आइतबार, असोज ६ गते २०८१    
images
images

दमौली आगलागीबाट ९ घरमा क्षति, करोडौँको नोक्सान

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २३ २०७८
images
images
दमौली आगलागीबाट ९ घरमा क्षति, करोडौँको नोक्सान

ज्योति जनरल सप्लायर्स र भूपाल हार्डवेयरमा आइतबार भएको आगलागीका कारण नजिकै रहेका घरहरुमा क्षति पुगेको छ।

images
images

दमौली- तनहुँको व्यास नगरपालिका-४ मुख्यचोकस्थित हार्डवेयरको गोदामबाट सल्किएको आगोले ९ घरमा क्षति हुँदा करोडौँको धनमाल नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ। मुख्यचोकस्थित भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्समा भीषण आगलागी भएको हो।

images
images
images

हार्डवेयर पसलबाट सल्किएको आगोले नजिकका घरहरूमा पनि क्षति पुगेको छ। तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले अत्यन्तै ठूलो क्षति भए पनि एकीन विवरण आउन बाँकी रहेको बताएका छन्। 'क्षतिको आँकलन गर्न सक्ने अवस्था नै छैन, ठूलो क्षति छ', उनले भने, 'केही दिनमा क्षतिको यथार्थ विवरण आउला।'

जिल्ला प्रहरी कार्यालय तनहुँले क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको जानकारी दिएको छ। प्रहरी नायब उपरीक्षक युवराज खड्काले क्षतिको विवरण प्राप्त नभइसकेको बताउँदै विवरण लिने काम भइरहेको जानकारी दिए। आगलागीको कारण पनि नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आगलागी नियन्त्रणका क्रममा स्काभेटरले तीन वटा टहराहरू भत्काएको प्रहरी नायब उपरिक्षक खड्काले जानकारी दिए।

images

आगलागी नियन्त्रणका लागि प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीको नेतृत्वमा १०० जनाको टोली, जिल्ला प्रहरी कार्यालय लमजुङ र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब महानिरीक्षक घटनास्थलमा खटिएका थिए। आगलागी नियन्त्रणका लागि चापाघाटस्थित कालीभञ्जन गण (इ), सशस्त्र प्रहरी बल र स्थानीयवासीले पनि सहयोग पुर्‍याएका थिए।

आगलागी नियन्त्रणका लागि व्यास नगरपालिका, पोखरा महानगरपालिका र लमजुङबाट आएको दमकलका साथै हेलिकप्टरसमेत प्रयोग गरिएको थियो। बिहान १० बजेदेखि सुरु भएको आगलागी दिउँसो २ बजेपछि पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विक, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमन्त्री गोविन्दराज जोशी, शङ्कर भण्डारी, नेकपा एमाले केन्द्रीय सदस्य भगवती न्यौपाने लगायतले उक्त घटना पनि दुःख व्यक्त उचित क्षतिपूर्तिका लागि सरकारसमक्ष पहल गर्ने बताएका छन्। रासस


प्रकाशित : सोमबार, फागुन २३ २०७८०७:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend