काठमाडौं- लामो अन्तरालपछि नेपालको जलविद्युतमा अमेरिकी लगानी फर्किएको छ। उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा सातवटा ठूला लगानी प्रतिबद्धता आएका छन्। जसमा एउटा अमेरिकी लगानीसहितको जलविद्युत् आयोजना समावेश छ।
अमेरिकन लगानीकर्ताको ५५ प्रतिशत र नेपाली साझेदारको ४५ प्रतिशत लगानी हुने गरी ओखलढुंगामा ‘हिमालयन ऊर्जा कम्पनी’ नामक संस्था उद्योग विभागमा दर्ता भएको छ। उक्त कम्पनीले ८.६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने उद्देश्यका साथ १ अर्ब ५२ करोड ४० लाख रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता गरेको छ।
उद्योग विभागका अनुसार अमेरिकी लगानी नेपालका ऊर्जा योजनामा दशकौंँअघिदेखि आए पनि सीमित रूपमामात्र आएको छ। सन् १९९८ मा भोटेकोशी जलविद्युत् आयोजनामा अमेरिकी कम्पनी पान्डा इनर्जीले लगानी गरे पनि सन् २००६ मै कम्पनी आयोजनाबाट बाहिरिएको थियो। तथापि करिब ५ प्रतिशत अमेरिकी स्वामित्व अहिले पनि उक्त कम्पनीमा कायम छ। आयोजनाले उत्पादन भने सन् २००१ मा सुरु गरेको थियो।
आयोजना २५ वर्षे लाइसेन्स अवधिसहित नेपाल विद्युत् प्राधिकरणसँग २५ वर्षे विद्युत् खरिद सम्झौताअन्तर्गत सञ्चालन हुँदै आएको छ। प्रतियुनिट विद्युत् १ रुपैयाँ ६२ पैसा ५६ पैसा दरमा बिक्री हुँदै आएको छ, जुन नेपालकै सस्तो दरमध्ये एक हो।
हाल नेपालमा अमेरिकी लगानी रहेका ऊर्जा आयोजनामध्ये लिखु-१ (७७ मेगावाट), लिखु ए (३३.६६ मेगावाट) र लिखु–२ (६०.५ मेगावाट) सञ्चालनमा छन्।
यी तीनै आयोजना अमेरिकी कम्पनी मोघा इनर्जी र नेपालका दुगड समूहको साझेदारीमा निर्माण भएका हुन्। मोघा इनर्जीका संस्थापक समरथ मोघा र दुगड परिवारबीच पारिवारिक सम्बन्ध पनि रहेको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार नेपालमा हालसम्म ६० देशका लगानीकर्ताको प्रत्यक्ष विदेशी लगानी रहेको छ। जसको कुल परिमाण ३ खर्ब ३२ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। यसमध्ये अमेरिकी लगानी १३ अर्ब ८२ करोड रुपैयाँ रहेको छ।