शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

फोन फोल्ड गर्ने सुविधा अब एप्पलमा पनि आउने, के हुँदैछ नयाँ?

बिहीबार , पुस १७ २०८२
फोन फोल्ड गर्ने सुविधा अब एप्पलमा पनि आउने, के हुँदैछ नयाँ?

एप्पलले ल्याउने भनिएको फोल्डेबल आइफोन लामो समयदेखि तीव्र प्रतीक्षाको विषय बनेको छ। जसको विकास प्रक्रिया धेरै वर्षदेखि चलिरहेको बताइन्छ।

काठमाडौं- प्रविधिमा भइरहेको विश्वव्यापी आविष्कार र विकास सन् २०२६ मा अझ व्यापक हुने अनुमान र अध्ययनहरू सार्वजनिक भइरहेका छन्। २०२६ मा केही भविष्यवाणी पूरा हुने स्पष्ट संकेतहरू पनि देखिएका छन्।

अबको प्रविधिको विकास एआई केन्द्रित त हुने छ नै त्यसबाहेक अन्य विकासहरू पनि देखिने छन्। एआईमा पहिलेभन्दा राम्रा विकास र सुधारका कामसँगै मानव पहिचान प्रणालीमा थप सुधार देखिने छ।

धेरैपटक ढिलाइ भएको सिरीको जेनेरेटिभ एआई अपडेटपछि एप्पलले अब नयाँ संरचनामा सिरीलाई पुनर्निर्माण गरिरहेको छ। एप्पलका अनुसार सिरीलाई अझै ‘स्मार्ट’ बनाउन आधारभूत संरचना नै फेरिँदैछ।

वर्षौंदेखि सामसुङ र अन्य एन्ड्रोइड निर्माताले फोनलाई फोल्ड गर्न मिल्ने सुविधामा ल्याइरहेका छन्। सन् २००० को सुरुवाती दशकको सम्झना दिलाउने गरी फोन फ्लिप गर्ने सुविधा अब एप्पलमा पनि आउने छ।

पहिलो फोल्डेबल आईफोन 'आईफोन १८ सिरिज'सँगै सार्वजनिक हुने अपेक्षा गरिएको छ। ब्लुमबर्गका अनुसार यो किताबझैँ खुल्ने डिजाइनको हुनेछ। यसमा धेरै क्यामेरा हुनेछन् र फेस आईडीको सट्टा टच आईडी प्रयोग हुनेछ।

जुन मूलतः दुईवटा फोन एकआपसमा जोडिएको जस्तै हुनेछ। त्यसरी फोल्ड हुने फोनको बीचमा देखिने चिरा घटाउन गहिरो इन्जिनियरिङ गरेको बताइएको छ।

अन्तर्राष्ट्रिय बजार अनुसन्धान संस्था आईडीसीका अनुसार २०२५ मा विश्वव्यापी फोल्डेबल स्मार्टफोन करिब १० प्रतिशतले बढेको अनुमान छ। आईफोन त्यसरी आएपछि यो वृद्धि २०२६ मा ३० प्रतिशतसम्म पुग्न सक्छ।

एप्पलले ल्याउने भनिएको फोल्डेबल आइफोन लामो समयदेखि तीव्र प्रतीक्षाको विषय बनेको छ। जसको विकास प्रक्रिया धेरै वर्षदेखि चलिरहेको बताइन्छ। कम्पनीले यसलाई आइफोन १८ शृंखलाअन्तर्गत सन् २०२६ को सेप्टेम्बरमा सार्वजनिक गर्ने लक्ष्य राखेको छ।

यसलाई झन् रोचक बनाउने पक्ष के हो भने एप्पलले 'वाइड फोल्डेबल' भनेर चिनिने उपकरण विकास गरिरहेको छ, जसको डिजाइन किताबको झैँ तेर्सो रूपमा खुल्ने खालको हुनेछ। 

एप्पलको फोल्डेबल प्रोटोटाइप हेर्दा सबैभन्दा पहिले ध्यान जाने कुरा यसको प्राथमिकताहरू हाल बजारमा रहेका अन्य फोल्डेबल उपकरणभन्दा कति फरक छन् भन्ने हो।  फोल्डेबल फोन सुरु भएदेखि नै समस्याका रूपमा रहेको स्क्रिनको क्रीज (मोड्दा देखिने रेखा) समाधान गर्न एप्पलले अत्यधिक ध्यान केन्द्रित गरेको देखिन्छ। जसमा लिक्विड मेटलका कम्पोनेन्ट र धातुको प्लेट प्रणाली प्रयोग गरिएको छ। 

डिभाइसको डिजाइनमा अत्यन्त पातलो प्रोफाइललाई उच्च प्राथमिकता दिइएको छ। म्याक रियुमर्सका अनुसार च्यासिसको मोटाइ घटाउन विशेष रूपमा धेरै ठूला डिजाइनको निर्णय गरिएको छ। अनफोल्ड अवस्थामा यो डिभाइसको मोटाइ केवल ४.५ मिमि मात्र छ, जसले यसलाई अहिलेसम्मकै सबैभन्दा पातलो आइफोन बनाउने सम्भावना छ। यसका डिस्प्लेहरू हालको आइफोन डिजाइनबाट उल्लेखनीय रूपमा फरक छन्। 

अनफोल्ड डिस्प्लेको ४:३ आस्पेक्ट रेसियो विशेष रूपमा उल्लेखनीय छ। यसले आइप्याडजस्तै अनुभूति दिन्छ। डिस्प्ले प्रविधि एप्पलको इन्जिनियरिङ टोली र सामसङ डिस्प्लेको सहकार्यबाट विकसित गरिएको हो तर प्यानल संरचना, लेमिनेसन विधि र सामग्री प्रक्रियामा एप्पलको नियन्त्रण कायम छ। चिनियाँ कम्पनी लेन्स टेक्नोलोजीसँगको साझेदारीमार्फत प्रयोग गरिएको अल्ट्रा-थिन ग्लासले टिकाउपन अर्को विशेष छ।

अहिले फेस आइडी वा अन्डर-डिस्प्ले फिंगरप्रिन्टको सट्टा एप्पलले साइड माउन्टेड टच आइडी सेन्सर रोजेको छ। यसको मुख्य कारण पातलो डिजाइनप्रतिको अडान मानिएको छ। फोल्डेबल डिभाइसमा टच आइडी धेरै अवस्थामा अझ उपयुक्त देखिन्छ। डिभाइस फोल्ड गरेर बाहिरी स्क्रिन प्रयोग गर्दा औँला स्वाभाविक रूपमा साइड बटनमै पर्छ। अनफोल्ड ट्याब्लेट मोडमा पनि, कुनै पनि ओरिएन्टेसनमा सेन्सर सजिलै पहुँचयोग्य रहन्छ। 

नयाँ डिभाइसमा ४८ मेगापिक्सेलका दुई रियर क्यामेरा छन्, तर टेलिफोटो लेन्स छैन। मुख्य र अल्ट्रावाइडमा ध्यान केन्द्रित गरिएको छ। अगाडिको क्यामेरामा एप्पलको प्राविधिक महत्वाकांक्षा झल्किन्छ भने भित्री स्क्रिनका लागि २४ मेगापिक्सेलको अन्डर डिस्प्ले क्यामेरा र बाहिरी स्क्रिनका लागि परम्परागत होल पञ्च क्यामेरा छ। २४ मेगापिक्सेलको अन्डर डिस्प्ले क्यामेरा हालको प्रविधिभन्दा ठूलो फट्को मानिन्छ। यसले भिडियो कल र सामग्री निर्माणका लागि परम्परागत फ्रन्ट क्यामेरासँग प्रतिस्पर्धा गर्न सक्ने गुणस्तर दिन सक्छ।


प्रकाशित : बिहीबार , पुस १७ २०८२१०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend