उपयोग बढेको छ।
यद्यपि तोरीको तेल, प्रशोधित दूध, चामल, गहुँको पिठो, पशुदाना, चिनी, चकलेट, प्रशोधित चिया, मदिरा, हल्का पेय पदार्थ, जुत्ता, चप्पल र बिजुली उत्पादन गर्ने उद्योगको क्षमता घटेको देखिएको छ।
प्रदेशगत रूपमा मधेश र कर्णाली प्रदेशका उद्योगको औसत क्षमता उपयोग बढेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा घटेको छ।
समीक्षा वर्षमा उद्योग विभागमा कुल ७ सय उद्योग दर्ता भएका छन्। यसमा पर्यटन क्षेत्रमा २३५, सेवा क्षेत्रमा ११०, उत्पादनमूलक क्षेत्रमा १०६, ऊर्जामा ३८, सूचना तथा प्रविधिमा १८५, कृषि तथा वनमा १२, पूर्वाधारमा २ र खनिजजन्य क्षेत्रमा १२ उद्योग रहेका छन्। यीमध्ये ६८ ठूला, ५४ मझौला र ५७८ साना उद्योग रहेका छन्।
दर्ता उद्योगमार्फत २५ खर्ब ८१ अर्ब १८ करोड रुपैयाँ बराबरको कुल पुँजी परिचालन भएको छ भने ३५ हजार १४१ जनालाई रोजगारी प्रस्ताव गरिएको छ। कुल दर्ता उद्योगमध्ये ५४३ उद्योग बागमती प्रदेशमा दर्ता भएका छन्।
उद्योग क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले प्रवाहित गरेको कर्जा २०८२ असार मसान्तमा १६ खर्ब ९९ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.९५ प्रतिशतले बढी हो।
औद्योगिक कर्जामध्ये सबैभन्दा बढी ३५.२७ प्रतिशत गैर–खाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा, २६.२६ प्रतिशत विद्युत, ग्यास तथा पानीसम्बन्धी उद्योगमा, २१.८५ प्रतिशत कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा, ११.७० प्रतिशत निर्माणसम्बन्धी उद्योगमा, ४.२३ प्रतिशत धातु, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा र सबैभन्दा कम ०.६९ प्रतिशत खानीसम्बन्धी उद्योगमा प्रवाह भएको छ।
प्रदेशगत औद्योगिक क्षमता उपयोग (प्रतिशत)
| प्रदेश | आर्थिक वर्ष २०८०/८१ | आर्थिक वर्ष २०८१/८२ | परिवर्तन |
|---|---|---|---|
| कोशी प्रदेश | ४४.३ | ४२.४ | -१.९ |
| मधेश प्रदेश | ५०.८ | ५५.० | +४.२ |
| बागमती प्रदेश | ५२.६ | ५०.६ | -२.० |
| गण्डकी प्रदेश | ५५.०२ | ४४.०८ | -१०.९४ |
| लुम्बिनी प्रदेश | ५०.४२ | ४०.७५ | -९.६७ |
| कर्णाली प्रदेश | ४८.७ | ५६.४ | +७.७३ |
| सुदूरपश्चिम प्रदेश | ५०.४२ | ३७.२५ | -१३.१७ |