बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

चिनियाँ ‘रेड टुरिजम’ : पर्यटन उद्योग कि वैचारिक प्रचार?

बिहीबार , कात्तिक २० २०८२
चिनियाँ ‘रेड टुरिजम’ : पर्यटन उद्योग कि वैचारिक प्रचार?

चीनमा हजारौँ आधिकारिक रेड टुरिजम स्थलहरू, ऐतिहासिक सङ्ग्रहालय र स्मारक भवनहरू छन्। अन्तर्राष्ट्रिय भ्रमणमा व्यापकरुपमा नजोडिए पनि रेड टुरिजम चिनियाँ आन्तरिक पर्यटनमा ठूलो उपलब्धि भइरहेको छ।

काठमाडौं- चीनमा 'रेड टुरिजम'ले पछिल्ला केही वर्षयता उल्लेखनीय गति लिएको छ। चिनियाँ सरकारले ऐतिहासिक स्थलवरपर पर्यटन उद्योगलाई प्रोत्साहन गरिरहेको छ। यो विशुद्ध आर्थिक कदम हो या चिनियाँ कम्युनिष्ट पार्टीको वैचारिक आधारलाई बलियो बनाउने आवश्यकताबाट प्रेरित काम?

रेड टुरिजमले चिनियाँ पर्यटन उद्योगको यस्तो पक्षलाई जनाउँछ जुन ऐतिहासिक रूपमा माओत्सेतुङ र चीनको कम्युनिष्ट पार्टीले कुओमिन्ताङविरुद्ध गरेको क्रान्तिकारी संघर्षसँग सम्बन्धित स्थलहरूमा समर्पित छ। यसले सरकारको लागि ठूलो राजस्व मात्र जुटाएको छैन, देशको इतिहासमा चासो पनि जगाएको छ।

क्रान्तिकारी संघर्षसँग सम्बन्धित यानान, हेबेई, जुनी, गान्सु आदि क्षेत्रहरूलाई लोकप्रिय पर्यटकीय स्थलको रूपमा विकास गरिएको छ। यो चिनियाँ सरकारी प्रयास हो जसले स्थानीय, विद्वत वर्ग र विज्ञहरूको सहयोगमा ती क्षेत्रहरूलाई महत्वपूर्ण स्थलमा परिणत गरिएको छ।

चिनियाँ सरकारले उक्त कार्यक्रमलाई भ्रष्टाचार र सामाजिक असमानताको समस्यालाई सम्बोधन गर्न समाजवादी विचारहरूलाई सुदृढ पार्ने माध्यमको रूपमासमेत हेरिरहेको छ। एक तरिकाले यो दुईपक्षीय रणनीति हो, जसले गरिबीमा रहेका क्षेत्रहरूमा आर्थिक लाभ ल्याउनुका साथै सत्तामा चिनियाँ कम्युनिष्ट पार्टीको पकडलाई पनि सुदृढ गरिरहेको छ।

चीनको दक्षिण-पश्चिमी गुइझो प्रान्तको केन्द्रमा पर्ने लुशान पासको बाटोमा कम्युनिस्ट पार्टीका कार्यकर्ताहरू इतिहास बुझ्न खुब घुमिरहेका भेटिन्छन्। त्यहाँ ९० वर्षअघि भएको युद्धका बलिदानका कथाहरू टुर गाइडले बडो रोचक ढंगले सुनाउँछन्। लुशान जुनई सहरनजिक पर्छ, सन् १९३० को दशकको ‘लङ मार्च’ का क्रममा नेशनलिस्ट सेनामाथि राता सेनाले पहिलो महत्वपूर्ण विजय हासिल गरेको स्थानका रूपमा त्यसलाई चिनिन्छ। 

चीनमा हजारौँ आधिकारिक रेड टुरिजम स्थलहरू, ऐतिहासिक सङ्ग्रहालय र स्मारक भवनहरू छन्। अन्तर्राष्ट्रिय भ्रमणमा व्यापकरुपमा नजोडिए पनि रेड टुरिजम चिनियाँ आन्तरिक पर्यटनमा ठूलो उपलब्धि भइरहेको छ।

१.४ अर्ब जनसंख्या भएको चीनमा आन्तरिक पर्यटकको तथ्यांक सधैँ उही गतिको नहुने भए पनि धेरै निजी ट्राभल एजेन्सीहरूले संकलन गरेका उडान, रेल, होटल र सङ्ग्रहालय टिकटका विवरणअनुसार चिनियाँहरू रेड टुरिजमको स्थलगत भ्रमणमा ठूलो संख्यामा निस्किरहेका छन्। सरकारी अनुमानअनुसार अहिले हरेक वर्ष देशभर करिब २ अर्ब यस्ता भ्रमणहरू भइरहेका छन्।

गुइझोको जुनई सहर जसलाई आधिकारिक चिनियाँ इतिहासमा पार्टीको सबैभन्दा निर्णायक क्षणहरूको साक्षीका रूपमा चित्रित गरिएको छ। त्यहाँ रेड टुरिजमको लोकप्रियताका उत्कृष्ट उदाहरण बनिरहेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ। उपत्यकाको बीचमा अवस्थित उक्त सहरलाई स्याङज्याङ नदीले विभाजित गरेको छ।

यसमा सबैभन्दा महत्त्वपूर्ण स्थल सहरको मुटुमा रहेको दुईतले इँटा र काठको भवन हो। जुन सन् १९३५ जनवरीमा भएको ‘जुनई सम्मेलन’ स्थल हो। उक्त बैठक लङ मार्चका सबैभन्दा अन्धकारमय दिनहरूमा आयोजित कम्युनिस्ट क्रान्ति र माओका लागि निर्णायक मोडका रूपमा लिइन्छ। 

चिनियाँहरूले सुनाउने कथाअनुसार लामो समयको तीव्र क्षतिपछि र नेशनलिस्ट सेनाद्वारा संख्यात्मक रूपमा दबिएको अवस्थामा ४१ वर्षीय माओले सम्मेलनमा सहभागी नेताहरूलाई आफ्नो गुरिल्ला रणनीतिलाई समर्थन गर्न र आफूलाई उच्च कमाण्डमा पदोन्नति गर्न राजी गराएका थिए। जसले उनलाई अन्ततः सर्वोच्च नेतृत्वतिर उकास्ने बाटो खोल्यो।

माओपछि सबैभन्दा शक्तिशाली नेता मानिएका सी जिनपिङले पार्टी प्रमुखको रूपमा सन् २०१५ र २०२१ मा दुईपटक जुनई भ्रमण गरे। उनले गुइझोमा रातो सेनाको ‘अमिट विरासत’ उल्लेख गर्दै जुनई सम्मेलनलाई सही नेतृत्व स्थापनाको आधारका रूपमा वर्णन गरेका थिए।

अहिले उक्त सम्मेलन भवन र त्यससँगैको सङ्ग्रहालयमा मौलिक पत्रहरू, नक्सा, विभिन्न सन्देसहरू, फोटोहरू, फाटेका चप्पल, बन्दुक र बिगुल प्रदर्शनमा छन्। त्यहाँ पनि बलिदानको विषय नै केन्द्रमा राखिएको छ।

हालै सङ्ग्रहालय भ्रमणका क्रममा भेटिएकी एक चिनियाँ युवतीको भनाइ उद्धृत गर्दै फाइनान्सियल टाइम्सले लेखेको छ, ‘लुशान युद्धका दृश्यहरूले उनलाई मनसम्म छुन खोजेको बताइन्। पहाड र नदीबीच लुकेका सैनिकहरू, ढुंगामुनि बस्दा, शत्रुमाथि गोली चलाउँदा ती सबै बुझ्न आफ्नै आँखाले हेर्नुपर्ने उनले सुनाइन्। उनले थपिन्, ‘आजको हाम्रो जीवन हाम्रा पूर्वजहरूको रगतको कमाइ हो। बच्चाहरूले पनि यो सबै हेर्न आउनुपर्छ।'

इतिहासबाट के सम्झिनुपर्छ र के बिर्सनुपर्छ भन्ने विषय चीनको पार्टी विचारधाराका लागि सधैँ संवेदनशील र सशक्त प्रचार उपकरण बनेको छ। सङ्ग्रहालय र क्रान्तिकारी स्थलहरूलाई ‘सहभागितामूलक प्रचार’ प्रणालीको हिस्सा मानिन्छ, जसको प्रयोग सोभियत रसिया र पूर्वी जर्मनीमा पनि गरिन्थ्यो।

युवा विद्यार्थीहरू चिनियाँ राष्ट्रिय नायकहरूलाई श्रद्धाञ्जली अर्पण गर्ने प्रमुख अवसरका लागि पनि रेड टुरिजम प्रचार गरिरहेका स्थानहरूमा पुग्छन्। रेड टुरिजम गन्तव्यहरूले पर्यटकहरूको संख्या बढ्दो रूपमा देखिएको छ। ग्लोबल टाइम्सका अनुसार उक्त क्षेत्रमा पछिल्लो समय होटल बुकिङ वार्षिक रूपमा लगभग २० प्रतिशतले बढेका छन्।

चीनमा रेड टुरिजम वृद्धि हुनुको प्रमुख कारण सरकारबाट प्राप्त हुने सहयोग र समर्थन हो। सन् २०१० मा नै विभिन्न १३ सहरका अधिकारीहरूले रेड टुरिजम सहरहरूका लागि रणनीतिक सहयोग घोषणापत्रमा हस्ताक्षर गरेका थिए। उनीहरूले पार्टी र जनतालाई सांस्कृतिक, राजनीतिक र आर्थिक रूपमा फाइदा पुर्‍याउन ती क्षेत्रहरूमा रेड टुरिजम अगाडि बढाउन त्यसो गरे। जसमा उनीहरू ग्रामीण र प्रायः गरिब रहेका क्षेत्रहरूको सामाजिक आर्थिक विकासमा पनि सुधार गर्न चाहन्थे। त्यही सुधारको प्रयासले अहिले नतिजा दिइरहेको छ।

चिनियाँ कम्युनिस्ट पार्टीका विशेषज्ञ जोसेफ टोरिगियनका अनुसार रेड टुरिजमलाई चिनियाँ नेतृत्वले पश्चिमी विचारधाराको प्रभावबाट जनतालाई ‘प्रतिरक्षित’ बनाउने माध्यमका रूपमा हेर्छ। यसको अर्थ इतिहासलाई नै नैतिक शिक्षाको रूपमा प्रयोग गर्नु हो। जनतालाई आदर्शवाद र विश्वास बढाएर पार्टीको पक्षमा ल्याउनु हो। 

कहिलेकाहिँ चीनमा इतिहास सम्झनभन्दा बिर्सनयोग्य विषय पनि बन्छ। जुनईको रेड टुरिजम स्थलहरूमा पनि माओकालका त्रासदी ‘ग्रेट लिप फर्वर्ड’ वा ‘कल्चरल रिभोल्युसन’को कुनै उल्लेख पाइँदैन। न त त्यसका कारण मरेका दशौँ लाख मानिसहरूको स्वीकारोक्तिका झलक त्यहाँ राखिएका छन्।


प्रकाशित : बिहीबार , कात्तिक २० २०८२१०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend