बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

सेयर बजारले पाएन लगानीकर्ताको साथ, बियरिस ट्रेण्ड समातेकै हो?

बुधबार, फागुन २५ २०७८
सेयर बजारले पाएन लगानीकर्ताको साथ, बियरिस ट्रेण्ड समातेकै हो?

काठमाडौं- सोमबार झिनो अंकले बढेको सेयर बजारमा बुधबार भने ठूलो गिरावट देखिएको छ। बुधबार ३०.२९ अंकले घटेर बजार २५१४.६५ बिन्दुमा झरेको छ। 

बुधबार कारोबार रकमसमेत घटेको छ। ४९ लाख ५९ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३५ करोड रूपैयाँको कारोबार भएको छ। जहाँ १ सय ७१ कम्पनीको सेयर मूल्य घट्दा १९ कम्पनीको मूल्य वृद्धि भएको छ भने दुई कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यसअघि आइतबार ३.६६ अंकले घटेर २५४३.३९ बिन्दुमा पुगेको नेप्से परिसूचक सोमबार उतारचढावका बीच १.५४ अंकले बढेर २५४४.९३ बिन्दुमा पुगेको थियो। मंगलबार भने सार्वजनिक बिदाका कारण बजार बन्द थियो। 

गएको साता तीन दिनको कारोबारमा बजार १ सय १४ अंकले घटेको थियो। यो सातामा अहिलेसम्म तीन दिनको अवस्था हेर्दा बजारले लगानीकर्ताको साथ पाएको छैन। सेयर बजारको बिग्रँदो अवस्था सुधारका लागि गतसाता बुधबार अर्थ मन्त्रालयमा भएको छलफलपछि यो साता सकारात्मक प्रभाव देखिने लगानीकर्ताहरूले आँकलन गरेका थिए। तर अझै बजारको अवस्था सुधारतर्फ यकिन देखिँदैन।

यसअघि बजारमा देखिएको उतारचढावमा राजनीतिक उथलपुथल र नेपाल राष्ट्र बैंकले लिएको नीतिलाई कारण देखाउँदै विश्लेषण भइरहेका थिए। गएको सातादेखि नै केही ठूला लगानीकर्ताले बजारमा अझै चलखेल गरिरहेको विश्लेषकहरू बताउँछन्। राष्ट्र बैंकको नीतिलाई देखाउँदै ठूला लगानीकर्ताले आफ्नो चलखेल मात्र बढाएको र उक्त नीतिले बजारमा सिधा प्रभाव नपर्ने केही विश्लेषकहरू बताउँछन्। केहीले भने त्यही नीतिको असर नै बजारमा परिरहेको विश्लेषण गर्छन्। 

लगातार नेप्से परिसूचक बिग्रिरहँदा सेयर बजार बियरिस ट्रेण्डमा जान लागेको संकेत देखिएको छ। बैंकिङ तरलता र ब्याजदरले सेयर बजारलाई सबैभन्दा धेरै प्रभावित पार्ने गरेको छ। गत भदौ २ नेप्से परिसूचक हालसम्मकै उच्च ३१९९ बिन्दुमा पुगेको थियो। भदौ ३ देखि ओरालो लागेको बजार मंसिरसम्म उच्च बिन्दुबाट ८३७ अंकले तल झरेको थियो। मंसिर पहिलो सातामा सेयर बजार २३६१.२७ बिन्दुमा रोकियो। पुसदेखि फागुनको पहिलो सातासम्म आइपुग्दा सेयर बजार २९०० को बिन्दुमा पुग्न लागेको थियो। तर त्यसयता बजार सम्हालिन सकेको छैन। 

चालु आर्थिक वर्षको सुरुवातमा पनि बजार बढेर उत्साह भइरहँदा बैंक तथा वित्तीय संस्थाहरूले पुँजी बजारमा लगानी गर्न हुँदैन भन्न थालेर बजारको ट्रेण्ड बिगारिएको विश्लेषक अम्बिकाप्रसाद पौडेल बताउँछन्। 'त्यसबेला लगानी गरेकाहरूलाई पनि निश्चित समयमा बाहिरिन भनियो। यसले गर्दा बजारमा असर देखिन थाल्यो। बैंक तथा वित्तीय संस्था र अन्य संस्थागत लगानीकर्ता आकर्षित भइरहेको भए पनि केन्द्रीय बैंकले त्यहीनेर प्रहार गर्‍यो' उनले भने। 


प्रकाशित : बुधबार, फागुन २५ २०७८०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend