काठमाडौं- प्रविधिमा भइरहेको विश्वव्यापी आविष्कार र विकास सन् २०२६ मा अझ व्यापक हुने अनुमान र अध्ययनहरू सार्वजनिक भइरहेका छन्। २०२६ मा केही भविष्यवाणी पूरा हुने स्पष्ट संकेतहरू पनि देखिएका छन्।
अबको प्रविधिको विकास एआई केन्द्रित त हुने छ नै त्यसबाहेक अन्य विकासहरू पनि देखिने छन्। एआईमा पहिलेभन्दा राम्रा विकास र सुधारका कामसँगै मानव पहिचान प्रणालीमा थप सुधार देखिने छ।
त्यसबाहेक सडकमा थप स्वचालित गाडीहरू, छरितो र व्यापक स्याटेलाइट इन्टरनेट, मस्तिष्कमा जडान हुने उपकरण, विद्युतीय सुपरकार र फोल्ड गर्न मिल्ने आईफोन।
धेरैपटक ढिलाइ भएको सिरीको जेनेरेटिभ एआई अपडेटपछि एप्पलले अब नयाँ संरचनामा सिरीलाई पुनर्निर्माण गरिरहेको छ। एप्पलका अनुसार सिरीलाई अझै ‘स्मार्ट’ बनाउन आधारभूत संरचना नै फेरिँदैछ।
एआई अब च्याटबोटको स्क्रिनमा मात्र सीमित हुने छैन। केही कम्पनीहरू २०२६ मा घरभित्र प्रयोग हुने मानवरूपी रोबोटको परीक्षण सुरु गर्ने तयारीमा छन्। यस्तै एआई ग्याजेटको विकास पनि बढ्दैछ। गुगल जेमिनी सञ्चालित स्मार्ट चश्मा ल्याउने तयारीमा छ भने मेटाले आफ्नो रेबन मेटा चश्मालाई अझ विकसित गर्दैछ।
सन् २०२५ मा एआईकै कारण सफल भइरहेका ‘फिसिङ’ आक्रमण विश्वभर झन्डै ४ सय प्रतिशतले बढेको छ। कम प्राविधिक ज्ञान भएका ह्याकरहरूले पनि एआई प्रयोग गरेर नक्कली वेबसाइट, इमेल र डीपफेक तयार गर्न थालेका छन्। २०२६ मा यसको चुनौती थप बढ्ने छ। बोट र नक्कली खाताको समस्या बढ्दै गएपछि डिजिटल पहिचान अपरिहार्य बन्दैछ। २०२६ मा धेरै मानिसको मोबाइलमै डिजिटल आईडी हुनेछ।
साथै च्याटजीपीटीजस्ता ठूलो भाषा मोडलहरू रहने नै छन्, तिनको सीमा पनि स्पष्ट हुँदै गएको छ। अब अनुसन्धानकर्ताहरू ‘वर्ल्ड मोडल’ जस्ता नयाँ एआई संरचनामा काम गरिरहेका छन्, जहाँ एआईले संसारको अनुभवबाट सिक्नेछ।
यस्तै सन् २०२५ स्वचालित सवारीसाधनका लागि ठूलो वर्ष बन्यो। यो लहर २०२६ मा पनि जारी रहनेछ। वेमो, जुक्स र टेस्लाका रोबोट्याक्सी थप सहरमा फैलिँदैछन्। पोलस्टार, पोर्से, फेरारीलगायत कम्पनीका विद्युतीय सुपरकार सडकमा देखिन थाल्नेछन्। हल्का तौल, अत्यधिक शक्ति र तुरुन्तै टर्क दिने क्षमताले यी गाडीहरू ‘सडकमा दौडिने रेस कार’ जस्ता बन्नेछन्।
घरभित्र पस्दै रोबोट
एआई च्याटबोट स्क्रिनमा मात्र होइन त्यहाँबाट बाहिर निकालेर तपाइँको शरीरमा राख्न कम्पनीहरू उत्सुक भइरहेका छन्।
दुई मानवरूपी रोबोट स्टार्टपले अमेरिकामा घरभित्र परीक्षण सुरु गर्ने योजना बनाएका छन्। एउटा वान एक्स कम्पनीको फुस्रो खरानी रङको ‘नियो’ र अर्को सन्डे रोबोटिक्सको बेसबल क्याप लगाएको ‘मेमो’। यसको उद्देश्य लुगा मिलाउने र डिसवासर खाली गर्ने जस्ता काममा रोबोटलाई सक्षम बनाउन वास्तविक संसारको डाटा संकलन गर्नु रहेको छ।
वान एक्सको हकमा ती काममध्ये धेरै अझै पनि मानव ‘टेलिअपरेटर’ ले गर्नेछन्, जसले कुनै स्थानबाट भीआर हेडसेट लगाएर रोबोट चलाउनेछ।
स्मार्ट तर 'डरलाग्दो'
सन् २०२५ मा व्यक्तिगत जानकारी लगइन विवरणसमेत सफलरूपमा ‘फिसिङ’ गरिएको घटनामा ४ सय प्रतिशत वृद्धि देखियो, जसको मुख्य कारण एआई हो।
एआईले अझ राम्रो मालवेयर धेरै मानिसका लागि सजिलै उपलब्ध बनाइदिएको छ, जुन अबको वर्ष थप चुनौतीपूर्ण देखिन्छ।
कम प्राविधिक ज्ञान भएका ह्याकरहरूले पनि एआई मोडल प्रयोग गरेर विश्वसनीय डीपफेक बनाउन वा पासवर्ड र दुई तह प्रमाणीकरण कोड चोर्ने वेबसाइट र इमेल तयार गर्न सक्छन्। अब ब्राउजरमै एआई सहायक आउन थालेपछि खराब नियत भएका व्यक्तिले वेबपेजमै लुकेका निर्देशन राखेर ती एआई सहायकलाई गलत दिशामा लैजान सक्छन्।
विभिन्न अनुसन्धानकर्ताका अनुसार राज्यसमर्थित समूहहरूले जेमिनीआधारित मोडल प्रयोग गरेर यस्ता खराब नियतका आदेश सिर्जना गर्ने प्रयास पनि गरेका थिए। यस्तो किसिमको उन्नत मालवेयर अपराधीहरूका लागि सामान्य बन्ने अनुमान छ।
अन्ततः फोल्ड हुनेछ एप्पल
वर्षौंदेखि सामसुङ र अन्य एन्ड्रोइड निर्माताले फोनलाई फोल्ड गर्न मिल्ने सुविधामा ल्याइरहेका छन्। सन् २००० को सुरुवाती दशकको सम्झना दिलाउने गरी फोन फ्लिप गर्ने सुविधा अब एप्पलमा पनि आउने छ।
पहिलो फोल्डेबल आईफोन 'आईफोन १८ सिरिज'सँगै सार्वजनिक हुने अपेक्षा गरिएको छ। ब्लुमबर्गका अनुसार यो किताबझैँ खुल्ने डिजाइनको हुनेछ। यसमा धेरै क्यामेरा हुनेछन् र फेस आईडीको सट्टा टच आईडी प्रयोग हुनेछ।
जुन मूलतः दुईवटा फोन एकआपसमा जोडिएको जस्तै हुनेछ। त्यसरी फोल्ड हुने फोनको बीचमा देखिने चिरा घटाउन गहिरो इन्जिनियरिङ गरेको बताइएको छ।
अन्तर्राष्ट्रिय बजार अनुसन्धान संस्था आईडीसीका अनुसार २०२५ मा विश्वव्यापी फोल्डेबल स्मार्टफोन करिब १० प्रतिशतले बढेको अनुमान छ। आईफोन त्यसरी आएपछि यो वृद्धि २०२६ मा ३० प्रतिशतसम्म पुग्न सक्छ।
भाषा मोडलभन्दा अगाडि बढ्दै एआई
च्याटजीपीटी र अन्य जेनेरेटिभ एआई च्याटबोटलाई चलाउने ठूला भाषा मोडलहरू (एलएलएम) यथावत् रहनेछन्। सम्भवतः अब मानवस्तरको 'सामान्य कृत्रिम बुद्धिमत्ता' भन्दा माथि यो बढ्ने छ। एलएलएमपछि अब के गर्ने भन्नेमा अनुसन्धाताहरूले काम गरिरहेका छन्।
पाथवे जस्ता स्टार्टपहरूले एआई सिक्ने र स्मृतिमा रहने तरिका नै परिवर्तन गर्नेगरी नयाँ आधारभूत संरचनामा काम गरिरहेका छन्।
यसमा अन्य समूहहरूले पनि काम गरिरहेका छन्। यिनै समूहबाट निरन्तर नयाँ काम देखिन सक्ने सम्भावना छ। तर अर्को च्याटजीपीटीस्तरको ठूलो सफलता कहिले आउने हो त्यो अझै स्पष्ट छैन।
वास्तविक प्रतिस्पर्धामा स्टारलिंक
कतिपय देशमा दूरदराजमा बस्ने मानिसहरूले अहिले अन्तरिक्षबाट इन्टरनेट पाउन थालेका छन्, मुख्यतः स्पेस एक्सको स्टारलिंकले त्यसमा काम गरिरहेको छ।
स्याटेलाइट मेगाकन्स्टेलेसनका कारण त्यो सम्भव भइरहेको छ। तर आकाशमै एटीएण्डटी/भेराइजन/टी-मोबाइलजस्तो प्रतिस्पर्धा हुने गरी स्टारलिंकले अन्ततः वास्तविक प्रतिस्पर्धी पाउँदैछ।
अमेजनले आफ्नै इन्टरनेटप्रदायक स्याटेलाइट ‘लियो’ (पहिले क्युपर) कार्यक्रमअन्तर्गत प्रक्षेपण सुरु गरिसकेको छ। युटेलसाट वानवेबजस्ता सरकारसमर्थित परियोजनाहरू पनि मैदानमा छन्।
अमेजनले १ सय ५० भन्दा बढी स्याटेलाइट प्रक्षेपण गरिसकेको छ। २०२६ मा कम्पनीले जेटब्लुजस्ता व्यावसायिक ग्राहकलाई उच्च गतिको इन्टरनेट सेवा दिन सुरु गर्नेछ। जसले उडानका क्रममा इन्टरनेटका लागि अमेजनको प्रविधि प्रयोग गर्नेछ।
स्पेस एक्सले २०२६ मा प्रारम्भिक सार्वजनिक सेयर निष्कासन (आईपीओ) को तयारी गर्न आफ्ना कर्मचारीलाई भनिसकेको छ। जसले इन्टरनेट फ्रम स्पेस बजारमा आफ्नो पकड बलियो बनाउन कम्पनीले थप लगानी खोजिरहेको संकेत दिन्छ।
बोट होइन भन्ने प्रमाण
इन्टरनेटमा आफ्नो पहिचान कसरी प्रमाणित गर्ने? टेक्स्टमार्फत आएको कोड? सेल्फी? टेलिफोन नम्बर? ह्याकहरूले यी त्रुटिपूर्ण प्रणालीका कमजोरी प्रयोग गरिसकेका छन्।
अझै पनि धेरै मानिस आफ्नै खाताबाट लगआउट हुन्छन् र त्यो आफू नै हो भन्ने प्रमाणित गर्न सक्दैनन्।
एआईको गलत फाइदा लिनेहरूको वृद्धिका साथै उमेर प्रमाणीकरणको माग र डेटिङ एपदेखि टिकट बिक्रीसम्म सबै बिगार्ने बोटहरूका कारण अब नयाँ किसिमको 'मानव भएको प्रमाण'को आवश्यकता देखिएको छ।
सन् २०२६ मा धेरै मानिससँग डिजिटल आईडी हुनेछ। त्यो फोनमै सुरक्षित गरिएको प्रमाणित पहिचान हुनेछ। एन्ड्रोइड र अब आईओएस उपकरणहरूले २ सय ५० भन्दा बढी अमेरिकी विमानस्थलबाट त आन्तरिक यात्राका लागि तयार डिजिटल अमेरिकी पासपोर्टको डेटा लिइरहेका छन्।
युरोपेली संघले आगामी वर्ष डिजिटल नेशनल आईडी अनिवार्य गर्दैछ। बैंकिङ तथा शिक्षा जस्ता नियमित क्षेत्रले सन् २०२७ सम्म यसलाई स्वीकार गर्नैपर्नेछ। सिंगापुरमा त यो पहिल्यै लागु भइसकेको छ।
‘मन पढ्ने’ प्रविधि
न्युरोटेक अर्थात् मस्तिष्क र स्नायु संकेत टिप्ने डिजिटल इन्टरफेस नै निकट भविष्यको ठूलो प्रविधि हुनेछ।
एउटा विकल्प एलन मस्कको न्युरालिंकजस्ता प्रत्यक्ष मस्तिष्क-कम्प्युटर इन्टरफेस हुन्। जसका लागि शल्यक्रिया आवश्यक पर्छ। तर धेरै मानिसले नन-इन्भेसिभ विकल्प रोज्ने सम्भावना छ। मेटाको रिस्टब्यान्ड यसको राम्रो उदाहरण हो। यसले प्रयोगकर्ताको हातको स्नायु संकेत पढेर कम्पनीका भर्चुअल रियालिटी हेडसेट र एआर स्मार्टचश्मामा त्यसको संकेत पठाउँछ।
सन् २०२६ मा यस्तो प्रविधि हाम्रो टाउकोमा सर्नेछ। एउटा नयाँ 'माइन्ड-क्याप्सनिङ' प्रविधिले विचारलाई शब्द वा पूरै वाक्यमा रूपान्तरण गर्न सक्छ। साम अल्टम्यानको नयाँ न्युरोटेक स्टार्टप मर्ज ल्याब्सले अल्ट्रासाउन्ड प्रयोग गरेर मस्तिष्क गतिविधि पढ्छ। प्रयोगशालामा मानिसहरूले आफ्ना विचारले ग्याजेट वा ह्वीलचेयरसमेत चलाइरहेका छन्।
स्टार्टप कोग्निक्सनको नयाँ उत्पादनले भविष्यमा स्नायु र मस्तिष्कसम्बन्धी रोग पहिचान गर्न सहयोग पुर्याउन सक्छ। हाल क्लिनिकल परीक्षणमा रहेको प्रारम्भिक संस्करणमा एप्पल भिजन प्रो हेडसेट र मस्तिष्क गतिविधि मापन गर्ने इलेक्ट्रोड जडित विशेष हेडब्यान्ड समावेश छ।
सिरीको पुनरागमन यात्रा
जब सिरीको अपग्रेड हुनेछ तब एआईमा नयाँ खेलाडी बलियोसँग अघि बढ्ने देखिन्छ। सिरीका जेनेरेटिभ एआई अपग्रेडमा पटक-पटक ढिलाइ भएपनि अब भने काम हुने देखिन्छ। एप्पलले त्यसमा प्रगति भइरहेको जनाएको छ।
ब्लकचेन : क्रिप्टोकरेन्सीभन्दा पर
क्रिप्टोकरेन्सीको आधार बनेको वितरित लेजर प्रणाली 'ब्लकचेन' प्रविधिले डाटा भण्डारण र साझेदारी गर्ने तरिकामै क्रान्ति ल्याउन सक्ने क्षमता राख्छ।
सन् २०२६ सम्म आइपुग्दा ब्लकचेनका प्रयोगहरू वित्तीय कारोबारमा मात्र सीमित नरही आपूर्ति शृंखला व्यवस्थापन, स्वास्थ्य सेवा र मतदान प्रणालीजस्ता क्षेत्रमा पनि विस्तार भएको देख्न सकिने अनुमानहरू सार्वजनिक भएका छन्।
स्मार्ट सिटी : दिगो भविष्य निर्माण
मानिसको आवश्यकताअनुसार तत्कालै रूपान्तरण हुने एक महानगर, वास्तविक समयमा हुने ट्राफिकको अवस्थाअनुसार आफै समायोजन हुने ट्राफिक संकेत, अधिकतम दक्षतासाथ फोहोर व्यवस्थापन प्रणाली र वातावरणमैत्री प्राथमिकतालाई केन्द्रमा राख्ने सहरी संरचना यी ‘स्मार्ट सिटी’का सार हुन्। जसमा सन् २०२६ मा थप कामहरू देखिने छन्।
सेन्सर जोडिएका उपकरणहरू र डाटा विश्लेषणको यो जटिल सञ्जाल अहिलेका प्रविधिका विभिन्न प्रवृत्तिहरूको अग्रपंक्तिमा छ, जसले सहरी जीवनलाई गहिरोरूपमा रूपान्तरण गर्ने क्षमता राख्छ।
स्वचालित संसार
स्वचालित सवारीसाधनका लागि सन् २०२५ अत्यन्त ठूलो रह्यो। अल्फाबेटको वेमो थप सहरमा फैलियो। अमेजनको जुक्सले लस भेगास र सान फ्रान्सिस्कोमा वेटलिस्ट हटाएर यात्रु बोक्न थाल्यो। टेस्लाका रोबोट्याक्सी टेक्सासको अस्टिनमा सडकमा उत्रिए। यो गति सन् २०२६ मा पनि जारी रहनेछ।
वेमोले मियामी, डालास, ह्युस्टन, सान एन्टोनियो र ओरलान्डोमा सेवा सुरु गर्ने योजना बनाएको छ। साथै सान फ्रान्सिस्को, लस एन्जलस, फिनिक्स र अन्य सहरका फ्रीवेमा विस्तार जारी राख्ने जनाएको छ।
प्रगति केवल रोबो राइड सेयरिङमै सीमित छैन। विकसित सहरका सडकमा हातले नछोइ गाडी चलाइरहेका मानिस देख्न अचम्म मान्नुपर्ने अवस्था छैन। टेस्लाजस्तै रिभियनले पनि अर्को वर्ष आफ्नो ह्यान्ड्स फ्री ड्राइभिङ सफ्टवेयर विस्तार गर्ने योजना बनाएको छ। जसले चालकको हस्तक्षेपबिना एक बिन्दुबाट अर्कोसम्म पुग्ने लक्ष्य राख्छ।
आफ्ना लागि आफैले स्वास्थ्य सेवा
विश्वभर स्वास्थ्यमा हुने खर्च तीव्र रूपमा बढ्दैछ। सन् २०२६ मा अमेरिकामा कम्तीमा १५ वर्षयताकै सबैभन्दा ठूलो वृद्धि (केही अनुमानअनुसार ९ प्रतिशतभन्दा बढी) स्वास्थ्यमा खर्च गर्ने छन्।
अफोर्डेबल केयर एक्ट योजनामा रहेका मानिसहरूका लागि पनि अमेरिकामा मासिक प्रिमियम बढ्दैछ। यसले ‘डु-इट-योरसेल्फ’ चिकित्सा सेवातर्फको रूपान्तरणलाई तीव्र बनाइरहेको छ। जुन प्रत्यक्ष उपभोक्तामै केन्द्रित उपकरणमा एआईद्वारा काम भइरहेको छ।
डिजिटल सेवाप्रदायकहरूले यो परिवर्तन अगाडि बढाइरहेका छन्। अमेजनको वन मेडिकलले प्रतिसत्र भर्चुअल उपचार शुल्क र प्राइम सदस्यका लागि छुटसहित वार्षिक सदस्यता प्रदान गर्छ। मानिसहरूले उच्च रक्तचाप र स्लिप एपनियाको क्लिनिकल रूपमा प्रमाणित निगरानी गर्ने वेयरेबल तथा घरमै प्रयोग गर्न मिल्ने उपकरण किन्न सक्छन्, जसले टाढाबाट परामर्शका लागि वास्तविक समय मापन गर्छ। अब नियमित चेकअप नगरी निरन्तर ग्लुकोज मोनिटर, श्रवण यन्त्र र अन्य उपकरण किन्न सकिन्छ।
धेरै मानिस स्वास्थ्य समस्या बुझ्न, ल्याब रिपोर्ट व्याख्या गर्न र मनोवैज्ञानिक उपचारका लागि लोकप्रिय एआई च्याटबोटमा भर पर्न थालेका छन्। कसैले च्याटजीपीटीबाट रोग निदान गरेर अनलाइन प्रिस्क्रिप्सन खोज्न जान सम्भव हुन थालेको छ। भलै यसलाई चिकित्सा शिक्षाले स्वीकार गरेको छैन।
मानसिक स्वास्थ्यसँग एआईको टक्कर
मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेका मानिसका लागि एआईसँग च्याट गर्नु खतरनाक हुन सक्ने अध्ययनहरु आइरहेका छन्। यसले चिन्ताजनक विचार र भ्रान्तिलाई सही ठहर्याउन सक्छ र भ्रमलाई प्रोत्साहन गर्न सक्छ।
विभिन्न देशका कानूनहरूले अब एआई विकास गरिरहेकाहरूलाई यसबारे कदम चाल्न दबाब दिइरहेका छन्। अमेरिकाको क्यालिफोर्नियाको नयाँ नियमअनुसार आत्महानी हुने कुनै संकेत देखिएमा एआईले कुराकानी रोक्नै पर्छ। साथै १८ वर्षमुनिका प्रयोगकर्तालाई हरेक तीन घण्टामा विश्राम लिन स्मरण गराउनुपर्ने हुन्छ।
कतिपय देशमा एआईलाई कुनै पनि चिकित्सकीय संवाद गर्न प्रतिबन्ध लगाइएका छन्।
यसका बाबजुद मानसिक स्वास्थ्यसंकट समाधानको प्रमुख विषय नै एआई बन्न पनि सक्छ। खर्च, जनशक्ति अभाव र सामाजिक लाञ्छना अझै पनि व्यावसायिक उपचारका बाधक हुन्। प्रमाणमा आधारित उपचारमा तालिम दिइएका एआई उपकरण सुरक्षित र प्रभावकारी हुन सक्ने विज्ञहरूले बताइरहेका छन्।
सडकमा विद्युतीय सुपरकार
आधुनिक विद्युतीय सवारीसाधनले पहिलेदेखि नै उच्च प्रदर्शनका गरिरहेका छन्। एक्सेलेरेसन, उच्चतम गति र सुविधाका हिसाबले पनि अब ईभी सुपरकार साँच्चै ठूलो स्तरमा पुग्दैछन्।
पोलस्टार, अल्पाइन र पोर्सेका नयाँ मोडल आउँदैछन्। साथै फेरारीको पहिलो विद्युतीय कार पनि आउने छ।
उता मर्सिडिज एएमजीले हालै एक हजारभन्दा बढी हर्सपावर भएको, केवल २८ पाउन्ड तौलको नयाँ किसिमको एक्सियल-फ्लक्स विद्युतीय मोटर भएको अवधारणा रहेको कार प्रदर्शन गर्यो।
तुरुन्तै उपलब्ध टर्क, हल्का पावरट्रेन र ब्याट्रीको कारण तल्लो गुरुत्वको संयोजनले यी सवारीसाधनलाई सडकमा चल्न मिल्ने इन्डी कारजस्तै बनाउन सक्छ।
सन् २०२६ मा सम्भवतः लामो समयदेखि प्रतिक्षित टेस्ला रोडस्टर पनि देखिन सक्छ।
गणनात्मक सीमा तोड्दै क्वान्टम कम्प्युटिङ
परम्परागत कम्प्युटरहरू बिट (० वा १) मा आधारित हुन्छन् भने क्वान्टम कम्प्युटरहरूले क्युबिटको शक्ति प्रयोग गर्छन्। जुन एकै समयमा धेरै अवस्थाहरूमा रहन सक्छन् (सुपरपोजिसन)।
यसले क्लासिकल कम्प्युटरको तुलनामा अत्यन्त जटिल गणनाहरू छिटो गर्न सम्भव बनाउँछ। अझै प्रारम्भिक चरणमै रहे पनि सन् २०२६ ले क्वान्टम कम्प्युटिङमा ठूलो फड्को मार्ने सम्भावना छ, जसको प्रयोगले विज्ञानका विभिन्न क्षेत्रहरूमा गहिरो प्रभाव पार्न सक्छ।
(ब्लुमबर्ग, क्याम्ब्रिज ओपन एकेडेमी, दि न्यू योर्क टाइम्स र फोर्ब्सका सामग्रीमा आधारित भएर यो आलेख तयार पारिएको हो।)


