काठमाडौं- गएको साता तीनको कारोबारमा ११४ अंकले घटेको नेप्से परिसूचक यो साता आइतबार पनि झिनो अंकले ओरालो लागेको छ। आइतबार परिसूचक ३.६६ अंकले घटेर बजार २५४३.३९ बिन्दुमा झरेको छ।
आइतबार कारोबार रकमसमेत घटेको छ। ५१ लाख ३९ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४९ करोड रूपैयाँको कारोबार भएको छ। जहाँ १०१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ७८ कम्पनीको मूल्य बढेको छ। १३ कम्पनीको सेयर मूल्यमा परिवर्तन भएन।
सेयर बजारको बिग्रँदो अवस्था सुधारका लागि गतसाता बुधबार अर्थ मन्त्रालयमा भएको छलफलपछि यो साता सकारात्मक प्रभाव देखिने लगानीकर्ताहरूले आँकलन गरेका थिए। तर अझै बजारको अवस्था सुधारतर्फ देखिएको छैन। गएको बुधबारको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले इनसाइडर ट्रेडिङ गर्ने प्रवृति हटाउने विषय सरकारलाई चुनौती रहेकाे भन्दै लगानीकर्ताको सुरक्षा गर्नु सरकारको दायित्व भएकाे बताएका थिए। त्यसबाहेक पनि बजार सुधारका लागि उनले विभिन्न निर्देशनसमेत दिएका थिए।
गएको साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७.७३ अंकले घटेर २६५३.७० बिन्दुमा रोकिएको थियो। सोमबार ४३.१० ले घटेर बजार २६१०.६० बिन्दुमा झरेको थियो। मंगलबार बन्द रहेको बजारमा बुधबार पनि गिरावट देखिएको हो। बुधबार सेयर बजार ६३.५४ अंकले घटेर २५४७.०४ बिन्दुमा झरेको हो। बिहीबार भने बजार बन्द रहेको थियो।
यसअघि बजारमा देखिएको उतारचढावमा राजनीतिक उथलपुथल र नेपाल राष्ट्र बैंकले लिएको नीतिलाई कारण देखाउँदै विश्लेषण भइरहेका थिए। गएको सातादेखि नै केही ठूला लगानीकर्ताले बजारमा अझै चलखेल गरिरहेको विश्लेषकहरू बताउँछन्। राष्ट्र बैंकको नीतिलाई देखाउँदै ठूला लगानीकर्ताले आफ्नो चलखेल मात्र बढाएको र उक्त नीतिले बजारमा सिधा प्रभाव नपर्ने केही विश्लेषकहरू बताउँछन्। केहीले भने त्यही नीतिको असर नै बजारमा परिरहेको विश्लेषण गर्छन्।
चालु आर्थिक वर्षको सुरुवातमा पनि बजार बढेर उत्साह भइरहँदा बैंक तथा वित्तीय संस्थाहरूले पुँजी बजारमा लगानी गर्न हुँदैन भन्न थालेर बजारको ट्रेण्ड बिगारिएको विश्लेषक अम्बिकाप्रसाद पौडेल बताउँछन्। 'त्यसबेला लगानी गरेकाहरूलाई पनि निश्चित समयमा बाहिरिन भनियो। यसले गर्दा बजारमा असर देखिन थाल्यो। बैंक तथा वित्तीय संस्था र अन्य संस्थागत लगानीकर्ता आर्षित भइरहेका भए पनि केन्द्रीय बैंकले त्यहीनेर प्रहार गर्यो' उनले भने।
लगातार नेप्से परिसूचक घट्न थालेपछि सेयर बजार बियरिस ट्रेण्डमा जान लागेको संकेत देखिएको छ। बैंकिङ तरलता र ब्याजदरले सेयर बजारलाई सबैभन्दा धेरै प्रभावित पार्ने गरेको छ।
गत भदौ २ नेप्से परिसूचक हालसम्मकै उच्च ३१९९ बिन्दुमा पुगेको थियो। भदौ ३ देखि ओरालो लागेको बजार मंसिरसम्म उच्च बिन्दुबाट ८३७ अंकले तल झरेको थियो।
मंसिर पहिलो सातामा सेयर बजार २३६१.२७ बिन्दुमा रोकियो। पुसदेखि फागुनको पहिलो सातासम्म आइपुग्दा सेयर बजार २९०० को बिन्दुमा पुग्न लागेको थियो। तर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत सेयरकर्जामा झनै कडाइ गरेपछि बजार लगातार घटिरहेको छ।