काठमाडौं- गएको भदौ महिनामा १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाली रूपैयाँमा ३३.१ प्रतिशतले र अमेरिकी डलरमा २७६ प्रतिशतले रेमिट्यान्स बढेको हो। अघिल्लो वर्ष भदौमा विप्रेषण १ खर्ब २७ अर्ब ९९ करोड रेमिट्यान्स आएको थियो।
नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार गएको साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो। आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भइ ३ खर्ब ५२ अर्ब ८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो।
भदौ महिनामा खुद द्वितीय आय (खुद ट्रान्सफर) ३ खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २ खर्ब ८७ अर्ब ७६ करोड रहेको थियो।
भदौमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको सङ्ख्या ९० हजार १ सय ९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८ सय ८४ रहेको छ। अघिल्लो वर्षको भदौमा यस्तो सङ्ख्या क्रमशः ७६ हजार ४ सय ८५ र ४० हजार ५ सय ८३ रहेको थियो।