आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

अर्थतन्त्रमा सकारात्मक संकेत : स्थिर मुद्रास्फीति, बलियो वैदेशिक सञ्चिति र बढ्दो विप्रेषण

विनिमय सञ्चिति २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुग्यो

मंगलबार, असोज २८ २०८२
अर्थतन्त्रमा सकारात्मक संकेत : स्थिर मुद्रास्फीति, बलियो वैदेशिक सञ्चिति र बढ्दो विप्रेषण

काठमाडौं- स्थिर मुद्रास्फीति, बलियो वैदेशिक सञ्चिति र बढ्दो विप्रेषणले अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गएको भदौ महिनाको तथ्यांकअनुसार मूल्यस्तर नियन्त्रणमा रहँदा विप्रेषण आप्रवाह, वैदेशिक विनिमय सञ्चिति र चालु खाता सन्तुलन सबै पक्षमा सुधार देखिएको छ।

उपभोक्ता मूल्य सूचकांकमा आधारित वार्षिक बिन्दुगत मुद्रास्फीति १.८७ प्रतिशतमा सीमित हुँदा देशको आर्थिक अवस्था स्थिर देखिएको छ।

कुल वैदेशिक विनिमय सञ्चिति २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यो सञ्चिति २० अर्ब ४१ करोडबराबर रहेको छ। हालको सञ्चिति १६ महिनासम्मका वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै चालु खाता १ खर्ब ३० अर्ब ६९ करोड रुपैयाँ र शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोडले बचतमा रहेको छ। विदेशी मुद्रा सञ्चयमा सुधारसँगै बाह्य क्षेत्रको स्थायित्व बलियो बन्दै गएको छ।

विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाली रूपैयाँमा विप्रेषण ३३.१ प्रतिशतले र अमेरिकी डलरमा २७.६ प्रतिशतले बढेको छ। भदौ महिनामा मात्र विप्रेषण आप्रवाह १ खर्ब ७४ अर्ब ६७ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।

व्यापार पक्षमा पनि सुधारका संकेत देखिएका छन्। निर्यात ८८.६ प्रतिशतले र आयात १६.२ प्रतिशतले बढेको छ। निर्यात वृद्धिले व्यापार घाटा घटाउने अपेक्षा गरिएको छ, यद्यपि आयात वृद्धि उच्च रहेकाले समग्र सन्तुलनमा सावधानी आवश्यक देखिन्छ।

नेपाल सरकारको खर्च १ खर्ब ८० अर्ब १७ करोड र राजस्व परिचालन १ खर्ब ५७ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। प्रचलन खर्च राजस्वभन्दा केही बढी रहेकाले वित्तीय सन्तुलनमा दबाब रहँदै आएको देखिन्छ।

विस्तृत मुद्राप्रदाय ०.३ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा यसको वृद्धिदर १२.४ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ०.५ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.९ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत रूपमा निक्षेप १२.५ प्रतिशत र निजी क्षेत्रको कर्जा ७.८ प्रतिशतले वृद्धि भएको छ।

बैंक तथा वित्तीय संस्थाबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २.७५ प्रतिशत र ९१ दिन अवधिको ट्रेजरी बिलको औसत ब्याजदर २.१३ प्रतिशत रहेको छ। वाणिज्य बैंकहरूको निक्षेपमा औसत ब्याजदर ३.९६ प्रतिशत र कर्जामा ७.६६ प्रतिशत कायम रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रकाशित : मंगलबार, असोज २८ २०८२१७:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend