काठमाडौं- चाडपर्वलक्षित गरेर आयात गरिएका कारण सेप्टेम्बर महिनामा कार आयातमा वृद्धि भएको छ। यद्यपी चीनतर्फका नाका अवरुद्ध हुँदा दसैँअघि सवारी बिक्रेताहरुले चाहेअनुसार र समयमै कार आयात गर्न भने सकेनन्।
तातोपानी र रसुवा नाका अवरुद्ध हुँदा व्यवसायीहरुको पहलमा मुस्ताङको कोरोला नाकामा रहेको भन्सार कार्यालय खुलाएर दसैँ सुरु भएपछि कार आयात भएका थिए। हाल नेपालमा चीनबाट सबैभन्दा धेरै र त्यसपछि भारत तथा अन्य देशबाट कार आयात हुने गरेको छ।
२०२५ को सेप्टेम्बरमा कुल २ हजार २ सय ३७ वटा प्यासेन्जर कार आयात भएको तथ्यांक छ। यसअघिको अगस्ट महिनामा १ हजार १३ वटा कार आयात भएका थिए। यो संख्यामा विद्युतीय, आईसी इन्जिन कार तथा पिकअपसमेत समावेश रहेका छन्।
जेठ १५ मा बजेट आउनुअघि उल्लेख्य संख्यामा विद्युतीय कार आयात भएपछि त्यसपछिका दुई महिनामा कार आयात कम भएकोमा त्यसयता केही वृद्धि भएको थियो। गएको जुन र जुलाईमा कम भएको विद्युतीय कारसहित सबै कार आयात अगस्ट र सेप्टेम्बरमा भने बढेको तथ्यांक छ।
२०२५ जुन र जुलाई महिनामा विद्युतीय कारको आयात निकै कम थियो भने अगस्टमा बढेको छ। सेप्टेम्बरमा त दसैँ लक्षित आयात हुँदा अझै बढेको छ। गएको जुनमा जम्मा (आईसीई र ईभी) ३ सय २५ वटा कार र जुलाईमा ४ सय ४२ वटा कार आयात भएको थियो।
बजेटपछिका यी दुई महिनामा कार आयात न्यून भएपनि त्यसपछिको अगस्ट महिनामा १ हजार १३ वटा कार आयात भएको भन्सारको तथ्यांक छ। बजेटअघि आयात भएका कारको स्टक कम हुँदै गएको र दसैँलक्षित कार आयात हुन थालेकाले अगस्टमा कार आयात बढेको हो। अगस्टको तुलनामा सेप्टेम्बरमा कार आयात दोबरभन्दा धेरै अर्थात २ हजार २ सय ३७ वटा आयात भएको हो। यो दसैँभन्दा ठीक अघिको महिना हो।
नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोले सृजना गरेको सवारी बिक्रीको माहोललाई भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले केही बिथोलेको छ। थापाथलीमा रहेका पाँचवटा ब्रान्डका शोरुममा आगजनी तथा तोडफोड भयो भने देशभरका केही शोरुममा पनि क्षति पुगेको छ। सरकारीदेखि व्यवसायिक प्रतिष्ठानमा क्षती पुगेका कारण खरिद माहोल केही खलबलिएको छ। तर पनि अटोमोबाइल व्यवसायीहरुले सवारी बिक्री माहोललाई सहज बनाउन प्रयासमा थिए र छन्।
जेनजी आन्दोलनले बिथोलेको माहोल र चीनतर्फबाट नेपाल प्रवेश गर्ने नाकाहरु अवरुद्ध हुँदा कार आयात अझै कम नै भएको व्यवसायीहरुको भनाइ छ। चीनबाट आयात हुने सवारी रसुवागढी र तातोपानी नाका बाढीपहिरोका कारण अवरुद्ध बनेकाले सेप्टेम्बरमा आयात भएका अधिकांश कार मुस्ताङको कोरला नाकाबाट सवारी आयात भएका हुन्।
सेप्टेम्बर महिनामा २ हजार २ सय ३७ वटा कार आयात हुँदा सबैभन्दा धेरै बीवाईडी ब्रान्डको रहेको छ। यसपछि धेरै आयात हुनेमा हुन्डाई रहेको छ। सेप्टेम्बरमा हुन्डाईको ५१ वटा तयारी कार आयात भएको छ भने बाँकी एसेम्लब किटगरी करिब ३ सय ६० वटा कार आयात भएको कम्पनीले जनाएको छ।
सेप्टेम्बरमा टाटा मोटर्सका २ सय ८५ वटा कार आयात भएका छन्। यसमा सबैभन्दा धेरै विद्युतीय कार रहेका छन्। टाटापछि सुजुकीका २ सय ४५ वटा कार आयात भएका छन्। सुजुकीका सबै आईसी इन्जिनयुक्त कार नै हुन्।
यसैगरी महिन्द्राका अगस्टमा २ सय ४ वटा कार आयात भएका छन्। यसमा महिन्द्राका केही विद्युतीय कार भएपनि बाँकी स्कर्पियो र बोलेरो पिकअप पनि रहेका छन्। यसपछि जेइको/ओमोडाका १ सय ८२ वटा कार आयात भएका छन्। जेइको/ओमोडाका नेपाल आएका सबै कार विद्युतीय नै हुन्।
सेप्टेम्बर महिनामा चाङगनको ब्रान्ड दिपलका १ सय ६७ वटा विद्युतीय कार आएका छन्। यसमा अधिकांश दिपल एस ०५ रहेका छन् जुन थाइल्यान्डबाट आयात भएको हो। त्यस्तै सेप्टेम्बरमा कियाका ९६ वटा, निसानका ५७ वटा, प्रोटोनका ५० वटा र लिपमोटरका ४२ वटा कार आयात भएको तथयांक छ।
यी हुन् सेप्टेम्बरमा आयात भएका कार ब्रान्ड र संख्या -
| कार ब्रान्ड | संख्या |
| माज्दा | २ |
| फोर्ड | ३ |
| मित्सुबिसी | ३ |
| जीडब्लूएम | ४ |
| डोङफेङ(नामी) | ४ |
| जीली | ६ |
| स्कोडा | ६ |
| जिनपिङ | ८ |
| फक्सवागन | १२ |
| टोयोटा | १४ |
| सिट्रोन | १६ |
| एमजी आईएम | १८ |
| इसुजु | २० |
| जेएमईभी | २८ |
| लिपमोटर | ४२ |
| प्रोटोन | ५० |
| निसान | ५७ |
| किया | ९६ |
| चाङगन(दिपल) | १६७ |
| जेइको/ओमोडा | १८२ |
| महिन्द्रा | २०४ |
| सुजुकी | २४५ |
| टाटा | २८५ |
| हुन्डाई | ५१ (एसेम्बल किट- ३६०) |
| बीवाईडी | ७१७ |
| कुल संख्या | २२३७ |
(बिजनेस न्युज डटकमको यूट्युब च्यानलमा प्रकाशित भिडियोहरू हेर्न तथा सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। टिकटक, फेसबुक र एक्समा पनि हाम्रा सामग्री हेर्न सकिन्छ।)