बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

स्वदेशमै आत्मनिर्भर बन्ने सपना पछ्याइरहेका २५ वर्षीय आस्मन, नोकरी छाडेर भेडापालनमा

मंगलबार, कात्तिक १८ २०८२
स्वदेशमै आत्मनिर्भर बन्ने सपना पछ्याइरहेका २५ वर्षीय आस्मन, नोकरी छाडेर भेडापालनमा

केही वर्षअघिसम्म रोजगारीको खोजीमा सहरमा भौँतारिएका पुर्जा अहिले भेडापालनमै भविष्य खोजिरहेका छन्।

म्याग्दी- यहाँको धवलागिरि गाउँपालिका-४, मुदी सिङकोसका २५ वर्षीय युवा आस्मन पुर्जा मगर प्रायः भेडीगोठमै भेटिन्छन्। हिउँदमा बेँसी र बर्खायाममा बुकीका खर्कमा घुम्ती गोठमा भेडाबाख्रा गोठालो गर्नु उनको दैनिकी हो।

केही वर्षअघिसम्म रोजगारीको खोजीमा सहरमा भौँतारिएका पुर्जा अहिले भेडापालनमै भविष्य खोजिरहेका छन्। बुबा मनलाल र आमा फिस्टीका सात भाइ छोरा र एक छोरीमध्ये कान्छो आस्मनले कक्षा ९ सम्म मात्रै पढे।

उनले पोखरा, नयाँपुल र बेनीमा रेष्टुरेन्टमा पनि काम गरे। ती सबै काम छाडेर उनी गाउँमै भेडापालन गर्न फर्किएका हुन्।

'आफ्नै माटोमा सम्भावना छन् भन्ने लागेर भेडापालन सुरु गरेको हुँ, मेरो स्वदेशमै आत्मनिर्भर बन्ने सपनालाई आर्थिक लगानीको जरुरी थियो, त्यहीबेला कोरियामा रहनुभएका साथी अनिल पाइजाले साथ दिनुभयो र यो सम्भव भएको हो,' पुर्जाले भने।

किसानी मावि बिममा पढ्ताका सहपाठी अनिलले भेडापालनका लागि सुरुवाती लगानी गरिदिएपछि आफ्नो भेडापालन गर्ने सपना पूरा भएको उनले बताए।भेडापालनमा करिब १३ लाख रूपैयाँ लगानी गरेका पुर्जालाई साथी अनिलले मात्रै करिब ६ लाख सापटी दिएका छन् भने बाँकी रकम पुर्जा आफैले जुटाएका छन्।

उनका गोठमा हाल करिब १०० भेडा छन्। भेडीगोठमा भेडाको सङ्ख्या थपिने क्रम जारी छ। यही याममा मात्र उनका करिब २५ भेडा ब्याउने तयारीमा छन्। निकट भविष्यमा भेडाको सङ्ख्या बढाएर भेडीगोठलाई आम्दानीको स्रोत बनाउने पुर्जाको योजना छ।

जेठदेखि असोजसम्म जिरबाङ पिक, बुकी र मूलखर्कका हरियालीमा राखिने भेडीगोठलाई हिउँद लागेपछि भने सिङकोस गाउँ वरपर झारिन्छ। स्थानीय बासिन्दाले देवीदेवताको भाकल पूरा गर्न साँढले पूजा गर्ने चलन भएकाले भेडीगोठमा उत्पादन भएका साँढका लागि बजारको अभाव छैन। खसी भने मासुका लागि गाउँलेहरुले गोठमै पुगेर खरिद गर्छन्।

'बुबाले पनि घुम्तीगोठमा भैँसीपालन गर्नुभएको हो, सानोमा पनि म दाइहरुसँग गोठमा बसेको थिएँ, आफ्नै पुर्खाको माटोमा पसिना बगाउन पाइरहेको छु,' उनले भने।

पुर्जाको भेडापालनले युवाहरुले विदेशमा गएर मात्र सम्भावना खोज्नु पर्दैन, आफ्नै गाउँमा पनि अवसरहरू छन् भन्ने सन्देश दिएको स्थानीयवासी बताउँछन्।

पुर्जाको बुबा ७१ वर्षीय मनलालले अझै चोयाको डोको, डालो बुन्छन्। उनका दुई छोराले बाख्रापालन, एक छोराले गोठमा भैँसीपालन गर्दै आएका छन्। एक छोराले जिप चलाउँछन्। दुई छोराले गाउँमा च्याउ, टुसालगायत बिक्री गरेर जीविकोपार्जन गर्दै आएका छन्। रासस


प्रकाशित : मंगलबार, कात्तिक १८ २०८२१२:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend