काठमाडौं- जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा ९ जना पक्राउ परेका छन्। विभिन्न जागिरको वहानामा फारम भर्न लगाइ शुल्क लिइ जागिर नदिने साथै जागिर नै दिए पनि तलब नदिइ उस्तै खालको अर्को ठगीमा फसाइदिने गरेका ठगहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उपत्यकाको विभिन्न स्थानमा जब सेन्टरहरू स्थापना गरी विभिन्न काममा जागिर लगाइदिने बहानामा ठगी गरेको अभियोगमा काठमाडौंको कोटेश्वर,नयाँबानेश्वर,चाबहिल,बालाजु लगायतका स्थानबाट ९ जनालाई आइतबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानको क्रममा उल्लेखित जब सेन्टरहरूले विभिन्न स्थानमा जब प्लेसमेन्ट कम्पनिहरू दर्ता गर्ने र उक्त कम्पनिहरूले सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रचारपम्प्लेटका माध्यमबाट घरमै बसी जागिर मिल्छ भनि प्रचारप्रसार गर्ने तथा जागिरका लागि उक्त जब सेन्टरको सम्पर्कमा आउने व्यक्तिहरूलाई फाराम भर्ने बहानामा ३ सय देखि ५ सय रूपैयाँसम्म फाराम चार्ज तथा १ हजार देखि ६ हजार रूपैयाँसम्म जब ग्यारेन्टि शुल्क लिने गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
साथै फाराम भर्ने व्यक्तिहरूलाई विज्ञापनमा उल्लेखित शर्तबमोजिमको काममा नलगाउने तथा जागिरमा लगाइ हाले पनि तोकिए बमोजिम तलब र सुबिधा नदिए केही समयमा नै उक्त जागिर छोड्न बाध्य बनाउने गरेको देखिएको छ। साथै कुनै एक जब सेन्टरमा फाराम दर्ता गरिसकेको व्यक्तिलाई तपाईंको जागिर पक्का भइसकेको भनि एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पठाइ त्यहाँसमेत फाराम शुल्क असुल्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
काठमाडौं नयाँ बानेश्वरस्थित सोसाइटी वेलफेयर फ्यासिलिटिज म्यानेजमेन्ट सर्भिसेस प्रालिका सञ्चालक अर्घाखाँची छत्रदेव गाउँपालिका-६ ठुलापोखरी घर भइ भक्तपुर लोकन्थली बस्ने २६ वर्षीय अमर पाण्डेलगायतलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्ने अन्यमा अर्घाखाँची छत्रदेव गाउँपालिका-६ घर भइ हाल काठमाडौं पेप्सिकोला बस्ने ३२ वर्षीय तिलकराम पाण्डे, काठमाडौं बालाजुस्थित दुध पोखरी जब प्लेसमेन्ट एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक लमजुङ दुधपोखरी गाउँपालिका-२ घर भइ हाल काठमाडौं तारकेश्वर नगरपालिका जरखुं बस्ने २२ वर्षीय आनन्द मरहठ्ठा, काठमाडौं कोटेश्वरस्थित एनएन मल्टिपर्पोज प्रालिका सञ्चालक सिरहा, सिरहा नगरपालिका-१९ घर भइ हाल ललितपुर सानोगाँउ बस्ने २३ वर्षीय विवेक यादव रहेका छन्।
यस्तै काठमाडौं महानगरपालिका-३२ आकाशेपुलस्थित एबिएस जब एण्ड ट्रेनिङ सेन्टर प्रालि र हलेसी सेक्युरिटी सर्भिस प्रालिका सञ्चालक ओखलढुङगा सिद्दिचरण नगरपालिका-३ अधेँरी घर भइ हाल काठमाडौं कपन बस्ने २८ वर्षीय अश्विन राई, काठमाडौं कोटेश्वरस्थित सिन्धु रोजगारी सेवाका सञ्चालक सिन्धुली फिक्कल गाउँपालिका-२ घर भइ हाल काठमाडौं जडिबुटी बस्ने २२ वर्षीय घनश्याम पहाडीसमेत पक्राउ परेका छन्।
यस्तै काठमाडौं चाबहिलस्थित प्राश्ना जब ईन्टरनेशनल मल्टिप्रपोज प्रालिका सञ्चालिका रौतहट चन्द्रपुर नगरपालिका- ४ घर भइ हाल काठमाडौं जडिबुटी बस्ने २५ वर्षीया सृजना लामिछाने, काठमाडौं कोटेश्वरस्थित क्विकमाण्डु एमपि प्रालिका सञ्चालिका मोरङ विराटनगर उपमहानगरपालिका-४ घर भइ हाल काठमाडौं कोटेश्वर बस्ने ४० वर्षीया ज्ञानु न्यौपाने र काठमाडौं कोटेश्वरस्थित अनमोल जब मल्टिपल प्रालिका सञ्चालक रौतहट मौलापुर गाउँपालिका-५ घर भइ हाल काठमाडौं कोटेश्वर बस्ने २२ वर्षीय रामवचन कुमार यादव पक्राउ परेको प्रहरीले जनाएको छ।
उनीहरूलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र बालाजुमा पठाइएको प्रहरीले जनाएको छ।