काठमाडौं- आधारभूत आवश्यकताको केन्द्रमा रहने घर निर्माण बढ्दो सहरीकरणसँगै आकासिँदो जग्गाको मूल्य र निर्माण सामग्रीको महँगीले धेरै परिवारको सपना बनिरहेको छ। घर कस्तो बनाउने भन्ने प्रश्न हिजोआज आवश्यकतासँगै कतिपय सौखको विषय पनि बनिरहेको छ।
सुविधाको खोजी र कतिपय आवश्यकताका कारण सहरकेन्द्रित बसाइसराइले धेरै नेपाली परिवारको जीवनभरको कमाइ घरमा खर्च भइरहेको छ। अर्कातिर सहरमा खाली ठाउँ भेट्न मुस्किल भइरहँदा घरलाई प्रतिष्ठा, हैसियत र देखावटी सौखसँग जोडेर हेर्ने प्रवृत्ति पनि बलियो बन्दै छ।
घर बनाउने निर्णय व्यक्तिगत मात्रै नभइ आर्थिक र सामाजिक विषय बनेको छ। आर्थिक हैसियतभन्दा ठूलो घर, आवश्यकता भन्दा बढी कोठा र प्रयोगभन्दा बढी सजावटमा खर्च गर्ने चलनले घर निर्माणलाई व्यवहारिकभन्दा भावनात्मक बनाइरहेको छ।
बैंक ऋण, दीर्घकालीन किस्ता र आर्थिक दबाबका बीच बनाइने घर सुरक्षित आश्रय बन्छ कि बोझ पनि? आवश्यकताबाट सुरु भएको निर्णय कतिपय अवस्थामा सामाजिक दबाब, प्रतिष्ठाको खोजी र भविष्यको असुरक्षासँग गाँसिदै जान्छ, जसले घरलाई सौख र बाध्यताको दोसाँधमा उभ्याइदिन्छ।
घर निर्माणमा सौख र आवश्यकताबीच सन्तुलन नबुझ्दा दीर्घकालमा परिवारको आर्थिक स्थायित्व नै जोखिममा पर्न सक्छ। बदलिँदो जीवनशैली, परिवारको आकार, आम्दानी र भविष्यका सम्भावनालाई ध्यानमा राखेर घर कस्तो बनाउने भन्ने बहस गम्भीर बनेको छ। यसैका लागि काठमाडौं भृकुटीमण्डपमा चलिरहेको छ, 'राष्ट्रिय घर निर्माण फेस्ट-२०८२'।
घर निर्माण फाउन्डेसनको आयोजनामा गएको आइतबारदेखि सुरु भएको फेस्ट आज मंगलबारसम्म चल्नेछ। 'जे गर्छौं, नेपालमै गर्छौँ' भन्ने नारासहित सुरु भएको फेस्टले नेपालमै अवसरहरू छन् भन्ने सन्देश दिएको आयोजक बताउँछन्।
निर्माणसम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रूपमा हेरिएको फेस्टले निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोगमार्फत नयाँ उचाइमा पुर्याउने उद्देश्य राखेको छ। फेस्टमा दुई अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान छ।
नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डहरूले अझै पनि समानरूपमा प्रस्तुत गर्न, ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापना गर्न तथा आफ्ना उत्पादनलाई व्यवस्थित र आकर्षक रूपमा प्रदर्शन गर्न चुनौती झेलिरहेकाले त्यसलाई सम्बोधन गर्न घर निर्माण फेस्ट आयोजना गरिएको आयोजकको भनाइ छ।
'राष्ट्रिय घर निर्माण फेस्ट-२०८२' मा ६ लाख रुपैयाँदेखि करोडौँका घरका नमुना राखिएका छन्। एकै थलोमा सयौँ इन्जियरसँग परामर्श लिएर घर निर्माणको आफ्नो आवश्यकता, योजना र लगानीबारे निर्णय लिन सकिन्छ।
'घर त ६ लाख रुपैयाँदेखि नै बन्छ। घरको संरचना ६ लाख रुपैयाँमा बनाएर सबै फिनिसिङ सकाउँदा ९ लाख ५० हजारसम्ममा राम्रो घर नै बन्छ। सानो घरमा पनि मानिसहरूको रुची बढिरहेको पाएका छौँ। व्यापारिक हिसाबले पनि त्यस्ता घरहरू बनाउनेहरु छन्' फेस्टमा भेटिएका इन्जिनियर संगम शाही भन्छन्, 'यस्तो फेस्ट भनेको पर्व जस्तो नै हो। आफ्नो काम र आइडियाहरू देखाउनका लागि यसको महत्त्व निकै छ।'
घर बनाउने विषय जीवनको ठूलो निर्णय भएकाले त्यसलाई फेस्टले सहयोग गरिरहेको छ। धेरै इन्जिनियरहरूसँग परामर्श लिन सम्भव भएकाले मानिसहरूले आफूले चाहेको विषयमा बुझ्न सक्ने भएका छन्। कुनै सामान नै चाहिएको छ भने पनि एकअर्को तुलना गरेर बुझ्ने अवसर फेस्टले दिएको छ। आवश्यकता र मूल्यका आधारमा सामान तय गर्न सहयोग मिलेको छ।
घर बनाउने सोच भावनामा मात्र होइन, दीर्घकालीन योजना, वित्तीय अनुशासन र व्यवहारिक आवश्यकतामा टेकेर अघि बढ्नु पर्ने फेस्टमा रहेका इन्जिनियरहरू बताउँछन्।
'घर बनाउनुअघि सबैभन्दा पहिले आफूसँग पर्याप्त सूचना हुनुपर्यो। तपाइँ ठगिने, बिग्रिने भनेको आफूसँग पर्याप्त सूचना नभएर हो। कसैले यो चिज ठीक भन्छ, कसैले यो चिज बेठीक भन्छ, त्यसमा सही के हो छुट्याउन गाह्रो हुन्छ। यी सबैका लागि पर्याप्त जानकारी चाहियो' इन्जिनियर रमेश तिमिल्सिनाले सुनाए।
'कस्तो जग्गा किन्ने, कस्तो जग हाल्ने, कुन इँटा हाल्ने, कस्तो सिमेन्ट बालुवा गिटी प्रयोग गर्ने, कस्तो रंग लगाउने भन्ने कुराहरू आफूसँग भएका जानकारी र सूचनामा निर्भर हुन्छन्', उनी भन्छन्, 'त्यसपछि विचार गर्नुपर्ने आफ्नो आवश्यकता हो। मेरो परिवार कत्रो छ र मेरो आवश्यकता के हो भन्ने विचार गर्नुपर्छ। ५० लाख रुपैयाँमा सुरु गरेर घर बनाइसक्दा दुई करोड रूपैयाँ खर्च भयो भन्ने कुरा आइरहेका हुन्छन्। त्यो बजेट र प्लानिङ राम्रो नहुँदा हो।'
ऋण लिएर घर निर्माण गरेसँगै पछि ब्याज तिर्न पुग्छ कि पुग्दैन। त्यो घरबाट के फाइदा हुन्छ भन्नेजस्ता सबै कुराहरू पहिले नै विचार गर्नुपर्ने उनी बताउँछन्।
'हाम्रो यहाँ त घर बनाउँदा आफन्तको भन्दा ठूलो र छिमेकीको भन्दा अग्लो बनाउने प्रतिस्पर्धा नै चल्छ। यो प्रतिस्पर्धाबाट आफू बाहिरिने कि त्यसैमा जाने? घर बनाउनेले सोच्नुहोला' उनले भने, 'सामान्यत: घरमा खर्च हुने दुई करोड रुपैयाँ भनेको सानो रकम होइन। त्यसको उपादेयता के हुन्छ भन्नेमा विचार गर्नै पर्छ। जीवनको सबैभन्दा ठूलो लगानी गर्दा एकजना या एउटा कम्पनीको भरमा मात्र गर्न हुँदैन। बुझ्नुपर्छ। सकेसम्म धेरै जनासँग बुझ्नुपर्छ।'
नेपालमा जागिर दिने धेरैजसो कम्पनी फेस्टमा सहभागी भएका कारण इन्जिनियरिङ पढिरहेका विद्यार्थीका लागि पनि फेस्ट महत्त्वपूर्ण बनेको छ। विभिन्न कलेजका विद्यार्थीहरूले ६० वटा घरका मोडल प्रदर्शनमा राखेका छन्। मानिसहरूले ती घर कस्तो हुन्छ? कतिसम्ममा बन्ने रहेछ? सुविधा के-के हुने रहेछ? भन्नेजस्ता विषयमा बुझ्न पाएका छन्। इन्जिनियरिङ विद्यार्थीहरूले पनि मानिसहरूले के खोजिरहेका छन् भन्ने आवश्यकता बुझ्न पाएका छन्।
फेस्टमा सहभागी इन्जिनियरिङ विद्यार्थी नेहा खरेल पनि यस्ता प्रदर्शनहरु विद्यार्थीहरूका लागि निकै फलदायी हुने बताउँछिन्। 'हाम्रो कामहरू हामीले देखाउने र सिक्ने अवसर पाएकाले पनि यो महत्त्वपूर्ण छ। मानिसहरूले घर बनाउँदा लाग्ने खर्चका बारेमा नै धेरै चासो राखिरहेका हुन्छन्' उनले भनिन्।
यस्ता फेस्टका कारण फरक मानिसहरूको फरक-फरक सोचहरु बुझ्न र निर्माण सामग्रीहरूबारे थाहा पाउन पनि सहयोग भइरहेको बताउँछिन् इन्जिनियरिङ विद्यार्थी श्रजिला महर्जन।
'यहाँ सिकेका कुराहरूलाई भविष्यमा हामीले धेरै ठाउँमा प्रयोग गर्न पनि सक्छौँ। हामीले नेपाली मौलिक शैली र आधुनिक दुवैबारे बुझिरहेका र पढिरहेका हुन्छौँ। मानिसहरूको चासो कस्तो छ त्यहीअनुसार सुझावहरू दिइरहेका हुन्छौँ' महर्जनले भनिन्।
घर बनाउने प्रश्न 'बनाउने कि नबनाउने' मात्र होइन कहिले, कसरी र कति क्षमताअनुसार बनाउने भन्नेमा केन्द्रित हुनुपर्ने राय उनीहरू सबैको छ। यथार्थमा टेकेर गरिएको निर्णयले मात्र घरलाई बोझ नभइ सुरक्षित आश्रय बनाउन सकिन्छ। जसका लागि सकेसम्म धेरै जनासँग परामर्श लिने र सूचनाहरू संकलन गर्नुपर्ने विज्ञ इन्जिनियरहरू बताउँछन्। आवश्यकता, आम्दानी र उपादेयता हेरेर मात्र घरमा खर्च गर्नु उचित हुन्छ।