काठमाडौं- आइतबार ३.६६ अंकले घटेर २५४३.३९ बिन्दुमा पुगेको नेप्से परिसूचक सोमबार उतारचढावका बीच झिनो अंकले बढेको छ।
सोमबार तलमाथि भइरहेको बजार एक समय २५६६ को बिन्दुसम्म पुगेको थियो। उतारचढाव हुँदै अन्तिम कारोबारसम्म बजार १.५४ अंकले बढेर २५४४.९३ बिन्दुमा पुगेको छ। सोमबार २ अर्ब ६० करोड रूपैयाँको कारोबार भएको छ।
गएको साता तीन दिनको कारोबारमा बजार १ सय १४ अंकले घटेको थियो। यो साताको दुई दिनको सामान्य अवस्था हेर्दा बजारले लगानीकर्ताको साथ पाएको छैन। सेयर बजारको बिग्रँदो अवस्था सुधारका लागि गतसाता बुधबार अर्थ मन्त्रालयमा भएको छलफलपछि यो साता सकारात्मक प्रभाव देखिने लगानीकर्ताहरूले आँकलन गरेका थिए। तर अझै बजारको अवस्था सुधारतर्फ यकिन देखिँदैन।
गएको साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७.७३ अंकले घटेर २६५३.७० बिन्दुमा रोकिएको थियो। सोमबार ४३.१० ले घटेर बजार २६१०.६० बिन्दुमा झरेको थियो। मंगलबार बन्द रहेको बजारमा बुधबार पनि गिरावट देखिएको हो। बुधबार सेयर बजार ६३.५४ अंकले घटेर २५४७.०४ बिन्दुमा झरेको हो। बिहीबार भने बजार बन्द रहेको थियो।
यसअघि बजारमा देखिएको उतारचढावमा राजनीतिक उथलपुथल र नेपाल राष्ट्र बैंकले लिएको नीतिलाई कारण देखाउँदै विश्लेषण भइरहेका थिए। गएको सातादेखि नै केही ठूला लगानीकर्ताले बजारमा अझै चलखेल गरिरहेको विश्लेषकहरू बताउँछन्। राष्ट्र बैंकको नीतिलाई देखाउँदै ठूला लगानीकर्ताले आफ्नो चलखेल मात्र बढाएको र उक्त नीतिले बजारमा सिधा प्रभाव नपर्ने केही विश्लेषकहरू बताउँछन्। केहीले भने त्यही नीतिको असर नै बजारमा परिरहेको विश्लेषण गर्छन्।
लगातार नेप्से परिसूचक बिग्रिँरहँदा सेयर बजार बियरिस ट्रेण्डमा जान लागेको संकेत देखिएको छ। बैंकिङ तरलता र ब्याजदरले सेयर बजारलाई सबैभन्दा धेरै प्रभावित पार्ने गरेको छ। गत भदौ २ नेप्से परिसूचक हालसम्मकै उच्च ३१९९ बिन्दुमा पुगेको थियो। भदौ ३ देखि ओरालो लागेको बजार मंसिरसम्म उच्च बिन्दुबाट ८३७ अंकले तल झरेको थियो।
मंसिर पहिलो सातामा सेयर बजार २३६१.२७ बिन्दुमा रोकियो। पुसदेखि फागुनको पहिलो सातासम्म आइपुग्दा सेयर बजार २९०० को बिन्दुमा पुग्न लागेको थियो। तर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सेयर कर्जामा झनै कडाइ गरेपछि बजार लगातार घटिरहेको छ। बजारको बिग्रँदो अवस्थालाई सुधारतर्फ लैजान अब नियामकहरूकै भूमिका महत्वपूर्ण हुने विश्लेषकहरू बताउँछन्।