बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

साताको अन्तिम कारोबारमा लयमा देखियो सेयर बजार, आउने साता निरन्तर होला बढ्ने क्रम?

बिहीबार , फागुन २६ २०७८
साताको अन्तिम कारोबारमा लयमा देखियो सेयर बजार, आउने साता निरन्तर होला बढ्ने क्रम?

काठमाडौं- निरन्तर उतारचढाव हुँदै ओरालो गतिमा देखिएको सेयर बजारमा यो साताको अन्तिम कारोबारको दिन बिहीबार भने लय देखिएको छ। 

बिहीबार ५२.२१ अंकले बढेर बजार २५६६.७९ बिन्दुमा पुगेको छ। बिहीबार ५६ लाख १० हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड रूपैयाँको कारोबार भएको छ।  

यसअघि आइतबार ३.६६ अंकले घटेर २५४३.३९ बिन्दुमा पुगेको नेप्से परिसूचक सोमबार उतारचढावका बीच १.५४ अंकले बढेर २५४४.९३ बिन्दुमा पुगेको थियो। मंगलबार भने सार्वजनिक बिदाका कारण बजार बन्द थियो। बुधबार ३०.२९ अंकले घटेर बजार २५१४.६५ बिन्दुमा झरेको थियो। 

गएको साता तीन दिनको कारोबारमा नै बजार १ सय १४ अंकले घटेको थियो। यो साता अन्तिम दिनको कारोबारले भने बजार सम्हालिएको छ। बिहीबार देखिएको बढोत्तरी आउने साता कायम रहेमा उच्च अंकको यात्रामा बजारले प्रवेश गर्नेछ। अहिले ठूला लगानीकर्ताको चलखेल कायम नै छ या सबै लगानीकर्ताको विश्वास बजारमा फर्किएको हो भन्नेमा दुविधा नै देखिन्छ। 

यसअघि बजारमा देखिएको उतारचढावमा राजनीतिक उथलपुथल र नेपाल राष्ट्र बैंकले लिएको नीतिलाई कारण देखाउँदै विश्लेषण भइरहेका थिए। गएको सातादेखि नै केही ठूला लगानीकर्ताले बजारमा अझै चलखेल गरिरहेको विश्लेषकहरूले बताइरहेका थिए। यसैले आउने साताको अवस्था नहेरी बजारमा यसै हुन्छ भन्ने यकिन चित्र नदेखिएको विश्लेषकहरूले बताएका छन्। 

गत भदौ २ नेप्से परिसूचक हालसम्मकै उच्च ३१९९ बिन्दुमा पुगेको थियो। भदौ ३ देखि ओरालो लागेको बजार मंसिरसम्म उच्च बिन्दुबाट ८३७ अंकले तल झरेको थियो। मंसिर पहिलो सातामा सेयर बजार २३६१.२७ बिन्दुमा रोकियो। पुसदेखि फागुनको पहिलो सातासम्म आइपुग्दा सेयर बजार २९०० को बिन्दुमा पुग्न लागेको थियो। तर त्यसयता घटिरहेको बजार सम्हालिन सकेको थिएन। 


प्रकाशित : बिहीबार , फागुन २६ २०७८०९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend