शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

मुस्ताङको घमी गाउँमा सामूहिक स्याउखेती

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस १२ २०८२
मुस्ताङको घमी गाउँमा सामूहिक स्याउखेती

मुस्ताङ- माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ घमी गाउँमा स्थानीय ४९ घरधुरीले सामूहिक स्याउखेती गरेका छन्। गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको पहलमा घमी गाउँमा विगत ६ वर्षदेखि सामूहिक स्याउखेती गरिएको हो।

कृषिमा स्थानीय नागरिकको सामूहिक पहुँच स्थापना गर्ने उद्देश्यले विसं २०७६ सालदेखि यहाँको घमी गाउँमा ४९ घरधुरीले घमी सामुदायिक स्याउ फर्म स्थापना गरी सामूहिक स्याउखेती सुरु गरेका हुन्।

यसअघि माथिल्लो मुस्ताङमा आंशिक मात्रामा स्याउ खेती गरिने गरिन्थ्यो। पछिल्लो समय जलवायु परिवर्तनका कारण यहाँको जमिनको तापमान वृद्धि भइरहेकाले स्याउखेतीले बिस्तारै माथिल्लो क्षेत्रको उचाइमा बस्ती सार्दै जान थालेको छ। जलवायु परिवर्तनले स्याउखेतीले उकालो चढ्दै जान थालेको र घमी गाउँमा भविष्यमा स्याउखेतीको प्रचुर सम्भावना देखिएकाले त्यहाँस्थित घमी गाउँका घरधुरीले सामूहिक स्याउखेतीलाई प्राथमिकता दिएका हुन्।

यहाँस्थित घमी गाउँमा स्थानीय घरधुरीले आफ्नो लालपुर्जावाला जग्गालाई सामुदायिक स्याउखेती गर्ने गरी करिब ८०० रोपनीभन्दा बढी जग्गामा सामूहिक स्याउखेती गरिएको लोघेकर अध्यक्ष विष्टले जानकारी दिए। अध्यक्ष विष्टका अनुसार गाउँमा जग्गा भएका र जग्गा नभएका भूमिहीन किसानलाई कृषिमा समान पहुँच स्थापना गर्ने गरी घमी सामुदायिक स्याउ फार्म स्थापना गरिएको हो। फार्ममा १२ हजारभन्दा बढी स्थानीय लोकल जातका स्याउ बिरुवा र ६०० भन्दा बढी उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउका बिरुवा रोपण गरिएको उनले बताए।

राष्ट्रिय गौरवको जोमसोम-कोरला सडकमार्गनजिकै रहेको घमी सामुदायिक स्याउ फार्म ६ वर्षअघि दुई तिहाइ जग्गा खेती हुन नसकी बाँझो छाडिएको थियो। पर्याप्त मात्रामा खेतीयोग्य जग्गा रहेको घमी गाउँमा स्थानीय युवा वैदशिक रोजगारका लागि विदेश जान थालेपछि त्यहाँका खेती योग्य जग्गाजमिन बाँझो रहन पुगेको थियो। कृषि व्यवसायका माध्यमबाट गाउँको आर्थिक विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित यहाँको घमी गाउँमा वृहत् रूपमा सामुदायिक घमी स्याउ फार्म सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष विष्टको भनाइ छ।

यहाँको घमी गाउँमा स्थापना गरिएको सामुदायिक स्याउ फार्ममा गतवर्षदेखि स्याउ बोटले उत्पादन दिन थालेका छन्। जलवायु परिवर्तनको प्रभावलाई मध्यनजर गरी स्याउको दीर्घकालीन भविष्य देखेर यहाँको स्याउ फार्मको अधिकाँश जग्गामा रैथाने स्थानीय जातका स्याउ बिरुवा रोपण गरिएको गाउँपालिकाका अध्यक्ष विष्टले बताए। गत वर्ष यहाँस्थित सामुदायिक स्याउ फार्मको एक ब्लकमा ६००  बढी हाइब्रिड स्याउका बिरुवा रोपण गरिएको थियो। यस वर्ष यहाँको फार्ममा फलेका स्याउ बिक्रीबाट दुई लाख रुपैयाँ आम्दानी भएको अध्यक्ष विष्टले बताए। 

'यहाँ स्याउका बिरुवा बर्षेनि विकास हुँदै गइरहेको छ, भविष्यमा यहाँको फार्ममा ५०० मेट्रिकटन बढी स्याउ फलाउने लक्ष्य छ,' अध्यक्ष विष्टले भने, 'फार्ममा पूर्ण रूपमा स्याउले उत्पादन दिन थालेमा स्थानीय नागरिकको आम्दानीको स्रोत वृद्धि हुनेछ, हामीले जग्गा हुने र नहुँने विपन्न वर्गलाई सामूहिक स्याउखेती प्रणालीमा समेट्ने प्रयास गरेको हौँ।'

यहाँस्थित मुस्ताङको घमी गाउँमा व्यक्तिको लालपुर्जा भएको जग्गालाई समेटेर जिल्लामै पहिलो सामूहिक सामुदायिक स्याउ फार्म स्थापना गरिएको हो। यहाँको स्याउ फार्ममा कसैको धेरै जग्गा, कसैकोे थोरै जग्गा छ भने कतिपयको जग्गासमेत छैन। तर, यहाँ जग्गा भएका र नभएका घमी गाउँका घरधुरीलाई समावेश गरी सामूहिक स्याउखेती प्रणालीको अवधारणा अपनाइएको हो।

सामुदायिक स्याउखेती गर्दा लालपुर्जावाला घरधुरीले आफैले स्याउ फार्मको व्यवस्थापन तथा रेखदेख गर्नुपर्दछ। तर, फार्मको भौतिक पूर्वाधारलगायतको कामकाँजमा फार्ममा आबद्ध भएका तर जग्गा नभएकाले पनि श्रमदान गर्नुपर्ने प्रावधान राखिएको छ।

यहाँ स्याउ फार्ममा उत्पादन भएको स्याउ बिक्री गरेबापतको आम्दानी स्थानीय जग्गावाला घरधुरीले ७० प्रतिशत आफूले पाउँने र आम्दानीको ३० प्रतिशत सामूहिक रूपमा सामुदायिक स्याउ फार्मको कोष (बास्केट) फ्रन्टमा राख्नुपर्ने हुन्छ। यसरी बास्केट फ्रन्टमा संकलन भएको आम्दानी बचत फार्ममा आबद्ध सबै घरधुरीलाई समान रूपमा भाग लगाएर वितरण गरिने नियम राखिएको गाउँपालिकाका विष्टले बताए। 

यसअघि पहिलो घरायसी प्रयोजनका लागि मात्रै स्याउखेती गरिने गरिएकोमा पछिल्लो समय घमी गाउँमा व्यवसायिक स्याउ खेती गरिएको जनाइएको छ।

जिल्लाकै नमुनाका रूपमा स्थापित भएको घमी सामुदायिक स्याउ फार्मलाई स्थानीय सरकार, प्रदेश सरकार र जिल्लास्थित पशु विकास कार्यालयले अनुदान सहयोग पुर्‍याएका छन्। घमी सामुदायिक स्याउ फार्मका लागि पर्खाल निर्माण गर्न, सिँचाइको पहुँच पुर्‍याउन आवश्यक छ। स्याउखेतीको व्यवस्थापन गर्न सरकारी निकायबाट अनुदान सहयोग प्राप्त भएको अध्यक्ष विष्टले बताए।

एक दशकअघि घमी गाउँका स्थानीयले हालको स्याउ फार्म रहेको जग्गामा आशिंक रूपमा उवा, जौ र फापर खेती गर्ने गरेका थिए भने त्यहाँका अधिकांश जग्गा खेती हुन नसकी बाँझो छाडिएको थियो। तर, पछिल्लो समय यहाँको घमी गाउँस्थित स्याउ फार्ममा लटरम्म स्याउ फल्न थालेपछि स्थानीय नागरिक दंग परेका छन्। घमी गाउँमा यहाँको शीतोषण बागवानी विकास केन्द्रले स्याटलाइट कृषि फार्म स्थापना गर्ने तयारी गरेकाले यहाँका नागरिकलाई स्याउखेतीको विकास र प्रर्वद्धनमा थप योगदान पुग्ने विश्वास गरिएको छ। रासस


प्रकाशित : शनिबार, पुस १२ २०८२१४:४४
  • सम्बन्धित विषय:

  • # मुस्ताङ
  • # स्याउ
  • # स्याउखेती
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend