बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

गाउँबाट युवा पलायन रोक्न ‘कृषि पर्यटन विकास’

images
आइतबार, फागुन २२ २०७८
images
images
गाउँबाट युवा पलायन रोक्न ‘कृषि पर्यटन विकास’
images
images

पर्वत- रोजगारीका लागि प्रवासमा गएका नेपालीहरूको संस्था ‘चार भञ्ज्याङ तमु समाज बेलायत’ले जिल्लामा कृषि  पर्यटनको विकास गर्न थालेको छ।

images
images

जिल्लाको चार भञ्ज्याङ क्षेत्रका रूपमा परिचित फलेवास नगरपालिकाको वडा नं ८ र ९ र महाशिला गाउँपालिकाका केही क्षेत्रलाई कृषि पर्यटनका रूपमा विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको छ। उक्त क्षेत्रबाट वैदेशिक रोजगारीका सिलसिलामा हङकङ, बेलायतलगायतका क्षेत्रका गएका स्थानीय प्रवासीले अभियान सञ्चालन गरेका हुन्।

images
images

शिक्षा, स्वास्थ्य, कृषि, वातावरण र पर्यटनलगायतका विषयलाई अवधारणाका रूपमा अघि सारेर अभियान सञ्चालन गरेको चार भञ्ज्याङ तमु समाजले परियोजना नै निर्माण गरेर कार्यान्वयनमा ल्याएको हो।  

images
images

गाउँ बस्ती सहरीकरणको खोजीमा खाली हुँदै गएपछि गाउँवासीलाई गाउँमै रमाउने बनाउने मुख्य उद्देश्यका नयाँ अवधारणा अघि सारिएको तमु समाज बेलायतका अध्यक्ष मदन गुरुङले जानकारी दिए।

उनले यसअघि विद्यालयका जीर्ण भवन निर्माण गर्ने र अत्याधुनिक प्राविधिक शिक्षा सञ्चालनका लागि समेत सहयोग गरिसकेको स्मरण गराउँदै पर्वत मै पहिलोपटक परियोजनाअन्तर्गत टेलिमेडिसिन सेवा सञ्चालन गरेको बताए। समाजको पहलमा निर्माण भएको टेलिमेडिसिनमा अहिले दैनिक ५० देखि १०० सम्म बिरामीले सेवा लिइरहेका छन्।

समाजका पूर्वअध्यक्ष चन्द्र गुरुङले गाउँको विकासका लागि आफूहरु गाँस काटेर जम्मा गरेको रकम र बिभिन्न प्रतियोगितामा सहभागी भएर प्राप्त पुरस्कार रकमलाई समेत परिचालन गरेर गाउँको विकासमा लगानी गरिएको बताए। फलेवास नगर प्रमुख पदमपाणि शर्माले चार समाज, फलेवास र महाशिलाका बिभिन्न वडामा सञ्चालन गरेका कार्यक्रमले समुदायका विपन्न वर्गले प्रत्यक्ष सेवा पाएको बताए।
 
फलेवासका वडा नं ८ र ९, महाशिला–६ र ५ मा स्थायी घर भई हाल विदेशमा रहेका गुरुङ समुदायले आफ्नो गाउँको विकास र समृद्धिका लागि तमु समाजमार्फत विभिन्न सामाजिक कार्य सञ्चालन गर्दै आएका छन्। समाजले उपलब्ध गराउने सुविधा सबै जाति तथा विपन्न समुदायका लागि गर्दै आएको समाजका संस्थापक अध्यक्ष नारायणप्रसाद गुरुङले जानकारी दिए।

हाल समाजले उच्च मूल्यमा बिक्री गर्न सकिने फलफूललगायत आधुनिक कृषि प्रविधिको विकास तथा पर्यटन प्रवद्र्धन कार्यक्रम अघि सारेको छ। अभियान सञ्चालनको पूर्वतयारीअनुरुप चार भञ्ज्याङ क्षेत्रका फलामखानी, जलजला, चिसापानी, थाम्मेथुम, देवीस्थानलगायतका ७०० मिटर उचाइबाट करिब दुई हजार मिटर उचाइसम्मको दूरीमा माटो परीक्षणसमेत गरिएको छ।

योजनाविज्ञ डा योगेन्द्र रिजालले यस क्षेत्रमा ओखरखेतीलाई मुख्य खेतीका रूपमा प्रवद्र्धन गर्ने गरी परीक्षण गरिएको र उक्त ओखरखेतीको सम्भाव्यता रहेको बताए। कार्यक्रममा कृषिविज्ञ नीलकण्ठ शर्माले विभिन्न क्षेत्रमा पुगेर तयार गरेको फलफूल खेती सम्भाव्यता प्रारम्भिक अध्ययन प्रतिवेदन पेश गरेका थिए। 


प्रकाशित : आइतबार, फागुन २२ २०७८०४:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend