शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

एक दशकभित्र वार्षिक ४० लाख कार बिक्री गर्ने लिपमोटरको लक्ष्य, २०२६ मा १० लाख बिक्री गर्ने

सोमबार, पुस १४ २०८२
एक दशकभित्र वार्षिक ४० लाख कार बिक्री गर्ने लिपमोटरको लक्ष्य, २०२६ मा १० लाख बिक्री गर्ने

लिपमोटरको चिनियाँ बजारमा २०२५ को ११ महिनामा ४ लाख ८२ हजार ४ सय ४७ वटा विद्युतीय तथा प्लग इन हाइब्रिड कार बिक्री भइसकेको चाइना प्यासेन्जर कार एसोसिएसनको तथ्यांक छ। यो अवधिमा बीवाईडीको कार बिक्री भने ५.१ प्रतिशतले गिरावट आएको छ।

काठमाडौं- चिनियाँ विद्युतीय कार उत्पादक कम्पनी लिपमोटरले एक दशकपछि वार्षिक ४० लाख कार बिक्री गर्ने लक्ष्य लिएको छ। २०२६ मा लिपमोटरले १० लाख कार बिक्री गर्ने योजनाका साथ काम गरिरहेको कम्पनीका सीईओ झु जियाङमिङले बताएका छन्। 

युरोपेली कार उत्पादक समूह स्टेलेन्टिसको ब्याकअप रहेको लिपमोटरले विश्व बजारमा आफ्नो उपस्थिलि बलियो बनाउँदै जानेछ। विभिन्न नयाँ मोडल तथा प्रिमियम कार सार्वजनिक गर्ने र विश्व बजारमा हुने बलियो उपस्थितिले आफ्नो लक्ष्य पूरा गर्ने योजना सीईओ जियाङमिङले अघि सारेका हुन्। 

लिपमोटरले चीनमा विगत १० वर्षदेखि विद्युतीय तथा हाइब्रिड कार उत्पादन गर्दै आएको छ। पछिल्लो समय चिनियाँ बजारमा विद्युतीय कार उत्पादकहरूबीच अस्वस्थ प्रतिस्पर्धा नै चलेको छ। यसका बीच लिपमोटरले बिक्री र लगानी दुबै बढाउँदै लगेकाले कार व्यापारलाई नाफामै राख्न सफल भइरहेको छ। 

लिपमोटरको बीटेन सबैभन्दा धेरै बिक्री हुने विद्युतीय एसयूभी हो। चीनको सबैभन्दा धेरै विद्युतीय कार बिक्री गर्ने बीवाईडीलाई समेत लिपमोटरले टक्कर दिइरहेको छ। 

leapmotor (1).jpg

लिपमोटरको चिनियाँ बजारमा २०२५ को ११ महिनामा ४ लाख ८२ हजार ४ सय ४७ वटा विद्युतीय तथा प्लग इन हाइब्रिड कार बिक्री भइसकेको चाइना प्यासेन्जर कार एसोसिएसनको तथ्यांक छ। यो अवधिमा बीवाईडीको कार बिक्रीमा भने ५.१ प्रतिशतले गिरावट आएको छ। 

लिपमोटरको लागत प्रतिस्पर्धीको भन्दा कम हुनुको मुख्य कारण प्रमुख प्रविधि र त्यसको विकास इन हाउस हुनु रहेको सीईओ जियाङमिङले बताएका छन्। जियाङमिङ इलेक्ट्रोनिक्स इन्जिनियर तथा लिपमोटरका सहसंस्थापक हुन्।

लिपमोटरका कारमा प्रयोग हुने ६५ प्रतिशत पार्ट्स (मूल्यका आधारमा) कम्पनी आफैले उत्पादन गर्दै आएको छ। यो कुराले कारको कुल लागतमा अन्य प्रतिस्पर्धीको तुलनामा लिपमोटरलाई १० प्रतिशत लाभ मिलिरहेको सीईओ जियाङमिङको भनाइ छ। 

सोमबार लिपमोटरले एफएडब्लूको ७ करोड ४८ लाख कित्ता सेयर किन्ने घोषणा गरेको छ। सरकारी स्वामित्वमा रहेको कमर्सियल सवारी उत्पादक कम्पनी एफएडब्लूको उक्त सेयर लिपमोटरले प्रतिकित्ता ५०.०३ युआनमा किन्ने भएको छ। यसले दुई कम्पनीबीच प्रविधि आदानप्रदानमा साझेदारी हुनेछ भने २०२६ मा एफएडब्लू ब्रान्डमा कारसमेत उत्पादन हुनेछ। 

leapmotor t03.PNG

लिपमोटरले २०२६ देखि स्पेनबाट पनि कार उत्पादन थाल्ने छ। कम्पनीले ४० प्रतिशत पार्ट्स स्पेनमै बनाएर कार उत्पादन गर्नेछ। लिपमोटरले युरोपेली बजारलाई प्राथमिकतामा राखेको छ। 

लिपमोटरका विद्युतीय कार नेपाली बजारमा पनि उपलब्ध छन्। लिपमोटरका विद्युतीय कार सांग्रिला मोटर्स प्रालिले बिक्री गर्दै आएको छ। हाल नेपाली बजारमा लिपमोटरका सीटेन, बीटेन तथा टी०३ ईभी उपलब्ध छन्। सीटेन फुलसाइज विद्युतीय एसयूभी हो भने बीटेन कम्प्याक्ट एसयूभी र टी०३ सिट कार हो। 


प्रकाशित : सोमबार, पुस १४ २०८२१४:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend