बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

सेयर बजारमा यो साता तीन दिनकै कारोबारमा गुम्यो १ खर्ब ६२ अर्ब, आउने साता के होला?

तीन दिनमा ११४ अंकको गिरावट

बिहीबार , फागुन १९ २०७८
सेयर बजारमा यो साता तीन दिनकै कारोबारमा गुम्यो १ खर्ब ६२ अर्ब, आउने साता के होला?

काठमाडौं- यो साता सेयर बजारमा तीन दिन मात्रै कारोबार हुँदासमेत नेप्से परिसूचकमा उच्च अंकले गिरावट देखिएको छ। 

तीन दिनको कारोबारमा नेप्से परिसूचक ११४ अंकले गिरावट आएको छ। गत हप्ताको बुधबारदेखि नेप्सेमा निरन्तर रुपमा गिरावट आएको छ। नेप्से परिसूचकमा गत साताको अन्तिम कारोबारको दिन बिहीबार २६६१.४४ बिन्दुमा रोकिएको थियो।

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७.७३ अंकले घटेर २६५३.७० बिन्दुमा रोकिएको थियो। सोमबार ४३.१० ले घटेर बजार २६१०.६० बिन्दुमा झरेको थियो। मंगलबार बन्द रहेको बजारमा बुधबार पनि गिरावट देखिएको हो। बुधबार सेयर बजार ६३.५४ अंकले घटेर २५४७.०४ बिन्दुमा झरेको हो। बिहीबार भने बजार बन्द रहेको छ। 

साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचके ७.७३ अंक घटेको थियो। आइतबार सेन्सेटिभ इण्डेक्स ०.७३ अंक, फ्लोट इण्डेक्स ०.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंक घटेको थियो। उक्त दिन कारोबारमा आएका कम्पनीको ७० लाख ४० हजार कित्ता सेयर ३ अर्ब २७ करोड ३० लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

त्यस्तै साताको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक १.६२ प्रतिशतले घटेर २६१०.६० बिन्दुमा झरेको थियो। सोमबार कारोबारमा आएका कम्पनीको ७८ लाख ३४ हजार कित्ता सेयर ३ अर्ब ६६ करोड १ लाख ८९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो। मंगलबार महाशिव रात्री पर्व परेकाले नेप्से कारोबार बन्द भएको थियो।

बुधबार नेप्से परिसूचक ६३.५४ अंकले घटेर २५४७.०४ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.५२ अंक, फ्लोट इण्डेक्स ४.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.६१ अंकले गिरावट आएको छ। बुधबार कारोबारमा आएका कम्पनीको ७६ लाख ५२ हजार कित्ता सेयर ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बिहीबार शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसार परेकाले सार्वजनिक बिदा रहेको छ। 

बुधबारसम्म आइपुग्दा तेब्बर अंकले गिरावट आएको सेयर बजारमा लगानीकर्ताले १ खर्ब ६२ अर्ब २ करोड अधिक पुँजी गुमाएका छन्। गत साताको अन्तिम कारोबारसम्म ३७ खर्ब ६९ अर्ब ६३ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण बुधबारको कारोबारपछि ३६ खर्ब ७ अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ। 

यसअघि बजारमा देखिएको उतारचढावमा राजनीतिक उथलपुथल र नेपाल राष्ट्र बैंकले लिएको नीतिलाई कारण देखाउँदै विश्लेषण भइरहेका थिए। यो साता तीन दिनको कारोबारको अवस्थाले केही ठूला लगानीकर्ताले अझै चलखेल गरिरहेको भन्ने देखिएको विश्लेषकहरू बताउँछन्। 

गएको साताको बुधबार नेपाल राष्ट्र बैंकले सेयर ऋण प्रवाहमा थप कडाइ गरेका कारण पनि त्यसको प्रभाव सेयर बजारमा देखिएको विश्लेषण भइरहेका छन्। गएको साता निर्देशन जारी गर्दै राष्ट्र बैंकले सेयर धितो कर्जा र घरजग्गाको कर्जाको जोखिम भार बढाएको थियो। मार्जिन प्रकृतिको सेयर कर्जाको जोखिम भार १५० प्रतिशत कायम गरिएको छ जब कि यसअघि मार्जिन प्रकृतिको सेयर कर्जाको जोखिम भार एक सय प्रतिशत रहेको थियो।

तर नेपाल राष्ट्र बैंकको नीतिलाई देखाउँदै ठूला लगानीकर्ताले आफ्नो चलखेल मात्र बढाएको र उक्त नीतिले बजारमा सिधा प्रभाव नपर्ने केही विश्लेषकहरू बताउँछन्।

सेयर बजारको बिग्रँदो अवस्था सुधारका लागि यो साता बुधबार अर्थ मन्त्रालयमा भएको छलफलपछि आउने साता सकारात्मक प्रभाव देखिने लगानीकर्ताहरूले आँकलन गरेका छन्। बुधबारको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले इनसाइडर ट्रेडिङ गर्ने प्रवृति हटाउने विषय सरकारलाई चुनौती रहेकाे भन्दै लगानीकर्ताको सुरक्षा गर्नु सरकारको दायित्व भएकाे बताएका थिए। 

विदेशमा सेयर बजारको अध्ययन गरिरहेको, साना र स्टार्टअप कम्पनीहरूलाई पुँजी बजारमा भित्र्याउन पहल गर्ने, बजारको क्षमता बढाउनु पर्ने, किनेकै दिन सेयर बिक्री गर्नसक्ने व्यवस्था गर्ने साथै बुक बिल्डिङको विषयलाई पनि व्यवस्थित बनाएर लागू गर्नुपर्ने अर्थमन्त्री शर्माले बताएका थिए। 

यो साता घटेको बजारले अहिलेको अवस्था यकिन नदेखाउने र त्यसैका आधारमा अनुमान गर्न नमिल्ने विश्लेषकहरू बताउँछन्। बजारमा सूचकहरू मिल्दै गएकाले अब बजारले बढ्ने बाटो नै समाउने उनीहरूको भनाइ छ। 


प्रकाशित : बिहीबार , फागुन १९ २०७८०८:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend