बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अर्थ प्रशासनलाई अस्थिर बनाएकोमा प्रधानमन्त्री असन्तुष्ट 

शुक्रबार, फागुन २७ २०७८
अर्थ प्रशासनलाई अस्थिर बनाएकोमा प्रधानमन्त्री असन्तुष्ट 

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले निरन्तर कर्मचारीको सरुवा गरेर अर्थ प्रशासनलाई अस्थिर बनाएको भन्दै अर्थमन्त्री जनार्दन शर्माप्रति असन्तुष्टि व्यक्त गरेका छन्। 

अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि अर्थतन्त्रका ज्ञान तथा अनुभव भएका कर्मचारीलाई पाखा लगाएर आज्ञाकारी कर्मचारीमात्र ल्याएको भन्दै जनार्दन शर्माको आलोचना भइरहेको छ। 

बजेट निर्माणको तयारी सुरू हुँदासम्म पनि शर्माले आज्ञाकारी सहसचिव भित्र्याउने क्रम नरोकेपछि प्रधानमन्त्रीले शर्मासँग यस बारेमा प्रश्न गरेका छन्। 

वर्तमान अर्थतन्त्रको अवस्थाका बारेमा गएको सोमबार भएको छलफलका क्रममा प्रधानमन्त्रीले अर्थ प्रशासन अस्थिर बनाएको प्रति चासो व्यक्त गरेका हुन्। छलफलका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा कर्मचारीको एउटा सेट बनेर काम गरिरहेका बेला अनावश्यक सरुवा गरेको प्रति असन्तुष्टी व्यक्त गरेको छलफलमा सहभागी एक उच्च सरकारी अधिकारीले जानकारी दिए। 

सोमबारको छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थतन्त्रसँग सम्बन्धित मन्त्रालयका सचिव तथा विभागीय प्रमुखहरूको उपस्थिति थियो। 

अर्थ मन्त्रालयको उच्च व्यवस्थापन (मन्त्री, सचिव र सहसचिवहरू) फेरिएसँगै उपसचिव तथा सहसचिवहरूको प्राय सरुवा हुन्छ। तर यसपटक अर्थ मन्त्रालयमा छिटो छिटो सरूवा मात्र होइन सम्बन्धित क्षेत्रको अनुभव नभएकै अधिकारीहरू विभागीय प्रमुख भएका छन्। 

अर्थमन्त्री शर्मा आफै आएपछि नियुक्त गरेका भन्सार तथा आन्तरिक राजस्व विभागका महानिर्देशक फेरिसकेका छन्। त्यस्तै बजेट महाशाखा प्रमुख पनि फेरिएका छन्। मन्त्रालयभित्रकै महाशाखा प्रमुखको पनि छिटोछिटो सरुवा भइरहेको छ। 

कर र भन्सारमा कार्यरत उपसचिवहरू दुई वर्षमा मात्रै हेरफेर गर्ने परम्परालाई लत्याउँदै एक वर्ष नपुगेका कर्मचारी पनि सरुवा गरिएको थियो। अर्थमन्त्री जनार्दन शर्माले कर कार्यालय र भन्सारबाहेक मन्त्रालयभित्रै लेखाका उपसचिव पनि हटाएका थिए। 

'विगतमा सरकारहरू ९/९ महिनामा परिवर्तन हुँदा पनि कर भन्सारका प्रमुखलाई २ वर्ष काम गर्न दिइन्थ्यो,' अर्थका एक सहसचिवले भने, 'यसपटक अचम्मको दृश्य देखिएको छ, मन्त्रीले प्रणाली भत्काउन खोजेका छन् सचिव त्यसको साक्षी बसे।' 

अर्थमन्त्री शर्माले एसियाली विकास बैंकमा सिफारिस भएका तत्कालीन उपसचिव रमेश अर्यालको नाम काटेर ज्वाइँ नाता पर्ने अधिकृत भीमकान्त न्यौपानेलाई पठाए। 

अर्थमन्त्री शर्माले आफ्नो ठाडो आदेश नमान्ने कर्मचारीलाई हटाउने नीति लिएका छन्। नियमअनुसार काम गरिरहेका कर्मचारीलाई हटाएर तजबिजमा काम लगाउने चलन उनले सुरु गरेका छन्।

आन्तरिक राजस्व विभागका महानिर्देशक हुँदा आफूले भने अनुसारको काम नगरेको भन्दै शोभाकान्त पौडेललाई उनी आफैले हटाएका थिए। पौडेलले नियम तथा कानून अनुसार गर्न नमिल्ने भएकाले बरु आफैले सरुवा मागेर बाहिरिएका थिए। 


प्रकाशित : शुक्रबार, फागुन २७ २०७८११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend