मुस्ताङ- हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको संख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ।
बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय र सहकार्यमा यहाँका उच्चलेकमा हिउँ चितुवा संख्या यकिन गर्न क्यामेरा ट्यापिङमार्फत अध्ययन अनुसन्धान सुरु गरिएको हो।
बायोकोस नेपाल र एक्याप मिलेर यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका उच्चलेकमा हिउँ चितुवाको संख्या यकिन गर्न क्यामेरा ट्यापिङ सुरु गरिएको बायोकोस नेपालका फिल्ड बायोलोजिस्ट बुद्धिबहादुर गुरुङले जानकारी दिए।
यस्तै, हिउँ चितुवाको आहारा प्रजातिको अवस्था र मानव र हिउँ चितुवाबीचको द्वन्द्वको अवस्था पहिल्याउन तथा जलवायु परिवर्तनका कारण हिउँ चितुवाको बासस्थान र विद्यमान अवस्थाको जानकारी लिने उद्देश्यले हिउँ चितुवाको अध्ययन अनुसन्धान सुरु गरिएकाे हाे।
उनका अनुसार गत हप्तादेखि यहाँको वारागुङ मुक्तिक्षेत्रको झोङ, पुडाक, छेङ्गुर, थोरङ्फेदी, फल्याक, धार्काजुङ र मुस्ताङ-डोल्पा सडकको उच्चलेकमा १५ थान क्यामेरा जडान गरिएको छ।
आजदेखि यहाँको घरपझोङ गाउँपालिकाअन्तर्गत स्याङ, मार्फा र चिमाङ गाउँको उच्चलेकमा थप क्यामेरा हिउँ चितुवा ट्यापिङका लागि थप क्यामेरा जडान गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।
यहाँका उच्चलेकमा हिउँ चितुवाको विस्तृत अध्ययन अनुसन्धानका गर्न बायोकोसका प्रतिनिधि बायोलोजिस्ट गुरुङ र असिस्टेन्ट प्रवीण लामा क्यामेरा जडान कार्यमा खटिएका छन्। यसैगरी एक्याप जोमसोमबाट प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओली खटिएका छन्।
बायोकोस र एक्यापको प्राविधिक टोलीले यहाँका उच्चलेकमा हिउँ चितुवाको सम्भावित बासस्थान क्षेत्रमा पुगेर क्यामेरा जडान गरेका हुुुन्।
यहाँका सम्भावित हिउँ चितुवा बासस्थान क्षेत्रलाई केन्द्रित गरी राखिएका ट्यापिङ क्यामेरा दुई महिनासम्म लेंकमा राखिने छन्। हिउँद याममा हिउँ चितुवाको संख्या यकीन गर्न र हिउँ चितुवाको गतिविधि थाहा पाउँन क्यामेरा जडान गरिएको हो।
बायोकोसका प्रतिनिधि बोयालोजिस्ट गुरुङले दुई महिनापछि उच्चलेकमा राखिएका क्यामेराको डेटा सर्वेक्षण गरिने जानकारी दिए। ‘दुई महिनापछि क्यामेरा झिकेर ल्याउँछाैँ, सफ्टवेयर अपडेट गरी हिउँ चितुवाको विस्तृत विवरण संकलन हुन्छ,’ प्रतिनिधि गुरुङले भने, ‘क्यामेरामा कैद भएका डेटा सबै एक्यापलाई नै हस्तान्तरण हुन्छ, हामीले हिउँ चितुवाको यकीन मात्रै गर्छौँ।’
बायोकोस नेपालले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको विभिन्न क्षेत्रमा हिउँ चितुवाको अध्ययन गर्न क्यामेरा ट्यापिङलगायतका कार्य गर्दै आइरहेको प्रतिनिधि गुरुङले बताए।
मुख्य रूपमा नाउर अध्ययनका लागि कार्य गरिने भए पनि बायोकासले त्यसका साथसाथै हिउँ चितुवाको समेत अध्ययन गर्ने गरेको जनाएको छ। सन् २०२२ देखि लगातार मनाङमा चार वर्षसम्म निरन्तर हिउँ चितुवाको अध्ययन गर्न क्यामेरा ट्यापिङ गर्ने गरिएकोमा यसपालि मुस्ताङमा यसप्रकारको कार्यक्रम पहिलो भएको बायोलोजिस्ट गुरुङले जानकारी दिए।
यसैगरी माथिल्लो मुस्ताङमा पनि एक हिउँ चितुवासम्बन्धी विद्यावारिधि विद्यार्थीले क्यामेरा ट्यापिङमार्फत हिउँको अध्ययन सुरु गरेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए। मुस्ताङमा पटक-पटक हिउँ चितुवा अध्ययनका लागि क्यामेरा ट्यापिङलगायतका काम भए पनि हालसम्म कतिको संख्यामा हिउँ चितुवा छन् भन्ने तथ्य यकिन हुन सकेको छैन।
पछिल्लो समय मुस्ताङमा हिउँ चितुवा र मानवबीचको द्वन्द्व बढेको देखिन्छ। हिउँ चितुवा उच्चलेक छाडेर सडक र बस्तीमा झर्ने र यहाँका पशुपालकको गोठमै पसेर पशुचौपायालगायतलाई क्षति पुर्याउने घटना दोहोरिइरहेका छन्।
जलवायु परिवर्तनका कारण उच्चलेकमा चरनक्षेत्रमा घाँस पलाउन छाडेको र पानीका स्रोत सुक्दै जान थालेपछि हिउँ चितुवाको आहारा नाउर खोला र बस्तीसम्म झर्ने गरेको पाइएको छ। हिउँ चितुवा नाउरलगायतका आहारा पछ्याउँदै खोला र बस्तीमा झर्दा मानव र हिउँ चितुवाबीच द्वन्द्व बढेको हो।
यहाँ हिउँ चितुवाको संरक्षण र मानवबीचको सहअस्तित्व निर्माण गर्नसमेत चुनौती बढदै गइरहेको छ। यसैगरी कम उचाइको क्षेत्रमा रहने चितुवा (कमन लियोपार्ड) ले तापक्रम वृद्धि हुँदै जाँदा माथिमाथि बासस्थान सार्नेलगायतका घटना पनि देखिन थालेका छन्। रासस