काठमाडौं- नेपाल टेलिकमले विद्यार्थीहरूका लागि लक्षित गरेर 'एनटी फाइबर विद्यार्थी अफर' ल्याएको छ। आगामी माघ २२ गतेसम्म आवेदन मिति रहेको यो अफर विद्यार्थीहरूका लागि मात्र उपलब्ध हुनेछ।
के हो एनटी फाइबर विद्यार्थी अफर ?
नेपाल टेलिकमले उपलब्ध गराइरहेको फाइबर टु द होम अर्थात् एनटी फाइबर इन्टरनेटअन्तर्गत विद्यार्थीहरूका लागि मात्र लक्षित गरी उपलब्ध गराइएको अफर नै एनटी फाइबर विद्यार्थी अफर हो। एनटी फाइबरअन्तर्गत भ्वाइस, डाटा, एनटीटीभी र मोबाइल डाटा उपलब्ध भइरहेकोमा विद्यार्थीका लागि डाटा मात्र उपलब्ध हुने गरी सो अफर उपलब्ध गराइएको हो।
सो अफरअन्तर्गत ३० एमबीपीएस स्पिडको इन्टरनेट सेवा एक वर्षसम्म उपलब्ध छ र यसको मूल्य ४ हजार ९ सय ९९ रुपैयाँ छ। यसबाट प्रतिदिन २५ जीबी डाटा चलाउन सकिन्छ भने त्योभन्दा बढी डाटा खर्च भयो भने यसको स्पिड ५ एमबीपीएस हुनेछ। यसका लागि जडान शुल्क ५ सय रुपैयाँ लाग्छ भने विद्यार्थीले १ थान ड्युअल ब्यान्ड सीपीई र बढीमा १०० मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्नेछन्।
अफर लिन के गर्ने ?
एनटी फाइबर विद्यार्थी अफर लिनका लागि विद्यार्थीले आगामी माघ २२ गतेभित्रै १९८ मा सम्पर्क गरी डिमान्ड पोर्टलमार्फत वा नजिकको नेपाल टेलिकमको कार्यालयमा उपस्थित भई आवेदन दिन सक्नेछन्।
कुन-कुन कागजात संलग्न गर्नुपर्छ ?
वि.सं. २०५४ साल वा पछि जन्म मिति रहेका विद्यार्थीहरूका लागि मात्र यो अफर लागू हुनेछ। त्यसैले स्पष्ट जन्म मिति खुल्ने प्रमाणको रूपमा जन्म दर्ता वा नागरिकता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्नेछ। त्यसैगरी आवेदन फारमका साथ विद्यार्थीको परिचय पत्र पनि अनिवार्य पेश गर्नुपर्नेछ। नाबालिगका हकमा अभिभावकको नागरिकता वा लाइसेन्स वा पासपोर्टको प्रतिलिपि पेश गर्नुपर्नेछ।
यो अफरको समयावधि सकिएपछि पुनः यही प्याकेजमा नवीकरण गर्न मिल्दैन। यसकारण सेवा निरन्तरता चाहनेले साविकका प्याकेजहरूमध्येबाट छनोट गर्नुपर्नेछ र नवीकरण गर्न नचाहेमा उपलब्ध गराइएको सीपीई फिर्ता गर्नुपर्नेछ।