काठमाडौं- लगातार नेप्से परिसूचक घट्न थालेपछि सेयर बजार वियरिस ट्रेण्डमा जान लागेको संकेत देखिएको छ। बैंकिङ तरलता र ब्याजदरले सेयर बजारलाई सबैभन्दा धेरै प्रभावित पार्ने गरेको छ। राष्ट्र बैंकको नीतिले पनि सेयर बजार प्रभावित हुँदै आएको छ। गत भदौ २ नेप्से परिसूचक हालसम्मकै उच्च ३१९९ बिन्दुमा पुगेको थियो। भदौ ३ देखि ओरालो लागेको बजार मंसिरसम्म उच्च बिन्दुबाट ८३७ अंकले तल झरेको थियो।
मंसिर पहिलो सातामा सेयर बजार २३६१.२७ बिन्दुमा रोकियो। पुसदेखि फागुनको पहिलो सातासम्म आइपुग्दा सेयर बजार २९०० को बिन्दुमा पुग्न लागेको थियो। तर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत सेयरकर्जामा झनै कडाइ गरेपछि बजार लगातार घटिरहेको छ।
बजार घटेर बिहीबार २५४७.०४ बिन्दुमा आइपुगेको छ। बिहीबार पनि ६३.५४ अंकले बजार घटेको थियो। यसले बजार बढ्दो ट्रेण्डमा भन्दा पनि घट्दो ट्रेण्ड देखिएको छ। आर्थिक वर्ष २०७७/०७८को अन्त्यसम्म आफ्नै गतिमा हिडिरहेको थियो। बजार बढ्दो क्रमममा नै थियो। बजारमा उत्साह नै थियो। बजारमा तरलता पनि सामान्य नै थियो। तर पछिल्लो समय यसले लय गुमाएको छ।
बजार बारे जानकार अम्बिकाप्रसाद पौडेलले सेयर बजारका बारेमा विश्लेषण गरेका छन्।
प्रस्तुत छ उनको विश्लेषण
चालु आर्थिक वर्षको सुरुवातमा पनि बजार बढ्दो नै थियो। बजारमा उत्साह दिन प्रतिदिन बढिरहेको थियो। तर बैंक तथा वित्तीय संस्थाहरूले पुँजी बजारमा लगानी गर्न हुँदैन भनियो। लगानी गरेकाहरुलाई पनि निश्चित समयमा बाहिरिन भनियो। यसले गर्दा बजारमा असर देखिन थाल्यो। नेपाल राष्ट्र बैंकको यो नीतिले गर्दा बजारमा असर देखिन सुरु भयो।
बैंक तथा वित्तीय संस्था र अन्य संस्थागत लगानीकर्ता आर्षित भइरहेका भएपनि केन्द्रीय बैंकले त्यहीनेर प्रहार गर्यो। म आफैंले कारोबार गर्दा कर कम छ। मैले अम्बिका पौडेलको नामबाट आईपीओ भर्न पनि पाउँछु। बैंक तथा वित्तीय संस्थाले जसरी लगानी गरिरहेको थिए उनीहरुले २५ प्रतिशतभन्दा बढी कर तिरिरहेका छन्। तर यसमै प्रहार भयो। जसका कारण बजार तल झर्न सुरू भएको थियो। यो व्यवस्थाले एक झड्का हान्यो। यसबाट केही असर परेको बजार सम्हालिने क्रममै थियो। बजार लयमा फर्किदै थियो। यहीबीचमा नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीमा लगानी गर्नु ठिक छैन भनेर सूची निकाल्यो। जसबाट बजारमा अर्को झड्का हान्यो। सरकार परिर्वतन भयो। अर्थमन्त्री तथा सरोकारवाला निकायामा बस्नेहरुले नकारात्मक रुपमा आफूखुसी बोल्न थाले।
सरकारी निकायहरुले हेर्ने दृष्टिकोण पूरापुर नकारात्मक भयो। जुन अहिलेसम्म पनि छ। जसले गर्दा पुँजी बजारलाई नै पेसा बनाएकाहरुलाई सशंकित बनायो। त्यसपछि फेरि आर्थिक वर्ष २०७८/०७९ का लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्यो। मौद्रिक नीति मार्फत कुनै पनि व्यक्तिको सम्पत्तिलाई सम्पत्ति नै हैन भन्ने गरी ४ करोड र १२ करोड रुपैयाँको नियम ल्यायो।
दुनियाँमा मसँग भएको भ्यालु क्रिएट गर्ने सम्पत्तिलाई तैले यो भन्दा बढी भ्यालु पाउँदैनस् भन्ने कतै हुँदैन। सम्पत्तिलाई खोस्टो बनाउने काम गरियो। भएको सम्पत्ति ऋणयोग्य भएन। २१औं शताब्दीमा ऋणयोग्य नभएको कुनै पनि बिजनेसलाई बिजनेस भन्दैन। यसलाई व्यक्तिगतमा ४ करोड र संस्थागतमा १२ करोडको ऋण सीमा तोकेर ४/१२ करोड भनियो। कसैसँग १२ अर्बको सेयर होला। तर त्यो रकम सेयर प्रयोजनका लागि योग्य छैन भनियो। यो पनि पुँजी बजारमाथिको निर्मम प्रहार थियो।
फेरि अहिले पनि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षासँगै सेयर कर्जाको जोखिम १ सयबाट बढाएर १५० प्रतिशत बनाउने काम भयो। सेयर बजारमा आजको दिनमा पनि जम्मा लगानीको २ प्रतिशत मात्रै बजारमा लगानी छ। लगानी नै कम भएको अवस्थामा जोखिम पनि न्यून हुन्छ। २ प्रतिशतले त्यति ठुलो असर गर्ने पनि होइन। आजको मितिसम्म एउटा पनि सेयर कर्जा डिफल्ट भएको रेकर्ड छैन। यस्तो ऋणलाई किन जोखिम बढी भएको बनाउँछौं?
यसरी जसले बजारको संरक्षण गर्नुपर्ने हो, जसले पुँजीबजारको विकासमा सहयोग गर्नु पर्ने हो, विस्तारका लागि चासो दिनु पर्ने हो, जसले लगानी कर्तालाई उत्प्रेरित गर्नु पर्ने दायित्व नियामकको हो। तर त्यसकाे विपिरत काम भइरहेको छ।
संसारमा हेर्ने हो भने पुँजी बजार चलायमान छ। लगानीप्रति विश्वास छ। पुँजी निर्माणको प्राथमिक थलो नै पुँजीबजार बनेको छ। जसरी एउटाले हार्ने र अर्कोले जित्ने भनेर गलत प्रचार गरियो त्यो होइन। यदि यसो हुँदो हो त संसारका विकसित देशमा यसरी फस्टाउने थिएन।
तर हाम्रा नियामक तथा नीति निर्माताहरु जसले संरक्षण गर्नु पर्नेमा नियन्त्रण गर्न तिर लाग्दा बजारमा नकारात्मक असर परेको हो। पटक-पटक सना तथा ठूला लगानीकर्ता र बुझेका लगानीकर्तालाई निर्मम प्रहार गरेको कारण पुँजी बजारमा प्रभाव परेको हो। पुँजी बजारमा मूल्य भनेको केही पनि हैन। कहिले काँही भनिन्छ, यो सिधै रिर्टनसँग जोडिएको छ। कम्पनीको स्थायीत्वसँग जोडिएको छ। व्यवस्थापनसँग जोडिएको छ। तर यसको निश्चत भार हुन्छ। शतप्रतिशत नै त्यो भने हैन। मूल्य निर्धारण त लगानीकर्ताको विश्वास हो। समग्रमा सरकारले बजार प्रति लिने नीति हो। सरकारी नीतिका कारण बजारमा असर परेको हो।
बढ्नसक्ने आधारहरु
बजार बढ्नका लागि सबैभन्दा पहिले सरकार, सरकारका निकाय, नियामकहरु र पुँजीबजारसँग प्रत्यक्ष जोडिएकाहरुको बजारलाई हेर्ने दृष्टिकोण परिर्वतन हुन जरुरी छ। पुँजीबजार सबैले जित्ने ठाउँ हो। तर सरकारको निकम्मापनले कसैले जित्ने होइन बजारले नै हार्दै छ। पुँजीबजार पुँजी सिर्जना गर्ने थलो हो। छरिएर रहेको लगानीलाई एकीकृत गर्ने थलो हो। उद्यमसीलता भएको व्यक्तिले कम्पनी स्थापना गरिसकेपछि नगद प्रभाव हुने ठाउँ हो र उसलाई अर्को उद्योग खोल्नका लागि आधार बन्ने थलो हो हो भनेर बुझदिनु पर्छ।
लगानीकर्ताको संख्या जुन किसिमले बढीरहेको छ, लगानीकर्ताले मल्टि प्रोडक्टहरु खोजिरहेका अवस्था छ। सरकारले त लगानीकर्ताले खोजको उपकरणहरुको व्यवस्था गरिदिनु पर्छ। बजार बढ्दा सबैले फाइदा प्राप्त गर्ने र घट्ला सबैलाई नोक्सानी हुने भएको हुँदा उपकरण बिहीनहरुलाई सहज हुने गरी काम गरिदिनु पर्छ। यसबाट सरकार र लगानीकर्ता दुबैलाई फाइदा हुन्छ। अर्को ऋणको सीमालाई लिएर सानालाई सुरक्षा दिन्छौ भन्ने नाममा ठूला लगानीकर्ताको मनोबल गिराउने काम गर्नु हुँदैन।
उदाहरणकै लागि अहिले हामीले प्रयोग गर्ने मोबाइल फोन उत्पादन गर्ने कम्पनी त सयौंको संख्या छन् तर ४/५ वटा कम्पनीले मात्रै ८० प्रतिशत मार्केट ओगेटेका छन्। यसकारण ठूलालगानीकर्तालाई मारेर साना लगानी कर्ता माथि जान सक्दैनन्। ठूलालाई हेरेर सानाले काम गर्दै विस्तार गर्दै जाने हो। ठूला लगानीकर्तालाई असर गर्ने नीति पनि ल्याउनु हुँदैन।
अहिलेको अवस्थालाई हेर्दा बजार जति घट्नु घटिसकेको छ। यहाँबाट पनि घट्ने अवस्था देखिँदैन। बजार केही माथि जान्छ, जानुपर्छ। ब्याजदर लगायतको विषयले केही प्रभाव पारेपनि ठूलो असर पार्ने अवस्था छैन। मात्र सरकार बजारप्रति सकारात्मक भइदिए पुग्छ। सरकारले पुँजीबजारलाई पुँजीबजारकै रुपमा हेरिदिए पुग्छ। ब्याजदरले बजार एकदमै बुलिस हुँदा गर्ने हो। अहिले बजार वियरिसम गइसेकेको अवस्थामा असर गर्दैन। बजार तल जाने ठाउँ म देख्दिन। सरकारी नीतिका कारण आशा लाग्ने ठाउँ चाहिँ कम भइसकेको छ। सरकारले आफ्नो दृष्टिकोणमा परिर्वतन गरेको अवस्थामा मात्रै पनि बजारमा सुधार आउँछ।