काठमाडौं- काठमाडौं महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै तथ्यांक प्रदान गर्ने अत्याधुनिक 'सीसीटीभी क्यामेरा' जडान गरिएको छ। जडान भएका हिक भिजनका ती २९ क्यामेरा एआई प्रविधिमा आधारित छन्।
सूचना प्रविधिका नवीनतम उपकरण उत्पादन गर्दै आएको चीनकोे विश्वप्रसिद्ध आईटी कम्पनी 'हिक भिजन ब्राण्ड' द्वारा उत्पादित क्यामेरा हुन्। अति विकसित सहरमा विशेष गरेर शान्तिसुरक्षा, सडक दुर्घटनालगायत अन्य जानकारीका लागि यस्ता क्यामेरा जडान गरेर सहायता लिइन्छ।
ती क्यामेरा एआई प्रविधिमा आधारित 'ओपन नेटवर्क भिडियो इन्टरफेस फोरम' (ओएनभीआईएफ) प्रोटोकलका भएका 'हिक भिजन ब्राण्ड' को नेपालको आधिकारिक राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेशन ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारीले जानकारी दिए।
उनका अनुसार आठ मेगापिक्सेल र चार मेगाापिक्सेलका ती क्यामेराले ५ सय ५० मिटरसम्म दूरीका दृश्यहरू स्पष्ट रूपमा कैद गर्न सक्दछन्। अत्याधुनिक 'बुलेट क्यामेरा' ले ६० मिटरसम्मको स्पष्ट दृश्य दिन्छन्।
उनले भने, 'इन्बिल्ट एआई फिचर भएका यी क्यामेराले सवारीसाधनको नम्बर प्लेट, मानिसको अनुहार, मानिससहित सवारीसाधनको आवतजावत हेर्न, गणना गर्न र स्थिति स्पष्ट खिच्न सक्छन्। साथै पिटिजेड (स्वचालित रूपमा दायाँ-बायाँ घुम्ने, तलमाथि सर्ने र जुम इन र जुम आवट ) हुने यी क्यामेराबाट महत्त्वपूर्ण जानकारी , सूचना प्राप्त गर्न सहज हुनेछ।'
अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा हालै आयोजित कार्यक्रममा ती क्यामेरा काठमाडौं महानगरपालिका वडा नम्बर ३० को कार्यालयलाई हस्तान्तरण गरिएको म्याक्सिमा मल्टिनेशन ट्रेडिङ प्रालिका निर्देशक कमल तामाङले जानकारी दिए।
सो अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगरलाई प्रविधिमैत्री बनाउँदै लैजाने नीतिअनुसार महानगरभित्र फाइबर सञ्चालन प्रणाली (ताररहित) बाट सीसीटीभीमार्फत निगरानी गर्ने लक्ष्य रहेको जानकारी दिए। काठमाडौं महानगरपालिका-३० का वडाध्यक्ष दलबहादुर कार्कीले अब सुरक्षाका अवस्था र अन्य निगरानीका काम सिसिटिभी क्यामेरामार्फत निगरानीकक्षबाट गर्न सकिने बताए।
काठमाडौं महानगरपालिका-३० का वडा सचिव देवराज जोशीका अनुसार करिब ७० लाख रुपैयाँको लागतमा नयाँ किरण अल नेपाल जेभीबाट सीसीटीभी जडानको काम गराइएको हो।
महानगरीय प्रहरी वृत्त माली गाउँका प्रमुख प्रहरी नायब उपरीक्षक धनबहादुर बोहराले सीसीटीभी क्यामेरा तेस्रो आँखा भएको बताए। उनका अनुसार यस्ता क्यामेराबाट कुनै स्थानमा घटना भएमा, अपराध भएमा त्यस्ता अपराधीलाई पक्राउ गर्ने, दुर्घटना भएमा तत्काल उद्धार गर्ने लगायतका काममा सहज हुन्छ। रासस