शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

जलवायु संकटको चपेटामा सोलुखुम्बु, कालापत्थर बन्दैछन् हिमाल

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २५ २०८२
जलवायु संकटको चपेटामा सोलुखुम्बु, कालापत्थर बन्दैछन् हिमाल

दुई दशकअघिसम्म जिल्लाको माथिल्लो भाग नाम्चे, खुम्जुङ, तेङ्बोचे, लोबुचेदेखि गोरक्षेपसम्म हिउँले भरिएको देखिन्थ्यो। तर, हालका वर्षमा हिउँ पर्ने समय छोटिएको मात्र होइन, पर्वतको सतहमा टाँसिएको हिउँका कण पनि तीव्र गतिमा पग्लिन थालेको स्थानीय लामाकाजी शेर्पाले बताए।

सोलुखुम्बु- दशकौँदेखि सोलुखुम्बुमा हिमाल, चिसो बतास र आकाश छोएर उभिएजस्ता देखिने चम्किला चुचुराबाट यो जिल्ला परिचित रहँदै आएको थियो। यसबाट पर्यटक मोहित हुन्थे। पछिल्ला दिन हिमालमा हिउँ कम पर्न थालेको छ।  

'अर्कै युग सुरु भएको छ जस्तो लाग्छ,' खुम्बुका वृद्ध पासाङ शेर्पाले भने, 'बाल्यकालदेखि सेताम्य हिमाल मात्रै देख्थ्यौँ, तर अहिले त पहाडको आधा भाग कालो चट्टानजस्तो देखिन्छ, हेर्नुस् त हाम्रो आँखैअघि देखिएका यी हिमाल कहाँ हिमालजस्ता छन् र? कति धेरै फरक भइसक्यो।'

दुई दशकअघिसम्म जिल्लाको माथिल्लो भाग नाम्चे, खुम्जुङ, तेङ्बोचे, लोबुचेदेखि गोरक्षेपसम्म हिउँले भरिएको देखिन्थ्यो। तर, हालका वर्षमा हिउँ पर्ने समय छोटिएको मात्र होइन, पर्वतको सतहमा टाँसिएको हिउँका कण पनि तीव्र गतिमा पग्लिन थालेको स्थानीय लामाकाजी शेर्पाले बताए।

विगतमा वर्षभरि नै सेतो हिउँले ढपक्कै ढाकिने सगरमाथा, ल्होत्से, नुप्चे, आमादब्लम, थामसेर्कुजस्ता हिमाल अहिले कालो चट्टान र पर्वतका रङ स्पष्ट देखिनु आजभोलिको सामान्य दृश्य्जस्तै बनेको छ। सगरमाथा क्षेत्र अवलोकनका लागि आउने पर्यटक उक्त अस्वाभाविक दृश्य देखेर अच्चमित हुने गर्छन् भने स्थानीयलाई भने सोही दृश्य अब सामान्यजस्तै लाग्न थालेको छ।

'भ्रमणकर्ताहरूको जिज्ञासापछि हामी पनि सोच्न बाध्य हुन्छौँ नत्र अब त हामीलाई सामान्यजस्तै लाग्न थालिसक्यो किनकि यो प्रक्रिया तीव्र गतिमा बढिरहेको छ, सोधौँ हामीले कसलाई सोध्ने? रोकौँ कसरी रोक्ने? केही विकल्प नहुँदा हामी चुपचाप बस्न बाध्य छौँ,' खुम्जुङका फुडोमा शेर्पाले भने।

'पृथ्वी तातो हुँदा हिमालको हिउँ हरेक वर्ष पातलो हुँदै गएको हो,' सगरमाथा राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्याय भन्छन्, 'हिउँले ढाकेका भाग घट्दै गएका छन्।' 

हालका वर्षमा मौसमचक्र नै उल्टो भएको स्थानीयको बुझाइ छ। जोरसल्लेका पेमा शेर्पा भन्छन्, 'पहिलेदेखि जाडो कडा हुन्थ्यो तर सहन सकिन्थ्यो। अहिले भने जाडोमा हड्डी नै कटकट दुख्ने गरी चिसो हुन्छ। गर्मीमा त झनै, हिमालकै काखमा बसेर पनि पसिना आउने गरी तातो हुन्छ।' 

उच्च हिमाली क्षेत्रमा सन् १९७० पछि तापक्रम करिब १.५ डिग्री सेल्सियसले बढेको बताइएको छ। तापमानले रेखा नाघेपछि हिमालको सतहमा जम्ने हिउँको मात्रा घट्ने, जमिसकेको हिउँ द्रुत पग्लने र पर्वतको चट्टानी भाग खुला देखिनु स्वाभाविक प्रक्रियाजस्तै बन्दै गएको वातावारणविद् राजन थापाको भनाइ छ। 

उनी भन्छन्, 'हिमालमा कालो रङ देखिनु केवल हिउँ पग्लिनुको कारण होइन। विशेष कारणमध्ये हिमालबाट खसेको ठूलो चट्टान सतह, सुक्खा हिउँ पग्लेर बनेको चट्टानी पट्टी, वायुमण्डलबाट जम्मा हुने ब्ल्याक कार्बन र निकुञ्ज क्षेत्रमा बढ्दो मानवीय गतिविधि मुख्य रूपमा उल्लेखनीय छन्।'

गत वर्षको साउन ३२ गते शुक्रबार दिउँसो थामेखोलामा आएको बाढीले खुम्बु क्षेत्रमा वितण्डा मच्चियो। स्थानीयहरू अझै पनि त्यो क्षण सम्झँदा डराउँछन्। यसले २० भन्दा बढी घरमा क्षति पुर्‍यायो। विद्यालय, स्वास्थ्यचौकीसहित सरकारी संरचनादेखि पर्यटक पदमार्ग तथा स्थानीयको घरखेत,  कामचलाउ संरचना, पशुका गोठ, जलविद्यत आयोजनासमेत बगाएर लग्यो। थामेको बाढी तल झर्दै आइपुग्दा फाक्दिङ-नाम्चे जाने मुख्य पर्यटकीय पदमार्ग नै कटान गरियो। 

खुम्बु क्षेत्रको पर्यटनलाई नेपालको सम्पूर्ण पर्यटन आयको मेरुदण्ड मानिन्छ। त्यही मेरुदण्ड जलवायु संकटका कारण हरेक वर्ष कमजोर हुँदै गएको छ। फेरिचे, इम्जा र खुम्बु क्षेत्रमा हिमतालको विस्तार तीव्र गतिमा बढेको छ। इम्जा ताल २० वर्षमा ६५ प्रतिशतले ठूलो भएको तथ्यले खुम्बु क्षेत्रमा जलवायु परिवर्तन कति तेज छ भन्ने स्पष्ट संकेत दिएको छ।  

इम्जा, थामसेर्कु बेसिन, खुम्बु बेसिनजस्ता क्षेत्र अहिले उच्च जोखिम सूचीमा रहेका बताइएको छ। खुम्बुका पशी लामा भन्छन्, 'पहिला हामी हिमताल फुट्ने कथा सुन्थ्यौँ, अब त्यसैको डर लिएर दिन बित्छ। हिउँ पग्लिएर ताल ठूलो हुँदै गएपछि यहाँका गाउँ, पुल, बाटो, बस्ती सबै जोखिममा छन्।'

यहाँको पहिचान, यहाँको जीवनशैली हिमालसँग गाँसिएको छ। पहिलादेखि सधैँ हिउँले भरिएको चिसो मौसममा गोठमा पशु राख्ने, पानी हिउँबाट पगालेर प्रयोग गर्ने, खेतीपाती तय गर्ने परम्परा पनि बदलिन थालेको छ। हिउँ कम परेपछि खोलानालामा पानी घटेको छ। दूधकोशी, इम्जा खोलाजस्ता स्रोत वर्षायामपछि मात्र बढ्छन्, तर हिउँ पग्लिने गति अनिश्चित भएकोले सुक्खा मौसममा पानी अभाव देखिन थालेको छ। 

जलवायु परिवर्तनसँगै ट्रेकिङ मार्गमा पहिरो, हिउँपहिरो र चट्टान खस्ने जोखिम बढेको उनको तर्क छ। स्थानीय गाइड बल दर्नाल भन्छन्, 'पहिला जसरी योजना बनाइन्थ्यो, अहिले मौसम अनिश्चित भएकाले पर्यटकका लागि जोखिमको हिसाबले धेरै सावधानी आवश्यक हुन्छ।'

यहाँको पहिचान जोखिममा पर्न सक्ने आरोही स्पीडकाजी शेर्पाको चिन्ता छ। सुवास दर्नाल/रासस


प्रकाशित : बिहीबार , मंसिर २५ २०८२१६:२६
  • सम्बन्धित विषय:

  • # सोलुखुम्बु
  • # हिमाल
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend