आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

फ्रान्सेली प्रतिनिधिमण्डलसँगको भेटमा व्यापार र लगानी अभिवृद्धिमा प्रधानमन्त्रीको जोड

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २५ २०७८
images
images
फ्रान्सेली प्रतिनिधिमण्डलसँगको भेटमा व्यापार र लगानी अभिवृद्धिमा प्रधानमन्त्रीको जोड

भविष्यमा सञ्चालन गर्न सकिने द्विपक्षीय विकास परियोजनाबारे पनि प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलले छलफल गरेको थियो। 

images
images

काठमाडौं- नेपाल-फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स-नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ। 

images
images

प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार भएको उक्त भेटमा दुवै पक्षले पारस्परिक हित र चासोका विविध विषयका साथै आपसी सम्बन्धलाई अझ सुदृढ तुल्याउने बारेमा विचारविमर्श गरेको थियो। भविष्यमा सञ्चालन गर्न सकिने द्विपक्षीय विकास परियोजनाबारे पनि प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलले छलफल गरेको थियो। 

images
images

नेपाल-फ्रान्स सम्बन्धलाई अझ उन्नत तुल्याउन संसदीय समूहले निर्वाह गरेको भूमिकाको सराहना गर्दै प्रधानमन्त्री देउवाले व्यापार, लगानी, पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तन प्रतिकार्यलगायत क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धि अपरिहार्य भएकामा जोड दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

images
images
images

अध्यक्ष रियोतोँले राजनीति र जलवायु परिवर्तनका प्रभावको सामना गर्न नेपालका महिलाहरूको सहभागिता बढाएकामा नेपालको प्रशंसा गर्दै दिगो विकास र कृषि क्षेत्रमा फ्रान्स र नेपालबीच सहयोग सुदृढ तुल्याउने आफ्ना चाहना अभिव्यक्त गरेका थिए। 

आजै उक्त प्रतिनिधिमण्डलले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि शिष्टाचार भेट गर्‍यो। भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले ७३ वर्ष लामो नेपाल-फ्रान्स मैत्रीलाई सुदृढ बनाउन संसदीय मैत्री समूहले गरेको योगदानको सराहना गर्दै फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियालाई निरन्तर समर्थन गरेकामा हार्दिक कृतज्ञता ज्ञापन गरे। उनले फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यका रूपमा रहेको स्वतन्त्रता, समानता र भ्रातृत्व नेपालको लोकतान्त्रिक आन्दोलन र सङ्घर्षमा सधैँ प्रेरणादायी रहेको बताए।

पारस्परिक सद्भाव र समझदारीमा आधारित नेपाल र फ्रान्सबीचको सम्बन्ध उच्चस्तरीय भ्रमणको आदान-प्रदानबाट अझ प्रगाढ हुने बताउँदै अध्यक्ष तिमिल्सिनाले कोभिड-१९ महामारीविरुद्धको नेपालको लडाइँमा फ्रान्सले कोभ्याक्स सुविधामार्फत खोप अभियानमा गरेको सहयोगप्रति आभार व्यक्त गरे। 

अध्यक्ष रियोतोँले दुई देशबीचको सहयोग र सहकार्यलाई अझ सघन तुल्याउन प्रयास गर्ने आश्वासन दिँदै नेपालमा तीनवटै तहका सरकारको सम्बन्ध र सहकार्य बारे जिज्ञासा राखेका थिए।

दुवै भेटमा अध्यक्ष रियोतोँका साथ समूहका उपाध्यक्षद्वय निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर तथा नेपालका लागि फ्रान्सका राजदूत जिल बुरबाओको पनि उपस्थिति थियो। 

फ्रान्सको संसदीय प्रतिनिधिमण्डलले बिहीबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। रासस


प्रकाशित : बुधबार, फागुन २५ २०७८१३:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend