काठमाडौं- यात्रा गन्तव्यमात्र होइन। यात्रीले पूरा गर्ने दुरीमा हरेक पल हो यात्रा। जति नै पटक त्यो दोहोरियोस्, केही नयाँ भइ नै हाल्छ। अझ पहिलोपटक हो भने त अद्भुत नै। त्यसमा दुई साथीको मेल भएपछि त अरू के चाहियो!
यस्तै बेपरवाह हिँडिदिन सक्ने खुबी र आँट भएका दुई साथी छन्। अवाशिष ओझा र विजय कशजू।
उनीहरूमा मिलेको अर्को सोख छ, मोटरसाइकल। यसैले त वर्षौंको सोच र योजनामा पनि सितिमितिले नआँट्ने दूरसम्मको दुरी यी दुईले मोटरसाइकलमा पूरा गरे। काठमाडौँदेखि भारत कन्याकुमारीसम्म। बाटाका विभिन्न घुम्तीहरू घुम्दै। जीवनहरू पढ्दै। स्वादसँग रम्दै। भूगोलसँग आफैलाई नियाल्दै। साढे १४ दिन, १ सय ४९ घण्टामा ६ हजार ८ सय ३६ दशमलव ४ किलोमिटर यात्रा।
कस्तो मूर्खता सोचेको होला! सकिँदैन होला! ओहो! काठमाडौंदेखि कन्याकुमारी मोटरसाइकलमा? अवाशिषले आफूमा ऊर्जा भरिरहेको यात्राको बारेमा साथीभाइलाई भन्दा धेरैले पत्याएनन्। गफै पो दियो कि भन्ने ठाने। तर उनले अठोट गरिसकेका थिए। त्यसको तयारी सुरु गरिरहेका थिए। उनको सोचमा मिले साथी विजय।
000
गएको वैशाख पहिलो साता कोभिड संक्रमणका कारण १४ दिनको आराममा थिए अवाशिष। जुन समय उनका लागि सिद्धार्थ बैंकको जागिरभन्दा बाहिर आफ्नो रुची सोच्ने फुर्सद पनि बनिदियो। युट्युब भिडियो चहारे। मोटरसाइकलको गजव यात्राहरू हेरे। त्यही ठाउँमा आफैलाई राखेर हेर्न थाले। जाउँ जाउँ जस्तो लागिरह्यो।
केही खोजहरू गरे। कन्याकुमारी नै जान्छु भन्ने सोचे। हुन त नेपालभित्रै उनलाई मुस्ताङ र रारातिर पनि पुग्नु छ, तर पहिले त केही नयाँ नै गर्ने मन थियो। जीवनभरका लागि वाह! मैले गजवको भिन्न यात्रा गरेँ भन्ने अमिट सम्झना बनाउन मन थियो।
उनी आफ्नो योजना साथीभाइ भेट्दा सुनाउथे। तर उनको कुरामा कसैलाई विश्वास भइरहेको थिएन। धेरैले त कन्याकुमारीसम्म मोटरसाइकलमा कल्पना पनि गरेका थिएनन्। तर सिभिल बैंकमा काम गरिरहेका साथी विजय तयार भए। अवाशिषको जस्तै उनको पनि सोख हो मोटरसाइकल यात्रा।
त्यसपछि नै अवाशिषले मोटरसाइकल लिए। केटीएम एडभेन्चर लिएर नेपालभित्र यताउति कुद्न थाले। त्यो लामो यात्राका लागि उनीहरूको तयारी थियो।
कहिले पोखरा पुगेर खाना खाएर फर्किए। कहिले सिन्धुली-बर्दिवास-हेटौँडा हुँदै घुमेर आए। नेपालभित्र ५ सय ५० किलोमिटर १३ घण्टामा पूरा गर्दा उनीहरूको आत्मविश्वास बढिरहेको थियो। त्यस्तो अभ्यास नियमित गर्न समय अभाव भए पनि उनीहरूले ठाने- 'नेपालको बाटोमा यसरी कुदाउन सक्छौँ भने भारतमा राम्रो हाइवेमा त सकिन्छ।'
अभ्यासकै बेला वियजले प्रयोग गरिरहेको मोटरसाइकल फेरेर उनले पनि केटीएम एडभेन्चर नै किने। दुवै साथीको अब मोटरसाइकल पनि मिल्यो। त्यसरी एउटै मोटरसाइकल प्रयोग गर्दा सर्भिस सेन्टरदेखि अन्य कुरामा पनि सहज भएको अवाशिषलाई लाग्छ।
हिँड्ने दिनको केही योजना बन्दै मिति सर्दै भइरहँदा उनीहरू माघ २८ गते अफिसको काम सकेर निस्किए। यात्रा सकेर फागुन १३ गते फर्किए।
पहिलो दिन उनीहरू काठमाडौंबाट २ सय ७२ किलोमिटर गएर भैरहवा पुगे। दोस्रो दिन १२ घण्टा कुदेर ५ सय ३७ किलोमिटर पार गर्दै भारत उराई पुगे। तेस्रो दिन ११ घण्टामा ५ सय ९९ किलोमिटर मोटरसाइकल चलाएर इन्दोर पुगे। चौथो दिन साढे १३ घण्टामा ६ सय ६३ किलोमिटर पार गरेर पुने पुगे।
यात्राको पाँचौँ दिन उनीहरू ९ घण्टामा ४ सय ८५ किलोमिटर पार गर्दै गोवाको पन्जिम पुगे। छैठौँ दिन ८ घण्टामा ३ सय ७५ किलोमिटर गएर म्याङलोर बसे। सातौँ दिन ९ घण्टामा २ सय ४४ किलोमिटर पार गर्दै कलिकट पुगे। आठौँ दिन साढे ४ घण्टामा १ सय ८५ किलोमिटर पूरा गरी एर्नाकुलम पुगे।
नवौँ दिन उनीहरू कोलाम अश्तामुडी पुगे। जसमा १ सय ४९ किलोमिटर उनीहरूले ४ घण्टा ५० मिनेटमा पूरा गरेका थिए। दशौँ दिन उनीहरू १३ घण्टामा ६ सय ४८ किलोमिटर पार गर्दै गन्तव्य स्थान कन्याकुमारी पुगे। त्यहाँबाट सलेममा पुगेर बसे।
एघारौँ दिन फर्किएर कर्नाटक आइपुगे। जसमा ५ घण्टा यात्रा गरेका उनीहरूले २ सय ७० किलोमिटर पार गरेका थिए। बाह्रौँ दिन ७ सय ४२ किलोमिटर १६ घण्टामा पार गर्दै इल्चिपुर, तेह्रौँ दिन १६ घण्टा नै यात्रा गरेर ८ सय २० किलोमिटर पार गर्दै मध्यप्रदेश मैहार पुगे। चौधौँ दिन ५ सय ८० किलोमिटर ११ घण्टामा पार गरेर उनीहरू भैरहवा आइपुगे। यात्राको पन्ध्रौँ दिनमा उनीहरू साढे ६ घण्टामा २ सय ६८ किलोमिटर पार गरेर काठमाडौं आइपुगे।
उनीहरूले मोटरसाइकल चलाउँदा सामानहरू राख्न सहज हुने झोलाहरू भारतबाटै मगाएका थिए। 'इन्टरकम डिभाइस' किनेका थिए। जसले दुईजना मोटरसाइकल चलाउँदै गफ गर्दै जान सके। फोन उठाउन, गीत सुन्न पनि सजिलो भयो। साथीहरूसँग कुरा गरेर मोटरसाइकल सर्भिसका लागि केही ठाउँहरू बुक गरेका थिए। त्यसले पनि सहज भयो।
000
यात्रा योजनाहरूको मेलमा मात्र नहुने रहेछ। त्यसभन्दा बाहिर धेरै भइदिन्छ। सोचेकोभन्दा बाहिर परिदिन्छन् भोगाइहरू। यात्राको आयतनले सोचको गहिराइ नभेटिन सक्छ। यस्तै भयो अवाशिष र विजयलाई पनि। जाने बेला सोचेको भन्दा धेरै नयाँ कुराहरू भए।
'यस्तोमा योजना बनाएका कुराहरू नै हुन्छन् भन्ने नहुँदो रहेछ। त्यो भन्दैमा योजना नै नबनाइ जाने त होइन। मैले नै जानुअघि १३ वटा विभिन्न योजना बनाएको थिएँ। यो रूटबाट जाने, यसरी यो यो गर्ने भन्ने योजनाहरू थिए। कुन ठाउँमा गएर कुन होटलमा बस्ने भन्नेसम्मको योजना पनि थियो' अवाशिषले सुनाए।
तर हिँडेपछि सबैतिर त्यसरी बनाएको योजनाले काम भएन। पहिलो दिन भैरहवा पुग्ने भन्ने उनीहरूको योजना मिल्यो। तर दोस्रो दिन नै युपीको झाँसी पुग्ने भन्ने थियो, मौसमका कारण त्यो सम्भव भएन। तुवालोका कारण बिहानै हिँड्न सकेनन्। बोर्डर पार गर्न पनि समय लाग्यो। राइडिङका लागि आवश्यक सबै सामान काठमाडौंमा थिएन।
सामानहरू नेपालमा छनोट गरेर किन्न नपाइने अनुभव छ अवाशिषसँग। उनी भन्छन्- यहाँ अलि महँगो पनि छ। भारतमा बुट ६ हजार भारतीय रूपैयाँमा किनेको हो। एक त नेपालमा त्यस्तो बुट पाइँदै पाइँदैन। पाइन्ट ८ हजार भारतीय रूपैयाँमा किनेको हो। जुन यहाँ धेरै महँगो पर्छ। राइड गर्दा सेफ्टीको कुरा त छँदैछ त्यसका साथै ब्रेक थिच्दादेखि लिएर हावाको असर कम होस् भन्नेमा पनि विशेष ध्यान दिनुपर्छ। गिएर चेन्ज गर्दा गर्दा खुट्टामा असर नहोस् भन्नका लागि पनि राम्रो जुत्ता लाउनै पर्छ।
त्यसैले उनीहरूले भारत लखनऊ गएर ती सामानहरू किने। त्यसमा पनि समय लाग्यो। जसले गर्दा दोस्रो दिन झाँसी पुग्नुभन्दा दुई घण्टा अगाडिको उराई भन्ने ठाउँसम्म पुगे। अझ त्यहाँ नै होटल पाउनका लागि उनीहरूलाई हाइवेबाट ८ किलोमिटर भित्र पुग्नुपर्यो।
अवाशिषका लागि यात्रा धेरै ठाउँहरू चिनेजानेकै थिए। विजयका लागि भने नौलो। अवाशिष भारत केरलामा ७ देखि १२ कक्षासम्म पढेका हुन्। त्यसपछि स्नातक तामिल नाडूको कोएमबटुरमा पढे। स्नातकोत्तर कर्नाटकामा। त्यसैले धेरै ठाउँहरू उनका लागि परिचित नै थिए। अवाशिषको मलयालम र तमिल भाषाको ज्ञानले पनि उनीहरूलाई धेरै सहज भयो।
त्यसैले यात्राबारे केरलाको सञ्चार माध्यममा समेत स्थान मिलेको थियो- 'शुद्ध मलयालम बोल्ने एक नेपाली काठमाडौंबाट कन्याकुमारीसम्म मोटरसाइकलमा'।
कुराकानीमा स्थानीय भाषाको ज्ञानले सहज हुनेमात्र होइन, आत्मीय स्वागत पाउन पनि भाषाको ज्ञानले मद्धत भयो।
'हामीलाई मान्छेले भेट्ने भनेको खाना खाने बेला, पानीहरू पिउने बेला, कतै पेट्रोल हाल्ने बेलामात्रै हो' अवाशिषले सुनाए।
उनीहरू त्यसरी रोकिँदा धेरैले त घुरेर हेरिरहन्थे। एकोहोरो आफूहरूलाई हेरिरहेको देखेर उनीहरू 'ह्वाट्स अप बोस?' भनेर सोध्थे।
अनि जवाफ पाउँथे- 'नही यार, मध्यप्रदेश सुना है, उत्तर प्रदेश सुना है ऐ बागमती प्रदेश क्या है?'
रातो नम्बर प्लेटको मोटरसाइकल, त्यसमा पनि बागमती प्रदेश। देख्नेहरूका लागि अचम्म मान्न थप केही चाहिएन। अनि सोध्थे- कौन सा स्टेट से है? भीआईपी हो?
अवाशिष र विजयले जवाफ दिन्थे- हामी भारतको होइन, नेपालबाट आएका हौँ।
तब त फोटो खिच्न उनीहरू घेरिइहाल्थे। दक्षिण भारतमा नेपाली मोटरसाइकल नौला यात्री उनीहरूका लागि नयाँ कुरा नै थियो।
000
भिन्न भूगोलको दृश्यले मात्र होइन फरक संस्कार र मीठो स्वागतले अवाशिष र विजय रमाए। विजयका लागि त केरलामा केराको पातमा मिल्ने खान्कीसमेत फरक अनुभव थियो। केराको पात ओछ्याइदिएपछि पहिले पानी लिएर त्यसमा छम्कनु, पुछ्नु अनि फेरि त्यही केराको पातमा ढाकेर राख्नु।
मध्य प्रदेश र उत्तर प्रदेशमा उनीहरूलाई स्थानीयले चाहिनेभन्दा बढी पैसा पनि लिइरहेका थिए। महँगो मोल गरिरहेको छ भन्ने थाहा पाएर पनि उनीहरू पैसा तिरिरहेका थिए। तर केरलामा पुगेपछि सफा राम्रो खाना र मिल्दो मोल थियो।
भिन्न चौडा सडक देखेर उनीहरू अचम्मित र उत्साहित पनि थिए। हाइवे एकदमै राम्रा थिए। 'हाइवे मात्र होइन कतिपय सडक त रनवे जस्ता थिए। हुन त १४ दिनसम्म उस्तै हाइवेमा कुदाउँदा कुदाउँदा त्यो पनि नयाँ लाग्न छाडिसकेको थियो। केरलामा हाइवे अलि सानो भए पनि असहज थिएन। भारतमा फटाहाहरू पनि छन् तर त्यहाँ काम पनि भइरहेको छ जस्तो लाग्यो। सहरहरूमा बैंग्लोर फेरिएको जस्तो लाग्यो। फ्लाइओभर भवनहरू फेरिएका थिए' अवाशिषले सम्झिए।
ती सडकदेखि लिएर धेरै ठाउँको सरसफाइ देख्दा उनीहरूलाई लाग्यो पनि- 'हाम्रो देशमा चाहिँ यस्तो कहिले देख्न पाइएला!'
यात्रामा उनीहरूलाई कुनै दिन आज दुरी कम गरेर आराम गरौँ जस्तो भएन। बरू बस्ने भनिएको दिन पनि बाटो छोटिन्छ हिँडौ भनेर अगाडि बढे। घुमाइको रमाइलोसँगै आखिर दिमागमा त थियो- 'फर्किएर समयमै अफिस त आउन नै छ।'
सडकमा मोटरसाइकल चलाइरहँदा मान्छेअनुसार फरक फरक सोचहरू आइरहेको हुन्छ। अवाशिषका लागि कहिले गन्तव्य पूरा हुन्छ भन्ने थियो। अझ विजय मानसिक रुपमा थप बलियो देखिए। धेरै अप्ठ्यारा कुराहरू वास्ता नगरी अगाडि बढिरहे। जब कि उनको त हात सुन्निएको थियो। ढाड दुख्ने भइरहेको थियो। ठाउँ ठाउँमा मोटरसाइकल रोकेको बेला अवाशिषले मुभ छर्किदिएर दु:खाइ बिर्साउन सहयोग गरिरहेका थिए।
'आजको दिन हेर्ने हो भोलि जेसुकै होस्' भन्ने विजयको सोचले हौसला थपिएको थियो। अवाशिषका लागि भने आजको उत्साहभन्दा भोलिको योजना सोचमा बढी थियो। दुवैको भिन्न शैलीले मेलमा नयाँपन थपिएको थियो। एकअर्काको साथ बन्न सहयोग मिलिरहेको थियो।
विजयजी सिधा बाटोमा कहिँ कहिँ झुप्प झुप्प निद्रा लाग्ने समस्या पनि देखियो। त्यस्तो बेला उनले गीत सुन्ने, घरमा फोन गर्ने, अवाशिषसँग कुरा गर्ने गरिरहेका थिए। अवाशिषको फोनबाट छाडेको हटस्पटले १२० सम्मको तीब्र गतिमा मोटरसाइकल रहँदा पनि राम्रै काम गरिरहेको थियो। पूरा यात्राभर टेलिफोनको त्यो साथ पनि छुटेन।
मोटरसाइकलको त्यस्तो तीब्र गतिमा विजयको बाइकको लेगगार्डमा राखेको एउटा गोप्रो भने हरायो। नभेटिने गरी नै। उसैगरी झरेको मोबाइल भने भेटियो, तर खुब सास्ति पाएर। झण्डै ४५ मिनेट गर्मीमा पसिनाले चुरचुर हुँदै खोजेपछि।
यीबाहेक पनि उनीहरूको यात्रामा केही अप्ठ्यारा नआएका होइनन्। फर्कने बेलामा हैदरावादमा मोटरसाइकल जान भनेर छुट्याएको बाटो पहिल्याउन नै धेरै घुम्नुपरेको उनीहरू सुनाउँछन्। त्यहाँ गुगल म्यापले पनि मोटरसाइकल निषेध भनिएको सडकमात्रै देखाइरहँदा समस्या भएको थियो। त्यहाँ बाटो सोध्ने बेला भने भाषाको समस्या भयो। उनीहरू तेलुगू नजान्ने। स्थानीयले उनीहरूले बोलेको नबुझ्ने। तब त समस्या बढ्यो।
'त्यो बेला ४ घण्टा यता र उता हुँदा हामी दिक्क भइसकेका थियौँ। केही सीप नलागेर ५५ किलोमिटर पर जंगलको बाटोमा पुगेर घुम्यौँ' अवाशिषले भने।
जाने बेला नै दाउन्नेको बाटोमा एकपटक त आवाशिष लडे पनि। तर सामान्य गतिमा भएकाले ठूलो असर भएन। मर्मत भइरहेको सडकका कारण समस्या भएको थियो।
त्यसबाहेक ठाउँ ठाउँमा मोटरसाइकल बिग्रिएर साना समस्याहरू पनि भएकै हो। तर त्यसमा स्थानीयको राम्रो साथ उनीहरूले पाए।
'भारतमा बाइकरहरूलाई एकदमै सम्मान हुने रहेछ। त्यो अनुभव गर्यौँ। बाइक सर्भिस गरेको, बनाएको पैसा पनि लिन मानिरहेका थिएनन्। एक ठाउँमा इन्जिन ओएलको पैसा मात्र लियो। अरू ठाउँमा त पैसा नै लिएनन्', अवाशिष सुनाउँछन्, 'तपाइँहरूले यसरी बाइक चलाएर हाम्रो ठाउँमा घुमिरहनु भएको छ, तपाइँहरूसँग पैसा लिनु फेयर हुँदैन भनेर पैसा लिन मानिरहेका थिएनन्। मोटरसाइकल चलाउनेका लागि त्यहाँ जस्तो सम्मान र सहज सर्भिस नेपालमा मैले कतै पनि पाइनँ।'
000
यात्रामा सानातिना समस्या त भइ नै हाल्छन्, त्यस्तोमा अरूले विश्वास नगरिरहेको दुरी उनीहरूले सोचेकै समयमा पूरा गरेर फर्किएका थिए। घरबाट समेत 'यत्रो बाटो मोटरसाइकलमा किन जानु होला' भनिएको यात्रा पूरा गर्दाको उनीहरूको खुसी उचो छ।
किन जानु पर्यो भनेर आमाले भनिरहँदा अवाशिषको जवाफ थियो- 'यो मेरो जीवनको भिन्न अनुभव हो।' त्यो अनुभव पाए पनि।
श्रीमतीलाई पनि भनेका थिए- 'यो मेरो मिसन हो, अरूले गरेको भन्दा भिन्न केही गर्न मन छ।' केही भिन्न नै गरेर सफल पनि भए।
विजयलाई पनि जाने दिनसम्म आमाले 'तँ घुम्न जान त जा तर प्लेनमा जा' भनिरहेकी थिइन्। जाने नै भए पनि एउटै मोटरसाइकलमा दुईजना जाऊ न त भन्ने कुरा पनि आएको हो। तर त्यसरी उनीहरू दुवैको सोच पूरा हुन कठीन थियो। एउटै मोटरसाइकलमा सबै सामानहरू अटाएर जान सम्भव पनि थिएन। अर्को त दुवैजनालाई राइडिङको सौख हुँदा दुईवटै मोटरसाइकलमा नै सहज पनि थियो।
यतिका कुरा पार गर्दै दूरको गन्तव्य कन्याकुमारी पुग्दा अवाशिषका लागि अलि भावुक अवस्था आएको थियो। 'त्यो भाव मैले व्यक्त गर्नेभन्दा पनि आफैभित्र राखेँ' अवाशिषले भने।
उनीहरूलाई मौसमले पनि राम्रै साथ दियो। रेनकोट बोकेका थिए तर पानी काठमाडौंबाट निस्कने बेलाबाहेक खासै परेन। भारतमा गर्मी भने धेरै नै थियो। पसिनाले निथ्रुक्क भिजिरहेका थिए। सुरक्षाका लागि बाक्लो ज्याकेट, बाक्लो जुत्ताहरू लाउनाले पनि गर्मी बढी भइरहेको थियो।
यस्तै यात्रा गर्ने सोच भएका कोही 'मुर्खहरू' भए त्यसमा अवाशिषले केही सुझाव पनि दिएका छन्- योजना त बनाऊ, मानसिक रुपमा तयार होऊ तर योजना गरेकै कुरा पूरा हुन्छ भन्ने चाहिँ दिमागबाट निकाल। म जे पाइन्छ त्यही खान्छु, जहाँ पाइन्छ त्यही सुत्छु भन्ने आँट चाहिन्छ।
यो यात्राको उनीहरूको अनुभवमा धेरै खानेकुरा बोक्नु पनि नपर्ने रहेछ। जाने बेलामा उनीहरूले काजु, बदाम, पेस्ता, वाइवाइ चाउचाउ, चिउरा बोकेर गएका थिए। तर त्यसमा एक पोका चाउचाउबाहेक अरु केही प्रयोग भएन। थोरै खानेकुरा अवाशिषले उतै एक साथीकोमा समेत छाडिदिए, बाँकी काठमाडौं नै फिर्ता भयो।
उनीहरुको अनुभवमा नेपालीहरूले सोचेजस्तो नेपाली मोटरसाइकल नै लिएर भारत जान अप्ठयारो छैन। 'भारतीय दूतावासमा गएर एउटा कागज बनाए पुग्छ। आफू कुन कुन ठाउँ जाने हो भन्ने खुलाइदिएर एक महिनाका लागि नेपाली २५ सय रूपैयाँ तिरे पुग्छ। भारतमा भइरहेका चेकिङहरूमा पनि हामीलाई कतै रोकेन। कागजपत्रसमेत पनि हेरेन' अवाशिषले सुनाए।
अवाशिषले बुझेको अर्को विषय- 'राति चाहिँ मोटरसाइकल चलाउन नहुने रहेछ। बेलुका ७ बजे सुत्ने, बरू बिहान ५ बजेदेखि नै सुरू गर्नुपर्ने रहेछ। त्यसले गर्दा आराम पनि मिल्ने र कुदाएको समयमा राम्ररी कुदाउन पनि सकिने हुँदो रहेछ। बिहान ट्राफिक पनि अलि कम हुन्छ। अब अर्को पटक जाँदा बेलुका ७ बजेपछि नचलाउने योजनामा छु।'
उनी भन्छन्- 'हरेक दुई या तीन दिनमा एक दिन आराम गर्ने र वरपर घुम्ने योजना बनाउँदा पनि राम्रो हुन्छ। फ्रेस पनि होइन्छ। हामीले जस्तो राइडकै मात्र योजना हो भने अलि फरक कुरा।'
फर्किएर अहिले मोटामोटि हिसाब गर्दा उनीहरूले प्रतिव्यक्ति डेढ लाख रूपैयाँ खर्चिए। त्यसमा २७ हजार भारतीय रूपैयाँ जति त पेट्रोलमै खर्च भयो।
यात्राबाट फर्किएर अहिले युट्युबमा राख्नका लागि भ्लग मिलाइरहँदा पनि उनीहरूमा यात्राको सम्झनाहरू मीठो भइरहेको छ। ओहो! यस्तो पनि भएको रहेछ भनेजस्तो।
यो यात्रापछि मोटरसाइकलमा यस्तै अरू यात्राका लागि पनि उनीहरूको साहस बढेको छ। हौसला थपिएको छ। घुम्नु गजवको काम हो भन्ने मजाको अनुभव थपिएको छ। जानुअघि उनीहरूको सोचलाई मुर्ख्याइँ भनिरहेकाहरू अहिले दंग परिरहेका छन्- ओहो! यिनिहरूले गरिछाडे।