बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

नेपाल टेलिकमको घट्दो सेयर मूल्यमा ब्रेक, लाभांश आउने चर्चापछि पुन: बढ्न थाल्यो

आइतबार, फागुन २२ २०७८
नेपाल टेलिकमको घट्दो सेयर मूल्यमा ब्रेक, लाभांश आउने चर्चापछि पुन: बढ्न थाल्यो

काठमाडौं- लगातार घटिरहेको नेपाल टेलिकमको सेयर मूल्य पुनः बढ्न थालेको छ। आइतबार प्रतिकित्ता १३ रुपैयाँले बढेर १६३७ रुपैयाँ कायम भएको छ।

कारोबार भने टेलिकमको पनि खुम्चिएको छ। आइतबार ५१ हजार २ सय १८ कित्ता कारोबार हुँदा ८ करोड ३१ लाख रुपैयाँको मात्रै सेयर खरिद बिक्री भएको छ। 

ntc.png

गत आवको द्वितीय त्रैमासिक अवधि २०७७ पुस मसान्त सम्मको खुद मुनाफा ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार रहेकोमा चालु आवको सोही अवधि (२०७८ पुस मसान्त) मा  ६० करोड ८४ लाख ८१ हजार (अर्थात १८.४९ प्रतिशत) ले वृद्धि भई ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैयाँ पुगेको छ। 

पछिल्लो समयको तथ्यांकलाई हेर्ने हो भने टेलिकमको सेयर लगानीकर्ताको आकर्षणमा परेको छ। लाभांश घोषणा हुने अन्तिम समय भएकोले पनि लगानीकर्ताहरू नाफा बुक गर्नका लागि टेलिकमको सेयर खरिद गरिरहेका छन्।

अघिल्लो वर्षको नाफाबाट ४० प्रतिशत लाभांश दिएको कम्पनीले यो वर्ष पनि सोही हाराहारीमा नगद लाभांश दिने सम्भावना रहेको छ। केही समय अगाडि बोनस सेयरसम्मको चर्चा चले पनि यसपटक पनि त्यो सम्भावना छैन। कम्पनीको ५२ हप्तामा न्यूनतम मूल्य ९७२ रुपैयाँ रहेको थियो। अधिकता १७९९ रुपैयाँसम्म कारोबार भएको थियो। 

खासगरी नाफा राम्रो कमाएकाले लाभांश बढी दिने आशामा लगानीकर्ता केन्द्रित भएका छन्। गत वर्ष ४० प्रतिशत नगद लाभांश दिएको थियो। यसवर्ष पनि कम्पनीको क्षमता ४० देखि ५५ प्रतिशतसम्म लाभांश दिने देखिन्छ। 

यस वर्ष पनि बोनस सेयरको हल्ला चलाइएको छ। तर १० वर्षको इतिहासमा हालसम्म नगद मात्रै लाभांश दिएको छ। कम्पनीको १५ करोड कित्ता सेयर रहेको छ। १५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको छ। कम्पनीको बजार पुँजीकरण २ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको कम्पनीले १० वर्षयता ४० प्रतिशतभन्दा कम लाभांश दिएको छैन। सबैभन्दा धेरै आर्थिक वर्ष २०७३÷७४ मा ५५ प्रतिशत लाभांश दिएको थियो।


प्रकाशित : आइतबार, फागुन २२ २०७८१४:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend