काठमाडौं- अमेरिकाले नेपाललाई ७७ स्वदेशी वस्तु निर्यातमा उपलब्ध गराउँदै आएको शून्य भन्सार (ड्युटी फ्री) सुविधा औपचारिक रूपमा समाप्त भएको छ। उक्त सुविधा गएको बुधबारदेखि सकिएको हो।
२०७२ सालको विनाशकारी भूकम्पपछिको आर्थिक पुनरुत्थानमा सघाउने उद्देश्यले अमेरिकाले सन् २०१५ देखि २०२५ सम्म लागु हुने गरी ‘नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम’ अन्तर्गत ७७ प्रकारका नेपाली वस्तुमा शून्य भन्सार सुविधा उपलब्ध गराएको थियो। सुविधा पाएका अधिकांश वस्तुहरूको निर्यात अवस्था न्यून नै रहेको तथ्यांकले देखाएको छ।
फागुन २०७२ मा अमेरिकी कांग्रेसले कानून बनाएरै नेपाललाई उक्त सुविधा उपलब्ध गराए पनि १० वर्षको अवधिमा ७७ मध्ये केवल २९ वस्तु मात्र अमेरिकामा निर्यात भएका छन्। बाँकी ४८ वस्तुको निर्यात भने पूर्ण रूपमा शून्य रहेको व्यापार प्रवर्द्धन तथा निकासी केन्द्र (टीपीईसी) को तथ्यांकले देखाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अप्रिलदेखि नेपालबाट निर्यात हुने वस्तुमा १० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने निर्णय गरेका छन्। यसअघि ७७ वस्तुमा शून्य भन्सार सुविधा लागु थियो।
टीपीईसीका अनुसार आर्थिक वर्ष २०७३/७४ मा अमेरिकामा ८७ करोड ४४ लाख १२ हजार रुपैयाँ बराबरको नेपाली वस्तु निर्यात भएको थियो। सो निर्यात आव २०७४/७५ मा घटेर ७६ करोड ६९ लाख ८९ हजार रुपैयाँमा सीमित भयो भने आव २०७५/७६ मा अझै घटेर ६७ करोड १२ लाख तीन हजार रुपैयाँमा झरेको थियो।
आव २०७६/७७ मा निर्यात केही बढेर ६८ करोड ४८ लाख १८ हजार रुपैयाँ पुगे पनि आव २०७७/७८ मा पुनः घटेर ६० करोड ६१ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ।
पछिल्ला तीन वर्षमा भने निर्यातमा सुधार देखिएको छ। आव २०७८/७९ मा एक अर्ब १३ करोड २६ लाख ३६ हजार रुपैयाँको निर्यात भएकोमा आव २०७९/८० मा बढेर एक अर्ब ६० करोड रुपैयाँ पुगेको थियो। तर आव २०८०/८१ मा घटेर एक अर्ब २५ करोड ८६ लाख ४४ हजार रुपैयाँमा झरेको निर्यात आव २०८१/८२ मा थोरै बढेर एक अर्ब २६ करोड ८४ लाख ६३ हजार रुपैयाँ पुगेको छ।
कुन-कुन वस्तुमा थियो सुविधा?
अमेरिकाले छाला, कटन, वनस्पतिबाट बनेका लगेज, सुटकेस, हेडब्यान्ड, निडलक्राफ्ट, पन्जा, सल, गलबन्दी, कार्पेट, ट्राभल ब्याग, पर्स, ब्ल्याङ्केट, खाद्यान्न बोक्ने झोला, विभिन्न रेसाका उत्पादन तथा शिरपोसका सामान गरी नौ समूहका ७७ वस्तुमा भन्सार छुट सुविधा दिएको थियो।
तर व्यावसायिक झोला, लेदर तथा प्लास्टिक पर्स, हाते झोला, डिम्बा, हेडक्याप, ओछ्याउने दरी, ट्राभल ब्याग, पन्जा, गल्फ झोला, टेक्सटाइलका केही सामग्री तथा टोपीजस्ता वस्तु भने सुविधा हुँदाहुँदै पनि निर्यात हुन सकेनन्।
निर्यात भएका वस्तुमा छाला तथा कटनजन्य सामग्री, वनस्पतिबाट बनेका लगेज, ब्यागेज प्रयोजनका उत्पादन, फ्लोर कभरिङ सामग्री, हातले बुनेका सल–गलबन्दी, राडीपाखी, खेलकुद झोला, खाद्यान्न बोक्ने झोला, सल ब्ल्यांकेट, विभिन्न रेसाका सामग्री तथा शिरपोसका सामान रहेका छन्।
विश्लेषकहरूका अनुसार निर्यातयोग्य वस्तुको उपयुक्त छनोट नहुनु, ठूलो मात्रामा उत्पादन गर्न नसक्नु, छुट सुविधाबारे व्यवसायीलाई पर्याप्त जानकारी नहुनु, कुन एचएस कोडका वस्तुमा सुविधा लागू हुन्छ भन्ने स्पष्ट नहुनु, आवश्यक कागजात पूरा गर्न कठिनाइ हुनु तथा साना उद्यमीको पहुँच सीमित हुनुजस्ता कारणले अमेरिकी भन्सार छुट सुविधा प्रभावकारी रूपमा उपयोग हुन सकेन।
विशेषगरी गाउँघरमा महिलाले हातले उत्पादन गर्ने साना घरेलु सामग्रीसमेत सुविधा सूचीमा रहे पनि तिनको बजार पहुँच र निर्यात संयन्त्र कमजोर हुँदा अवसर गुमेको सरोकारवाला बताउँछन्।

