शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

वाणिज्य बैंकहरूले दुई महिनामा कमाए १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ, कुन बैंकको कति?

शुक्रबार, असोज ३१ २०८२
वाणिज्य बैंकहरूले दुई महिनामा कमाए १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ, कुन बैंकको कति?

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा २० वटा वाणिज्य बैंकले कुल १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन-भदौ महिनासम्मको तथ्यांकअनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.१७ प्रतिशतले घटेको हो। गत वर्षको भदौ मसान्तसम्म बैंकहरूले १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएका थिए।

राष्ट्र बैंकका अनुसार दुई महिनामा १० वटा बैंकको नाफा घटेको छ भने १० वटाको बढेको छ। समग्रमा बैंकिङ क्षेत्रको नाफा अझै उच्च रहँदै आएको भए पनि वृद्धिदर घट्दो क्रममा छ।

नाफा रकमका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ। बैंकले दुई महिनामा १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३.९७ प्रतिशतले बढी हो। गत आवको भदौ मसान्तमा बैंकको नाफा १ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ थियो।

दोस्रो स्थानमा नबिल बैंक रहेको छ। नबिलले साउन-भदौ महिनामा १ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ तर यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २०.०९ प्रतिशतले घटेको हो।

तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ, जसले दुई महिनामा १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ। तर बैंकको नाफा गत आवको तुलनामा १०.५० प्रतिशतले घटेको छ।

त्यसैगरी चौथो स्थानमा रहेको कुमारी बैंकले १ अर्ब ५ करोड ६८ लाख, पाँचौँ स्थानमा रहेको प्राइम बैंकले १ अर्ब ४ करोड ६७ लाख र छैटौँ स्थानमा रहेको एनएमबि बैंकले १ अर्ब ३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

कुमारी बैंकको नाफा २.६० प्रतिशत घटेको छ। प्राइम बैंकको नाफा ७.३९ प्रतिशत र एनएमबिको नाफा ३२.१४ प्रतिशतले बढेको देखिन्छ।

सिद्धार्थ बैंकको नाफा वृद्धिदर सबैभन्दा उच्च रहेको छ। बैंकले दुई महिनामा ८४ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ४०.१७ प्रतिशतले बढी हो। नेपाल बैंकले २४.२७ प्रतिशतले नाफा बढाएर ८४ करोड २८ लाख रुपैयाँ पुर्‍याएको छ।

लक्ष्मी सनराइज बैंकको नाफा पनि उल्लेख्य रूपमा बढेको छ। बैंकले १२.६६ प्रतिशतले वृद्धि गर्दै ९७ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको छ।

एभरेष्ट बैंकको नाफा १०.५७ प्रतिशतले बढेर ९१ करोड २८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै माछापुच्छ्र् बैंकको नाफा २.७९ प्रतिशत वृद्धि भइ ४८ करोड १९ लाख रुपैयाँ, सानिमा बैंकको ४.६८ प्रतिशत बढेर ७२ करोड १५ लाख र राष्ट्रिय वाणिज्य बैंकको ०.६३ प्रतिशत वृद्धि भई ८८ करोड ५८ लाख रुपैयाँ पुगेको छ।

हिमालयन बैंकको नाफा सबैभन्दा धेरै घटेको छ। बैंकको नाफा ६८.२६ प्रतिशतले घटेर ३७ करोड ७ लाख रुपैयाँमा सीमित भएको छ।

नेपाल एसबीआई बैंकको नाफा पनि ३३.५९ प्रतिशतले घटेर ३५ करोड ४५ लाख रुपैयाँमा झरेको छ। कृषि विकास बैंकको नाफा ३३.५० प्रतिशत घट्दै ५८ करोड ९८ लाख, प्रभू बैंकको २५.९७ प्रतिशत घट्दै ६७ करोड ६० लाख, एनआइसी एसियाको १४.२६ प्रतिशत घट्दै ४९ करोड ५१ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १२.२१ प्रतिशत घट्दै ५३ करोड २२ लाख र सिटिजन्स बैंकको ५.६० प्रतिशत घट्दै ५३ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ।


प्रकाशित : शुक्रबार, असोज ३१ २०८२१५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend